सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले आफु चढ्ने जीप चालकलाई दश लाख उपचार खर्च दिन आदेश गरेको खुलेको छ। केसी चढ्ने जिपका चालक गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका विक्रम श्रेष्ठलाई दश लाख उपचार खर्च दिन लेखा अधिकृतलाई आदेश दिएका हुन। चालक श्रेष्ठ अधिकृत केसीका नातेदार हुन्।
गोलबजार नगरपालिकाकासँग दुई वटा सरकार गाडी (जीप) हुँदाहुँदै अधिकृत केसीले नयाँ जीप चढ्ने रहर गरे। गोलबजार स्थित गुन्जा कन्सट्रक्सनका साहु विजय साहले नयाँ स्कार्पियो जीप किनेर केसीको रहर पुरा गरिदिए। जीपको मासिक भाडा र इन्धन नगरपालिकाले व्यहोर्ने गरी साहसँग नगरपालिकाले सम्झौता गर्यो। र, जीप अधिकृत केसीले चढ्न थाले।
जीपको चालकमा अधिकृत केसीका नातेदार गोलबजार नगरपालिका –७ का विक्रम श्रेष्ठलाई राखिएको थियो। उनी नगरपालिकाको तर्फबाट राखिएको चालक नभएको गोलबजार नगरपालिका प्रमुख देवनाथ साहले बताए। कोरोनाका दोस्रो लहरमा चालक श्रेष्ठ कोरोना पोजेटिभ भए। उनी उपचारपछि निको भएर फेरी अधिकृत केसी चढ्ने जीप चलाउन थाले।
यो जीप अधिकृत केसीले कार्यालय प्रयोजनका लागि मात्र नभई निजी प्रयोजनमा समेत प्रयोग गर्दै आएको स्थानीय बताउँछन्। कोरोनाका कालमा यस नगरपालिकाको कार्यपालिकाले जनप्रतिनिधि र कार्यरत कर्मचारीलाई कामको दौरान संक्रमण भए उपचार खर्च नगरपालिकाले व्योहोर्ने निर्णय गरेको थियो। संक्रमित भएका कर्मचारी र जनप्रतिनिधिहरुको उपचार खर्च नगरपालिकाले व्यहोर्यो।
अधिकृत केसी सरुवा हुनुअघि बसेको कार्यपालिकाको बैठकले विभिन्न निर्णयहरु गर्यो। तर, अधिकृत केसी त्यसमै आफु चढ्ने जीप चालकको उपचार खर्च नगरपालिकाले बेहोर्नेछ भन्ने बुँदा पनि चतुराइका साथ छिराइदिएको रहेछ नगर प्रमुख साहले नागरिकसँग भने,‘ अधिकृत केसीले भुक्तानीका लागि लेखा अधिकृतलाई दबाव दिन थालेपछि बल्ल थाहा भयो।’ मैले सम्झौता पत्र पल्टाएर हेर्दा जीपको मासिक भाडा र इन्धन खर्च मात्र नगरपालिकाले बेहोर्नेगरी सम्झौता भएको पाए, प्रमुख साहले भने,‘मैले तत्काल लेखा अधिकृतलाई रकम भुक्तानी रोक्न लगाए।
नगरपालिकाको पैसा जनताको हो उनले भने,‘नातेदारलाई बाँड्नका लागि कसैलाई छुट छैन। ’ चालक अधिृकतको नातेदार हो उनले भने। अधिकृत केसीको अनियमित कार्यलाई जनप्रतिनिधि र लेखा अधिकृतले रोकेको यो पहिलो घटना हो। यसअघि उनी मिल्ने कर्मचारीको जालो बनाएर मनोमानी खर्च गर्दै आएको जनप्रतिनिधहरु बताउँछन्। उनको मनोमानी यस पल्ट रोकिएको छ वडा नम्बर १ का वडा अध्यक्ष देव वहादुर थापाले नागरिकसँग भने,‘उनको हैकमबादी प्रवृतिबाट म आजित भैसकेको छु। मेरो उनीसँग खासै सम्पर्क पनि छैन, उनले भने। ’
नगरपालिकाका लेखा अधिकृत सचितानन्द प्रसादले भने,‘प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले निजी जीपका चालकको उपचार खर्च वापत दश लाख भुक्तानी गर्न आदेश गर्नुभएको छ।’ ‘नियम, कानुन मिचेर म उहाँको आदेश पालना गर्न सक्दिन उनले भने,‘म कुनै पनि हालतमा भुक्तानी गर्दिन। ’ विक्रम श्रेष्ठ न नगरपालिकाका कर्मचारी हुन न जनप्रतिनिधि उनले भने,‘असम्बन्धित व्यक्तिको उपचार खर्च नगरपालिकाले कसरी भुक्तान गर्छ। यो अनियमित काम म गर्न सक्दिन भन्ने जवाफ फर्काइसकेको छुँ, उनले भने। ’
