१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमसिसी सम्झौता खारेजीको माग राखेर सिडिओ कार्यालय घेराउ

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेजीको माग राखेर जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरिएको छ। एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसिसी सम्झौता विरोधी नारा र कालो झण्डा प्रदर्शन गर्दै शुक्रबार दिउँसो प्रशासन कार्यालय घेराउ गरेको हो।

सिडिओ कार्यालयको उत्तर र दक्षिणतर्फबाट आएको दुई टोलीले कार्यालयअघि केही बेर प्रदर्शनसमेत गरेको थियो। 

प्रदर्शनका क्रममा ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘दलालहरु होसियार’ लगायतका नारा लगाइएको थियो। उनीहरुले गृहमन्त्री बालकृष्ण खाँणविरुद्ध पनि नारा लगाएका थिए। सिडिओ कार्यालय घेराउ गर्ने कार्यक्रमको सूचना पाएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

एमसिसी सम्झौताभित्र राष्ट्रघाती बुँदाहरु समेटिएकाले उक्त सम्झौता खारेज नै गर्नुपर्ने एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनका अध्यक्ष फणिन्द्र आचार्यले बताए। ‘अमेरिकाले एमसिसी सम्झौता संशोधन गर्न नमिल्ने बताइसकेकाले अब त्यो खारेज गर्नुको विकल्प छैन,' उनले भने।

एमसिसी सम्झौता खारेजीको माग राखेर संघर्ष समितिले केही दिनदेखि लगातार कार्यक्रम गर्दै आएको छ। चितवनबाट संघीय संसदमा निर्वाचित भएका तीन जना सांसदलाई एमसिसीविरुद्ध उभिने कुरा सार्वजनिक रुपमा घोषणा गर्न समितिले अल्टिमेटम दिएको छ।

अल्टिमेटमको अवधि आज साँझ ६ बजे सकिँदै छ। उक्त अवधिभित्र सार्वजनिक रुपमा एमसिसीको विरुद्धमा उभिने घोषणा नगरे उनीहरुको घर नजिक विरोध प्रदर्शन गर्ने र कालो झण्डा गाड्ने कार्यक्रम रहेको संघर्ष समितिका सचिव अजीव पौडेलले बताए। 

प्रकाशित: २५ भाद्र २०७८ ०९:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App