१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीले दुई तिहाइको मत धान्नै सकेनन्ः प्रकाशमान सिंह

कांग्रेसको देशभर विरोधसभा

कांग्रेसले सोमबार पोखरामा गरेको विरोधसभा । तस्बिरः उमेश पुन/नागरिक

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार देशभर विरोध प्रदर्शन गरेको छ। कास्कीमा भएको विरोधसभामा पूर्व महामन्त्री प्रकाशमान सिंहले संसद पुर्नस्थापना नभए मुलुक विदेशीको खेलमैदान बन्ने बताए।

सिंहले संसद पुर्नस्थापना भएमा नेपाल नेपालीकै हातमा रहने र नभए बाह्यशक्ति हावि हुने बताए । ‘नेपाल जोगाउने की विदेशीको हातमा जाने भन्ने अब थाहा हुनेछ,’ उनले भने, ‘संसद पुर्नस्थापना नभएमा बाह्य शक्ति हावि हुनेछन् ।’ संविधानलाई असफल बनाउन ओलीले संसद विघटन गरेको आरोप पनि सिंहले लगाए । संसद विघटनमा ओलीको मात्र हात नभई विदेशीको इशारा पनि रहेको उनले बताए ।

‘ओलीले संविधानमाथि नै धावा बोलेका छन् । व्यवस्था नै असफल बनाउन उनी लालायित भए,’ उनले भने, ‘ओलीको अधिनायकवाद शैलीले देश अस्थिरताको भूमरीमा फसेको छ ।’ ओलीले हिजो दुईतिहाइ मतका आधारमा प्रधानमन्त्री बनेपनि उनले दुईतिहाइको त्यो मत धान्न नसकेको उनले बताए । ‘ओली प्रधानमन्त्री हुँदा उनीसँग दुईतिहाइ मत थियो, तर, उनले त्यो धान्न सकेनन्,’ सिंहले भने, ‘अब पनि दुईतिहाइ ल्याएर उनीसँग आशा गर्ने ठाउँ रहँदैन ।’ ओली आफ्नै दलमा पनि असफल भएको सिंहले बताए । ‘राम्रो काम गर्दा सहयोग हुन्थ्यो, तर, ओली संसदसँग फेस गर्न चाहेनन र सकेनन् । ‘ओलीको शैली आफुले भनेको सबैले मानिदिनुपर्ने अहंकारको प्रवृत्ति छ,’ उनले भने ।  

प्रधानमन्त्री ओलीले लामो समयपछि सिंहदरबार प्रवेश गर्दा नौटंकी देखाएको बताए । ‘मन लागे सिंहदरबार जाने, नत्र नजाने ओलीको त्यो नौटंकी हो,’ उनले भने, ‘तीनवर्षे कार्यकालमा पूर्णरुपमा असफल भएका ओलीले अब पनि चुनाव हुन्छ भने नाटक देखाएका छन् ।’ कांग्रेसले प्रधानमन्त्री ओलीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि उनले बताए ।  

पूर्व सभामुख तारानाथ रानाभाटले ओली अहिलेको व्यवस्था नै असफल बनाउन उद्दत रहेको बताए । ‘देश कहाँ जान्छ भन्ने अवस्था रहेन,’ रानाभाटले भने, ‘संसद पुर्नस्थापना नै कांग्रेसको मूल उद्देश्य हुनुपर्छ । कांग्रेसले दोधारे नीति बनाउनु हुँदैन ।’ चुनाव की संसद पुर्नस्थापना मध्येमा पहिलोमा पुर्नस्थापना र दोश्रो प्राथमिकतामा बल्ल चुनाव हुनुपर्ने उनले बताए ।  

कांग्रेसका जिल्लास्तरीय नेताहरुले पनि ओलीको कदमको विरोध गरेका थिए । काग्रेसका नेताहरु शुक्रराज शर्मा र यज्ञबहादुर थापा लगायतले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई नै अप्ठेरो अवस्थामा लगेको बताए । कास्कीको लेखनानमा कांग्रेसले आयोजना गरेको विरोधसभामा पोखरा र आसपासका गाउँबाट समेत कांग्रेस कार्यकर्ता आएको कांग्रेस कास्कीका प्रवक्ता नविन सिग्देलले बताए ।  

पार्टी केन्द्रीय समितिको माघ १३ गतेको निर्णयअनुसार कांग्रेसले सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको थियो । कांग्रेसले यसअघि पुस १३ गते प्रतिनिधिसभाको निर्वाचन क्षेत्र, पुस २५ गते प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते स्थानीय तह, माघ ८ वडा तहमा विरोध प्रदर्शन गरेको थियो । माघ १९ गते भ्रातृ संगठन र माघ २४ गते शुभेच्छुक संगठनको अगुवाइमा कांग्रेसले देशभरि प्रदर्शन गरेको गरिसकेको छ । यसअघि कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध सबै जिल्लाहरूमा विरोध प्रदर्शन गरेको थियो ।

प्रकाशित: ३ फाल्गुन २०७७ १०:०९ सोमबार

कांग्रेसको देशभर विरोधसभा