प्रमुख प्रशासकिय अधिकृत केसीले भने,‘म चढ्ने जीपक चालकको कोरोना उपचार खर्चका लागि भुक्तानी आदेश दिएको हुँ। मैले दश लाख रकम भुक्तानी गरिदिन आदेश दिएको छु, उनले भने,‘अहिलेसम्म भुक्तानी भैसकेको छैन तर छिट्टै हुन्छ।’ अधिकृतले आफु चढ्ने जीप चालक श्रेष्ठ नगरपालिकामा दैनिक ज्यालादारीको कर्मचारी भएको दाबी गरे। तपाई कर्मचारी भनिरहेको चालक नगरपालिकाको हुँदै नभएको नगर प्रमुख र कार्यपालिका सदस्यहरु भनिरहेका छ नि जिज्ञासामा अधिकृत केसी झोक्किँदै भने, ‘तपाइले भनेर हुन्छ, मैले भनेको सुन्नुस र त्यही बुझ्नुस्। ’
बिस्तारै शान्त हुँदै केसीले भने, ‘कर्मचारी नभएपनि मानवताको हिसाव दिन त मिलिहाल्छ नि। कार्यपालिकाले पनि निर्णय गरिदिएपछि भएन, उनले थपे।’ मानवताकै आधारमा हो भने त यस नगरपालिका भित्र कोरोनाका कारण थुप्रै विपन्न व्यतिmले ज्यान गुमाएका छन्। उहाँहरुको परिवारलाई नगरपालिकाबाट समान्य राहत समेत उपलब्ध भएको छैन नि प्रश्नमा अधिकृत केसी फेरी झोक्किए,‘अनि त्यो मैले गर्ने होइन मैले त आफ्नो कर्मचारीको हितमा मात्रै काम गर्ने हो।'
मृतक परिवार विमुख
नगरपालिकाकै वडा नम्बर १ कि निर्वाचित सदस्य चिना श्रेष्ठ क्यान्सरबाट पीडित थिइन्। उपचारका लागि बेखर्ची उनले नगरपालिकामा पटक पटक सहयोगको याचना गरिन्। अधिकृत केसीले नगरपालिकाबाट उपचार खर्च दिन नमिल्ने भनेपछि जनप्रतिनिधिहरु निजीस्तरबाट सहयोग उपब्ध गराएका थिए। उनी भरपर्दो उपचार अभावमै ज्यान गुमाइन्।
कोरोनाको दोस्रो लहरमा गोलबजार नगरपालिकामा–१२ बेतौना गाउँका ४९ वर्षीय जयकृष्ण पाल र उनका ६० वर्षीय दाजु धनवीर पालले ज्यान गुमाए। धनवीरको गत्त बैशाख १५ गत्ते र जयकष्णको बैशाख १६ गत्ते नोबेल अस्पताल विराटनगरमा निधन भयो। पाल परिवारको आर्थिक अवस्था कमजोर छ। जनसांख्यिक हिसाबले पाल समुदाय अल्पसंख्यकमा पर्छ। चार दाजुभाइमध्ये जेठा उपेन्द्र पाल किसान हुन्। उनी अलग्गै बस्छन्। माइला धनवीर र साइँला जयकृष्णको परिवार सँगै बस्थ्यो।
कान्छा भाइ बलरामको दुई वर्षअघि निधन भइसकेको छ। जयकृष्ण एक वर्षअघि एक छोरीको विवाह गर्दा १० लाख रूपैयाँ ऋण लिएका थिए। कोरोनाको उपचारले ६ लाख रूपैयाँ ऋण थपिएको छ। सयकडा तीनका दरले साहुसँग लिएको ऋणको ब्याजको बोझमाथि अर्की छोरीको विवाह खर्च कसरी जुटाउने भन्ने चिन्ता छ जयकृष्णकी पत्नी मिथिलादेवीलाई। उनी भक्कानिँदै भनिन्, ‘हमर त गारजनो नै रहल आ कर्जो चैढ गेल (मेरो त श्रीमान् पनि गुम्यो, ऋण पनि चढ्यो)।’
आर्थिक अवस्था कमजोर भएका जयकृष्णले वैदेशिक रोजगारीबाट परिवारको पालनपोषण गर्दै आएका थिए। पत्थरीको समस्या देखिएपछि उनी दुई वर्षदेखि घरमै थिए। विदेशको आम्दानीबाट अलिकति जग्गा जोडेकाले पछिल्लो समय खेतीकिसानीबाटै परिवार धानिएको थियो। पत्थरीको समस्या निको भएपछि फेरि विदेश जाने उनको सोच थियो। छोरीको विवाहमा लागेको ऋण र उपचार गराउँदा लिएको ऋण उनी विदेशमै कमाएर चुक्ता गर्न चाहन्थे।
पाल दाजुभाईको निधनले थलिएका परिवारलाई राहत त परको कुरा सन्त्वना दिन समेत नगरपालिकाको तर्फबाट उपस्थिति भएन। ‘दुखियाके लेल कोनो सरकार नै छै (गरिब, असहाय, दुःखीका लागि सरकार छैन),’ उनी भन्छिन्, ‘गरिबके उपचार सरकारके जिम्मा सुन्ने रहियै सब झुट छै (गरिबको उपचार खर्च सरकारले बेहोर्छ भन्ने सुनेकी थिएँ, सब झुट रहेछ)।’ आफ्नो सुविधाका लागि आरमदायी जीप भाडामा चढ्ने कर्मचारीले मानवताको दुहाई दिएर नातेदार चालकलाई उपचार खर्च भनेर ठूलो धनराशी दिन खोज्नु विडम्बना भएको गोलबजारबासी बताउँछन्।
प्रकाशित: ६ भाद्र २०७८ ०२:०९ आइतबार