नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेकपा एमालेको काम सपना बाँडने मात्रै भएको बताएका छन्। अघिल्लो निर्वाचनमा एमालेले देखाएका सपना सपनामै सिमित रहेको भन्दै उनले अहिले पनि एमालेले तीनै सपना देखाएर मत माग्दै हिँडेको बताए।
सत्ता गठबन्धनको चुनावी कार्यक्रम अन्तरगत बिहीबार बुटवलमा गरीएको महिला भेलामा बोल्दै नेता भण्डारीले ठूला सपना देखाएर जनतालाई भ्रममा पार्दै आएको एमालेका झुट्टा कुरामा विश्वास नगर्न आम मतदातालाई आग्रह गरे।
नेता भण्डारीले एमालेले अघिल्लो निर्वाचनमा रेल ल्याउने, घरघरमा ग्यासको पाइपलाइन लगायतका कैयौं सपना बाँडेपनि चुनाव जितेपछि आफू र आफ्नालाई पोस्ने मात्रै काम गरेको आरोप लगाए। आफूले पुरा गर्न नसक्ने सपना बाडेर जनता झुक्याउने काम कांग्रेसले कहिल्यै नगरेको र अब पनि नगर्ने नेता भण्डारीले बताए।
कांग्रेसले जहिले पनि जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकता दिइएको दाबी गरे। कांग्रेसले बुटवलको मेयरमा जनतामा भिजेका र जनताको सेवामा प्रतिबद्ध भएर लाग्ने व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कांग्रेस र गठबन्धनको पक्षमा मतदान गर्न आग्रह समेत गरे।
बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार खेलराज पाण्डेयले आफूले जितेमा बुटवललाई नमुना सहरको रुपमा विकास गर्ने र चुनाव गरेका बाचा ५ वर्ष भित्र पूरा गर्ने प्रतिबद्धता गरे। बुटवललाई मानवताको सहरको रुपमा विकास गर्ने र बुटवलमा लैंगिक विभेद हुन नदिने बताए।
उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले देशको आवश्यकताको आधारमा ५ दलीय गठबन्धन गरिएको बताउँदै गठबन्धनको पक्षमा माहोल बनाउँन र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे। अघिल्लो स्थानीय निर्वाचनमा जितेका एमालेका उम्मेदवारले जनता माझ गरेका बाचा एउटा पनि पुरा नगरेको बताउँदै आफूहरुले जिते जनताको चाहाना अनुरुप सबै काम गर्ने बताए।
गठबन्धनको महिला परिचालन समितिकी संयोजक जमुना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर कार्की, नेता युवराज गिरी लगायतले बुटवलको विकासको लागि यसपाली नगरबासीले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको सेवा गर्ने मौका दिनेमा आफूहरु विश्वस्त रहेको बताए।
प्रकाशित: २२ वैशाख २०७९ १०:५० बिहीबार