अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले सवारी भाडा घटाउन माग गरेको छ। यूनियनले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो।
कोभिड–१९ को दोस्रो लहरबाट सिङ्गो मुलुक आक्रान्त भई जनताको अवस्था अत्यन्तै दयनीय बनेको परिवेशमा यात्रुबाहक सवारीमा २८ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २६ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २० प्रतिशत भाडा बढाइनुले आम जनताको जीवनस्तरमा कहालीलाग्दो अवस्था सिर्जना भएको जनाउँदै विद्यार्थी संगठनले ४ बुँदे ज्ञापनपत्र बुझाएको छ।
संगठनले ती मागहरु सम्बोधनका लागि नेपाल सरकारसँग अनुरोध गर्दै माग सम्बोधन नगरिए सङ्घर्षमा उत्रने चेतावनी समेत दिएको छ।
संगठनले छोटो र लामो दूरीमा सञ्चालन गरिने यात्रुबाहक सवारी, मालबाहक सवारीलगायतमा गरिएको भाडावृद्धि फिर्ता गरी वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, विद्यार्थीहरुले छोटो र लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा पाउने ४५ प्रतिशत सवारी भाडा छुटलाई कडाइका साथ लागू गर्नुपर्ने, जेष्ठ नागरिक, घाइते, अशक्तलगायतलाई छोटो तथा लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा नेपाल सरकारले निर्णय गरेअनुरुप पाउने छुटलाई कडाइका साथ लागू गर्नुपर्ने र छोटो तथा लामो दूरीमा चल्ने सवारी साधनहरुमा अनुगमनलाई कडाइ गरी मापदण्ड विपरीत सञ्चालित सवारी साधन र सम्बन्धित पक्षलाई कडाइका साथ कारवाही गर्नुपर्ने माग राखेका छन्।
प्रकाशित: ३१ असार २०७८ ११:१३ बिहीबार