८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनमा साढे सात करोड खर्च हुने अनुमान

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा रु सात करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ। चितवनको नारायणी किनारमा यही मङ्सिर १० गते उद्घाटन र ११ र १२ गते सौराहामा बन्दसत्र हुने सो महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिअन्तर्गतको आर्थिक समितिका संयोजक विष्णु रिमालले केन्द्रीय कमिटीको दायित्वमा उक्त रकम पर्ने अनुमान गरेका हुन्। महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा हुँदैछ।

सो होटलमा करिब एक हजारदेखि एक हजार २०० सम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ। थप प्रतिनिधिका लागि व्यवस्थापन गरिने जनाइएको छ। महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने त्यसको पाँच प्रतिशतसम्म मनोनीत हुनेछन्।

उनका अनुसार गत आठौँ महाधिवेशनमा करिब रु दुई करोड २५ लाख र नवौँ महाधिवेशनमा रु चार करोड २५ लाख खर्च भएको थियो। गत असोजमा ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा छ हजार चार सय ३५ प्रतिनिधिको उपस्थिति हुँदा करिब रु पाँच करोड खर्च भएको थियो। यी तीन महाधिवेशनको अङ्कलाई तुलना गरेर यो महाधिवेशनमा केन्द्रले दायित्व बोक्नुपर्ने लगभग सात करोड ५० लाख होला भन्ने आँकलन गरिएको नेता रिमालले बताए।

एमालेले महाधिवेशनका लागि रसिद काटेर आर्थिक सङ्कलन नगरी पार्टी सदस्य र शुभेच्छुकबाटै अनलाइन प्रणालीबाट स्वेच्छिक सहयोग सङ्कलन गरिरहेको छ। एमालेले प्रत्येक पार्टी सदस्यलाई न्यूनतम सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेको छ।

एमालेमा पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या आठ लाख ५५ हजार ४५३ छ। महाधिवेशनका लागि हालसम्म ६७ जिल्लाबाट प्रतिनिधि चयन भएका छन्। एमाले केन्द्रीय कार्यालयमा बिहीबार साँझसम्म प्राप्त अनौपचारिक विवरणअनुसार अब १० जिल्लामा मात्रै प्रतिनिधि चयन हुन बाँकी छ। कैलाली र बझाङमा प्रतिनिधि चयनमा विवाद भएर रोकिएको छ भने बाँकी जिल्लामा प्रतिनिधि चयनको कार्य भइरहेको छ।

हालसम्म ६७ जिल्लाबाट अहिलेसम्म एक हजार १८२ जना प्रतिनिधि छनोट भइसकेका छन्। तीमध्ये खुलाबाट ७४०, महिला ३०४, उत्पीडित १३६ र २ जना मजदुरबाट चयन भएका छन्।

प्रकाशित: २ मंसिर २०७८ १४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App