८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

दाहाल–नेपाल सभाको तीन सन्देशः लोकतन्त्र, संविधान र स्वतन्त्रता रक्षा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसद् विघटनमार्फत संविधानको हत्या गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई खतरामा पारेको आरोप लगाएको छ ।  

बुधबार राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संविधान मिच्ने, लोकतन्त्रको हत्या गर्ने र जनअधिकार कुल्चनेलाई जनताले ललकार्ने बताउँदै ओली लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्रको भएको आरोप लगाएका हुन् । उनीहरूले विरोध सभामार्फत लोकतन्त्र, संविधान र स्वतन्त्रताको रक्षाका लागि आफूहरू सडकमा आएको जनाउ दिएका छन् । ‘यो कुनै पदको लडाइँ होइन, कसैलाई प्रधानमन्त्री बनाउने वा कुर्सीको लडाइँ होइन । यो केपी प्रवृत्तिविरुद्धको लडाइँ हो, लोकतन्त्र, संविधान र स्वतन्त्रता रक्षाको लडाइँ हो’, दुवै अध्यक्षले भने ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर संविधानको हत्या गरेको तथा प्रतिगमनमार्फत निरंकुश शासन गर्न खोजेको आरोप लगाउँदै दुवै अध्यक्षले ओली प्रवृत्ति कहाँबाट जन्म्यो, हुक्र्यो, त्यसबारे आत्मसमीक्षा गर्ने उद्घोष गरे । दुवै अध्यक्षले संसद् पुनस्र्थापनाको विकल्प नभएको र संसद् पुनस्र्थापना नभए नेपाली जनताले ठूलो आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको ‘लोकतन्त्रको हत्या गर्ने अपराधी चरित्र’ नेपाली जनताले बुझिसकेको बताए । उनले निर्णय जनताको पक्षमा नआए आँधीहुरी आउने दाबी गरे । ‘आँधीहुरी आउँछ कसैले थाम्न सक्दैन । हामी सानो समूहले विद्रोह गर्दा पहिला के भयो ? अहिले लाखौं जनता सडकमा उत्रे के हुन्छ ’, दाहालले प्रश्न गरे । ओलीको चरित्रमा सुधार नआए सिंहदरबार र बालुवाटार घेरिने उनको भनाइ थियो । ‘आज हामीले आयोजना गरेको समाभा ५ लाख मानिस उपस्थित भएको अनुमान छ । केपी ओलीले केही दिनअघि सभा कस्तो हुन्छ हामी देखाउँछौं भनेर भन्नुभएको थियो । केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध र प्रदर्शन कस्तो हुन्छ ? अझै पनि लाखौं जनताको यो उपस्थिति देख्नुभएन भने म तपाईंलाई चुनौती दिन चाहन्छु, हेर्नुहोला, केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्न लाखौंलाख जनता आउनेछन्,’ अध्यक्ष दाहालले भने । उनले ओलीलाई ठग भएको आरोपसमेत लगाए । ओलीले चितवनलाई रामको जन्मभूमि भनेको सन्दर्भ जोड्दै दाहालले भने, ‘ओली, त्यो नाटक हो । मैले ३ वर्षमा ओलीलाई चिनिसकें । वैज्ञानिक अनुसन्धान गरौं, म चुनौती दिन्छु ।’

दाहालले प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेकोले जरुरी प¥यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने चेतावनी दिएका थिए । ‘अझै पनि लाखौं जनताको उपस्थिति र यो विरोध, आक्रोश, आवेग, पीडालाई बुझ्नुभएन भने म तपाईंलाई चुनौती दिन्छु, सिंहदरबार घेर्न र बालुवाटार घेर्न आउनेछन्, प्रतिगमन, निरंकुशताको पक्षधर, लोकतन्त्रको हत्या गर्ने तपाईंको चरित्र जनताले बुझिसकेको छ’, दाहालले भने ।  

अध्यक्ष दाहालले निर्वाचन आयोगको लक्षण गतिलो नदेखिएको बताए । प्रधानमन्त्री ओलीले थर्काएपछि निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको बताउँदै दाहालले थपे, ‘निर्वाचन आयोगले राम्रो लक्षण देखाइरहेको छैन । ७० प्रतिशतको बहुमत देखाउँदा हिसाब नगर्ने तर केपीले गएर धम्क्याउने बित्तिकै लत्रिने ? कसैले सामान्य नठाने हुन्छ, खेलाँची कसैले नठाने हुन्छ ।’ ७० प्रतिशत केन्द्रीय सदस्यको हिसाब नगरी केपीले धम्क्याउन बित्तिकै त्यसैको लहैलहैमा आयोगले लक्षण राम्रो नदेखाएको उनको भनाइ थियो ।  

