स्थानीय तहको निर्वाचन आउन करिब दुई महिना बाँकी छँदा राजनीतिक दलहरु आ–आफ्नो प्रचारमा लाग्न थालेका छन्।
स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन हुने नहुने वा भएमा कसरी हुने भन्ने जस्ता कुराका अझै अनिर्णीत छन्। एमाले भने एक्लै निर्वाचनमा भाग लिने तयारी गरेको छ। पाँच दलीय गठबन्धन गर्ने नगर्ने विषयमा समझदारी हुन बाँकी रहेकाले यतिबेला प्रमुख दलहरू एक्लाएक्लै निर्वाचनमा जाने जसरी प्रचारप्रसारमा लागेका छन्।
मुख्यगरी कांग्रेस र एमाले बाहेक एकीकृत माओवादी र एकीकृत समाजवादीको अवस्था कमजोर देखिएको बुझाइ धेरैको छ। तर, निर्वाचनमा भने परिणाम फरक आउने गरेकाले यसैभन्ने अवस्था भने छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले निर्वाचनलाई जीवन मरणको संज्ञा दिएका छन्। उनले निर्वाचमा धाँधली गर्ने अवरोध गर्नेलाई वाइसियललाई प्रयोग गरेर ठिक लगाएर भए पनि अबको निर्वाचनमा विजयी हुने बताएका छन्।
उनको चेतावनीले दुईवटा कुरालाई संकेत गरेको विश्लेषण छ। दाहालले अझै पनि पाँच दलीय गठबन्धनबाट निर्वाचनमा जानुपर्ने अडान कायमै राखेकाले गठबन्धन नटुटोस भन्नेमा छन्। गठबन्धन विरोधीलाई तर्साउन पनि उनले यसो भनेको हुनुपर्छ भने अर्कोतर्फ गठबन्धन टुटेमा वाइसिएल प्रयोग गरेर भए पनि जाने मनस्थितिमा पुगेको उनका क्रियाकलापबाट देखिएको छ।
यद्यपि, माओवादी केन्द्र र एकीकृत समाजवादीको भने धेरै ठाउँमा तालमेल हुने निश्चित जस्तै छ। यी दुई दल मिलेर उचित ठाउँमा विजयी हासिल गर्न सकेको खण्डमा संघको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुन नसकेमा यसैगरी जाने एउटा विकल्प रहेको छ। तर सकेसम्म कांग्रेससँगै मिलेर जाने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको योजना रहेको छ।
कांग्रेका केही नेताहरुले गठबन्धन गर्न नहुने कुरा बताइरहेका बेला माओवादी अध्यक्ष दाहालले वाइसियलको प्रयोग गरेर जाने कुरा बताउनु गठबन्धन गरेर जान दिएको दबाब भएको कांग्रेसका नेताहरुको बुझाइ छ। कांग्रेसको जारी घरदैलो कार्यक्रमबाट आएको प्रतिवेदनका आधारमा गठबन्धनबारे पार्टीले स्थानीय आवश्यकता र औचित्यका आधारमा निर्णय लिने तयारी गरेको भन्दै गठबन्धनमा बार्गेनिङ गर्दै आएको छ। ‘के गर्दा पार्टीलाई राम्रो हुन्छ सबैले हेर्ने त्यही हो, गठबन्धन गर्दा बढी राम्रो अवस्थामा हुन्छौं कि एक्लै लड्दाखेरि हुन्छौं त्यसको आधारमा हामी निष्कर्षमा पुग्छौ,’ भन्ने कांग्रेको धारणा छ।
तर कांग्रेस सभापति शेरबहादुर देउवा अर्को कार्यकाल पनि प्रधानमन्त्री हुने दाउमा रहेकाले गठबन्धन तोड्ने पक्षमा छैनन्। गठबन्धन नगर्ने हो भने प्रधानमन्त्रीमा देउवा आउन मुस्किल पर्ने विश्लेषण छ। ‘संघको निर्वाचनमा ‘हंग पार्लियामेन्ट’ बन्ने निश्चित छ। यस्तो अवस्थामा को प्रधानमन्त्री हुन्छ यसै भन्ने अवस्था देखिदैन। गठबन्धन गरेर जाँदा भने गठबन्धनका दलहरुले बहुमत ल्याउने निश्चित देखिन्छ,’ माओवादीका एक नेताले भने।
माओवादी अध्यक्ष दाहालले पनि प्रधानमन्त्री देउवालाई संघीय निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएको स्रोतको दाबी छ। त्यसैले प्रधानमन्त्री देउवाले गठबन्धनको विषयमा जथाभावी नबोल्न आफ्ना पार्टीका नेताहरुलाई भनि पनि सकेका छन्।
‘संसद् विघटन गरेका निवर्तमान प्रधानमन्त्री केपी ओलीको अराजक क्रियाकलापले नै गठबन्धन बनेको हो भन्ने कुरालाई स्थापित गर्न कठिन हुँदै आएको छ,’ माओवादी स्रोतले भन्यो, ‘गठबन्धन गरेका दलहरुलाई विभिन्न कुराले फेरि गठबन्धन तोड्न सक्ने अवस्थाको सिर्जना भने गरिरहेको छ।’
अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने बेलामा पनि गठबन्धन टुटि सकेको थियो। गठबन्धन तोडेको भए सभामुखमा अग्नि सापकोटा रहने थिएनन् भने सरकारमा माओवादी र एकीकृत समाजवादी रहने थिएन भने एकीकृत समाजवादी पार्टीको औचित्य पनि समाप्त हुन सक्ने अवस्था आएको थियो।
तर, गठबन्धन एउटा आवश्यकताले बनेकाले यसलाई संघीय निर्वाचनसम्म लैजान सकेमा देशलाई राम्रो नै गर्ने विश्लेषण छ। यस्तो अवस्थामा अबको निर्वाचन पछिको पाँच बर्षमा एमालेलाई सरकारमा टेक्नै नदिने हो भने एमाले सुध्रिने धेरैको अपेक्षा छ। एमाले अध्यक्ष ओलीले अन्य पार्टीलाई निषेध मात्रै गर्न खोज्दा मुलुक द्वन्द्वतर्फ लैजाने एकीकृत समाजवादीका एक नेताले बताए।
प्रकाशित: ७ चैत्र २०७८ ०३:०३ सोमबार