८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

विवेकशील र साझा पार्टीबीच एकता, चुनाव चिन्ह तराजु

विवेकशील नेपाली दल र साझा पार्टीको एकता घोषणा भएको छ। एकतापछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। रवीन्द्र मिश्र र मिलन पाण्डेले भर्चुअल माध्यमबाट पार्टी एकताको घोषणा गरे। एकतापछि मिश्र अध्यक्ष र पाण्डे संयोजक रहने छन्।

यस अघि यि दुई पार्टीबीच २०७४ साउन ११ गते एकता भएको थियो। तर त्यसको केही समयमा पुन: विभाजनमा पुगेका थिए। त्यो एकीकरण दुवै पक्षाका कतिपय व्यवहारिक कमजोरीहरूका कारण लामो समय रहेन नसकेको उनीहरुले स्वीकार गरेका छन्। २०७५ पौष २७ गते पार्टीमा आएको विभाजनलाई निकै दुःखद घटनाका रुपमा उनीहरुले लिएका छन्।

वैकल्पिक राजनीतिमा विवेकशील साझा पार्टीले विश्वास राख्छ। यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्ने पार्टीले विश्वास लिएको छ। 'यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ', एकताको घोषणापत्रमा भनिएको छ, 'हामी बहुलवादमा आधारित "कल्याणकारी लोकतन्त्र", समन्वयात्मक बजार अर्थतन्त्र, सामाजिक न्यायको वैचारिक आलोकमा मूल्यमान्यता सहितको अग्रगामी राजनीतिक विकल्प स्थापना गर्न चाहन्छौँ।'

चुनाव चिन्ह तराजु

एकतापछि पार्टीको चुनाव चिन्ह तराजु राख्ने सहमति भएको छ। यो चिन्ह यस अघि रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको थियो। पार्टीको लोगो पनि तराजुनै राख्ने सहमति भएको छ।  

एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ। एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५-६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य हुनेछन्। एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३-१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ।

यस्तै एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाउने छ।

सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गर्ने सहमति भएको छ।  

पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिना भित्र पार्टीको एकता महाधिवेशन हुने जनाइएको छ।  

 

 

 

प्रकाशित: २४ मंसिर २०७७ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App