एमाले निकट नेपाल निजामती कर्मचारी संगठन फुटेपछि संगठनको कार्यालय भवन तथा सम्पत्ति कब्जा गर्न दुइ पक्षको होडबाजी सुरु भएको छ। भवन कब्जा गर्ने नाममा गत साता दुई पक्षको भिडन्तसमेत भएको थियो।
बबरमहलस्थित संगठनको कार्यालय रहेको भवनलाई दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। उक्त भवनमा असोज ४ गते रातिदेखि प्रहरीले ताला लगाएको छ। भवन कब्जा गर्न गत असोज ४ गते साँझ दुई पक्षका कर्मचारीबीच भिडन्त भएपछि प्रहरीले भवनमा ताला लगाएको हो। भिडन्तमा उत्रेका कर्मचारीहरूलाई प्रहरीले केहीबेर नियन्त्रणमा समेत लिएको थियो।
२०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला तत्कालीन सरकारले निजामती कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन १४ आना जग्गा भोगाधिकारको लागि दिएको थियो। सरकारले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दल निकट चारवटा कर्मचारी संगठनलाई एक/एक रोपनी जग्गा भोगाधिकारका लागि उपलब्ध गराउने निर्णय गरेको थियो।
सोअनुसार अन्य तीन कर्मचारी संगठनलाई एक/एक रोपनी जग्गा दिइएको थियो भने निजामती कर्मचारी संगठनलाई १४ आना जग्गा उपलब्ध गराएको थियो। सरकारले उपलब्ध गराएको जग्गामा २०६७ सालमै तत्कालीन प्रधानमन्त्री खनालले भवन निर्माणका लागि शिलान्यास गरेका थिए।
भवनको निर्माण काम पूरा भएपछि २०७३ कात्तिकमा माधव नेपाललको भवनको उद्घाटन गरेका थिए। संगठन विभाजित भएपछि संगठनको कार्यालयलाई दुवै पक्षले आफ्नो भएको दाबी गर्दै अर्को पक्षले गुण्डागर्दी शैलीमा भवन कब्जा गर्न खोजेको आरोप लगाएका छन्।
भवनमा ताला लगाएपछि एमाले निकट कर्मचारीहरूले आइतबार प्रधानमन्त्री तथा मुख्यसचिवलाई ज्ञापन पत्र बुझाई भवनमा लगाइएको ताला खुलाउन माग गरेका छन्। कर्मचारी संगठनका ७७ वटै जिल्ला समितिहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाई तत्काल भवनमा लगाइएको ताला तत्काल खुलाउन माग गरेका छन्। यसैगरी केन्द्रीय नेताहरूले आइतबार मुख्यसचिवलाई ज्ञापन पत्र बुझाई कार्यालय भवनमा लगाइएको ताला खुलाउन आग्रह गरेका छन्।
एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका सहसंयोजक लेखनाथ कोइरालाले माधव नेपाल निकट कर्मचारीहरूले सत्ताको आडमा कार्यालय भवन कब्जा गर्न खोजेको आरोप लगाए।‘अब हामी २/३ दिन पर्खन्छौ। २/३ दिनसम्म प्रहरीले ताला खुलाएन भने ४/५ हजार कर्मचारी जम्मा हुन्छौ र भवनमा लगाइएको ताला खोल्छाैँ,,’ कोइरालाले भने, ‘यो कुरा सरकारले बुझे हुन्छ।’ अर्को पक्षले संगठनको कार्यालय भवन आफ्नो भएको दाबी गर्ने कुनै आधार नै नभएको उनले बताए। ‘संगठन हाम्रो हो। कार्यालय भवन हाम्रो हो। अर्को पक्षले दाबी गर्ने कुनै आधार नै छैन,’ उनले भने।
तर माधव नेपाल निकट कर्मचारी नेता रेवन्त गौतमले भने संगठनको कार्यालय भवन आफ्नो भएको दाबी गरे। ‘आधिकारिक रूपमा निजामती कर्मचारी संगठन हाम्रो हो। संगठन हाम्रो भएपछि भवन पनि हाम्रो हुन्छ,’ गौतमले भने।
एमाले निकट निजामती कर्मचारी संगठन सबैभन्दा पुरानो र ठूलो संगठन हो। २०७३ जेठमा भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा उक्त संगठनले सबैभन्दा बढी भोट ल्याई आधिकारिक ट्रेड युनियनमा अध्यक्ष पद पाएको थियो।
उक्त संगठन २०४७ वैशाखामा स्थापना गरिएको थियो। २०५४ सालमा एमाले विभाजन भइ माले निर्मांण हुँदा पनि कर्मचारी संगठन विभाजित भएको थिएन। तर यसपटक औपचारिक रूपमा कर्मचारी संगठन विभाजित भएको छ। निजामर्त कर्मचारी संगठन विभाजित भएको आधारिक ट्रेड युनियनमा दुवै पक्षले फरक फरक व्यक्तिलाई नेतृत्वमा पठाएका छन्।
प्रकाशित: ११ आश्विन २०७८ ००:४१ सोमबार