९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनावमा नेताको होइन, नीतिको आलोचना गर्नुहोस्ः विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले चुनावको मुखमा नेताको नभइ नीतिको आलोचना गर्ने आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

पार्टी ७ नम्बर वडा निर्वाचन परिचालन समिति भक्तपुरले सोमबार गरेको जनतासँंगको साक्षात्कार कार्यक्रममा विजुक्छेंले ठूला राजनीतिक दलका नीतिको आलोचना गर्न सबैलाई निर्देशन दिए। उनले व्यक्ति प्रमुख नभइ नीति प्रमुख हुने भएकोले ठूला दलका नेताहरुलाई नभइ उनीहरुको नीतिको आलोचना गर्न सुझाए।

उनले आफ्नो पार्टीको उम्मेदवारी नेपाली कांग्रेस र एमाले जस्ता ठूला भनिएका दुई दलीय तानाशाहीविरुद्ध भएको पनि बताए। ती पार्टीहरु नीतिलाई भन्दा पनि भागबण्डालाई जोड दिइरहेकोले उनीहरुविरुद्ध खनिनुपर्नेमा उनले विशेष जोड दिए।

'निर्वाचन विचारको लडाइँ हो, घोषणापत्रको लडाइँ हो, उनले भने, तर ठूला भनिएका ती दलहरु जित्नकै लागि विपरित उद्देश्य राखेका राजनीकित दलहरुसँंग पनि घाँटी जोडदै गठबन्धनमा लागेका छन्।' नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पाँंच दलीय गठबन्धन बनाउनु र नेकपा एमालेले पनि राप्रपालगायतका दलहरुसँंग गठबन्धन गर्नु सिद्धान्तहीन राजनीति भएको उनले बताए।

राजनीति पद, पैसा र पावरको लागि गर्ने नभएको स्पष्ट पार्दै उनले राजनीति देश र जनताको हितको लागि हुनुपर्ने बताए। तर अहिले ठूला पार्टीका ठूला नेताहरु पैसा कमाउन राजनीतिमा आइरहेको उनको आरोप थियो। ‘पैसा कमाउने भए राजनीति होइन, व्यापार व्यवसायमा लाग्नुहोस्, उनले उनीहरुलाई सुझाए।

उनले यो पटकको निर्वाचन देश बचाउने कि नबचाउने भन्ने दुई पक्षको लडाइँ भएको बताए। एउटा पक्ष एमसिसी पास गरेर देश बेच्ने पक्षमा रहेको र अर्काे पक्ष एमसिसीविरुद्ध लागेर देश जोगाउने पक्षमा रहेको उनको भनाई थियो।

आफूहरु एमसिसीको विपक्षीमा रहेर निरन्तर देश जोगाउने पक्षमा रहेको उनको भनाइ थियो। उनले एमसिसी पास गरिसकेपछि पनि आफूहरुको विरोध निरन्तर भइरहने जनाए। उनले यो पटकको निर्वाचनमा देश बचाउने पक्षमा रहेका पार्टीलाई मत दिन विशेष अनुरोध गरे।

प्रकाशित: १९ वैशाख २०७९ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App