सरकारले प्रदेश नम्बर २ का प्रमुख राजेश झालाई बर्खास्त गरी उनको ठाउँमा हरिशंकरमिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रदेश २ मा प्रमुख फेर्ने निर्णय गरेको हो। प्रदेश २ मा प्रमुख फेरिएको यो चौथो पटक हो। प्रदेश २ मा यसअघि रत्नेश्वरलाल कायस्थ रतिलक परियारले प्रदेश प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
नयाँ प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र महोत्तरीको पिपरा गाउँका हुन्। नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा उनी २०४८ सालमा महोत्तरीबाट सांसद निर्वाचित भएका थिए।
जनकपुर चुरोट कारखाना लिमिटेडका संस्थापकसमेत रहेका स्व. मिश्रले यस क्षेत्रको विकासका लागि निकै योगदान पुर्याएका थिए। स्व. मिश्रद्वारा स्थापित जनकपुर चुरोट कारखाना अहिले मधेस भवनमा रूपान्तरण भई प्रदेश २ सरकारको कार्यपालिका सञ्चालित छ।
प्रकाशित: १ भाद्र २०७८ ०१:२९ मंगलबार