आमसभालाई सम्बोधन गर्दै अर्का अध्यक्ष नेपालले मदन भण्डारीको नाम बिर्सिएर ओलीले पशुपतिनाथको मन्त्र जप्दै हिँडेको बताए । पशुपतिनाथले अपराधीलाई माया नगर्ने भएकाले पशुपतिनाथको शरणमा जानु बेकार भएको समेत उनले बताए । ‘केपीजी, तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब मदन भण्डारीको नाम बिर्सेर पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ । पशुपतिनाथले देशमा असल काम गर्छ, जसले धर्म गर्छ उसलाई मात्रै राम्रो गर्छन् । जसले पाप गर्छ उसलाई पशुपतिले पनि राम्रो गर्दैनन् । केपी ओलीलाई यो कुरा चेतना भया, संविधान मिच्ने मिचाहा, लोकतन्त्रको हत्या गर्ने हत्यारा र जनअधिकार कुल्चनेलाई हेर्दैनन्,’ अध्यक्ष नेपालले भने ।

उनले नेपाल कम्युनिस्ट पार्टीको पहिलो अध्यक्ष केपी ओली नभएको जिकिर गर्दै विधान र दस्तावेजमा कहीं पनि पहिलो र दोस्रो अध्यक्षको व्यवस्था नभएको दाबी गरे । ‘कुनै विधानमा पहिलो र दोस्रो अध्यक्षको व्यवस्था छैन । केन्द्रीय कमिटीको बैठकबाट ओलीलाई हटाइसकिएको छ’, अध्यक्ष नेपालले भने । प्रधानमन्त्री ओलीले मंगलबार निर्वाचन आयोगमा गएर चुनावी प्रक्रिया सुरु भइसकेको हुँदा आयोगले अब कुनै पार्टीको पनि विवादमा प्रवेश गर्न नहुने भनी दिएको अभिव्यक्तिको समेत नेपालले आलोचना गरे । ‘अस्ति निर्वाचन आयोगलाई धम्क्याएर के भने भने म पहिलो अध्यक्ष हुँ, पहिलो अध्यक्ष नेकपाको होइन, ओली गुटको होला, बालकोटको होला, नेकपाको पहिलो अध्यक्ष केपी ओली होइनन्, उनलाई पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकले हटाइसकेको छ’, अध्यक्ष नेपालले भने । उनले आफू पहिलो अध्यक्ष भन्ने ओलीको दाबीको कुनै अर्थ नभएको बताए । पार्टीको विधान, सर्कुलर र निर्णयलगायत कुनै पनि दस्तावेजमा ओलीलाई पहिलो अध्यक्ष भनेर नलेखिएको नेपालको भनाइ छ ।

 ‘ओलीले आफैं म पहिलो अध्यक्ष भनेर हुँदैन, कुनै पनि दस्तावेजमा उनलाई पहिलो अध्यक्ष भनेर लेखिएको छैन,’ नेपालले भने । अध्यक्ष नेपालले जारी पार्टीको आधिकारिकता विवाद पार्टी केन्द्रीय कमिटीको बहुमतका आधारमा टुंग्याउनुपर्ने बताए । ‘हाम्रो पार्टीका ४४० जना केन्द्रीय सदस्यलाई मार्चपास गराऊँ, ओलीको पक्षमा १०० जना हुनेछन् भने हाम्रो पक्षमा ३०० जना,’ अध्यक्ष नेपालले भने । निर्वाचन कानुनले नै एउटै पार्टीभित्र नाम, चिन्ह वा छाप आदिबारे विवाद भयो भने बहुमतको आधारमा निर्णय हुने लेखेको बताउँदै नेपालले आयोगले सोहीअनुसार काम गर्नुपर्नेमा जोड दिए । ओली प्रतिगमनका प्रतीक भएको र ज्ञानेन्द्र पथमा अगाडि बढिरहेको आरोप लगाउँदै नेता नेपालले ओलीलाई गणतन्त्र र संघीयताको माया नभएको दाबी गरे ।  

अध्यक्ष नेपालले देशमा बलात्कारका घटना बढेको भन्दै बलात्कृत भएका चेलीहरूलाई ओलीले न्याय दिन नसकेको र ओलीलाई धिक्कारेको आरोपसमेत लगाए । ‘केपी ओलीको शासनकालमा ७ हजार १७० नेपाली चेली बलात्कृत भएका छन् । ती चेलीहरूको आत्माले भनिरहेको छ, ओली तिमीले बलात्कारीमध्ये कतिजनालाई सजाय दिएका छौ ? तिमीजस्ता मान्छेलाई पार्टीले त्यो पदमा पुर्‍यायो तर तिमीले लोकतन्त्र समाप्त पार्न लागेका छौ । तिमीलाई धिक्कार छ । आम नेपाली जनताले भनेका छन्, केपी ओलीलाई धिक्कार छ । पशुपतिनाथले पनि भन्लान् केपी ओलीलाई धिक्कार छ,’ अध्यक्ष नेपालले भने । 

उनले आफूहरूले कसैलाई प्रधानमन्त्री बनाउन वा कुर्सीका लागि यो आन्दोलन नगरेको, कोही व्यक्तिप्रति लक्षित नगरेको र ओली प्रवृत्तिविरुद्ध भएको स्पष्ट पारे । कार्यक्रममा समूहका वरिष्ठ नेता झलनाथ खनालले देशभरबाट केपी ओली समूहको पराजय सुरु भएको दाबी गरे । उनले प्रतिनिधि सभा पुनस्र्थापना हुने र त्यसपछि गरिने आमनिर्वाचनबाट ओली समूह पराजित हुने दाबीसमेत गरे । खनालले प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध सिंगो देश आन्दोलित भइरहेको बताए । ओलीले प्रतिगमन नसच्याए ०६२/६३ भन्दा ठूलो अन्दोलनको आगो दन्किने उनको भनाइ थियो । ‘पत्रकारहरू आन्दोलित भएका छन्, नागरिक समाज आन्दोलित भएको छ । यो अन्दोलन सुनिएन भने ०६२/६३ को जनाआन्दोलनभन्दा ठूलो आगो दन्किनेवाला छ । त्यो अन्दोलनको आगोले केपी ओलीको तानाशाहीलाई समाप्त पार्नेछ,’ खनालले भने ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओली ‘फासीवादी’ भएको आरोप लगाए । ‘केपी ओली फासिस्ट हुन् । केपी ओलीले नेपालमा फासिवादको अभ्यास गर्दैछन् । हामी नेपालमा कुनैपनि हालतमा फासीवाद सहने छैनौं,’ उनले भने । संविधानविरोधी चुनाव नचाइएको उनले बताए । ‘संविधानविरोधी चुनाव हामीलाई चाहिएको होइन । यो चुनाव केपी ओलीले वास्तवमा गर्नका लागि घोषणा गरेका होइनन् । संविधान र लोकतन्त्रविरोधी चुनावको हामी धज्जी उडाउँछौं,’ उनले भने । नेता श्रेष्ठले संयुक्त आन्दोलनका लागि जनता समाजवादी पार्टी, नेपाली कांग्रेसलगायतका राजनीतिक दलसँग छलफल गरिरहेको समेत बताएका थिए ।

कार्यक्रममा स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी ओली जिउँदा जनता बिर्सेर पशुपतिनाथलाई खुशी पार्न लागेको बताए । ‘हरेक भाषण र मन्तव्यको अन्त्यमा पशुपतिनाथ गुहार्ने राजा वीरेन्द्रको वंशनाश भयो, पशुपतिले बचाएनन्, त्यसैगरी हरेक सम्बोधनको अन्त्यमा पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने ज्ञानेन्द्र नारायणहिटीबाट नागार्जुन पुग्नुपर्‍यो,’ पन्तले भने । ओलीले पनि पशुपतिनाथको मन्दिरमा सुनको जलारी बनाएर पशुपतिनाथलाई खुसी पार्नुभन्दा बोल्ने जनताको पीडा बुझ्नुपर्ने उनको भनाइ थियो तराईका गरिब जनता शीतलहरमा कठ्याङ्ग्रिरहेका र पहाडमा गरिबीका कारण बालबच्चासहित महिलाले नदीमा हाम फालेका बताउँदै पन्तले प्रधानमन्त्री ओलीले भने देशमा कसैले खान नपाएर मर्नुनपरेको बताएर प्रहरसन गरिरहेको टिप्पणी गरे । 

ओलीले धेरै विकास गरेको भाषण गर्ने गरेको र भाषणकै क्रममा दाहाल–नेपालले काम नै गर्न नदिएको बताएर थप प्रहसन गरेको पन्तको भनाइ थियो । कार्यक्रममा स्थायी कमिटी सदस्य जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताए । ‘जनताको आवाज सुनिँदैन भने आज यहाँ भइरहेको शान्तिपूर्ण आन्दोलन कुन दिन विद्रोहमा उत्रनेछ म भन्न सक्दिन,’ उनले भने । विरोध सभामा मुखमा टेप लगाएर उपस्थित भएकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लोकतन्त्रमा बोल्न कोही कसैले नरोक्ने बताइन् । 

राष्ट्रपतिजस्तो संस्थाको साख गिराउने काम भएकाले आफूले राष्ट्रपति पदमा रहेकी विद्यादेवी भण्डारीविरुद्ध बोलेको उनले बताइन् । निर्वाचन प्रक्रियाबाट राष्ट्रपतिजस्तो पदमा पुगेर निरंकुशताको साक्षी बस्न थालेपछि आफूले त्यसविरुद्ध बोलेको उनले बताइन । ‘राष्ट्रपतिजस्तो संस्थामा कुनै व्यक्तिले निर्वाचनको प्रक्रियाबाट गएर निरंकुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्धमा बोल्न पाइन्छ । कसले भन्छ बोल्न पाइँदैन भनेर,’ उनले भनिन् ।

प्रकाशित: २९ माघ २०७७ ००:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App