नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पत्रकारलाई पैसा बाँडेको भनेर प्रकाशित समाचारप्रति उनको निजी सचिवालयले स्पष्टीकरण दिएको छ।
डा.कोइरालाका निजी सचिव भरत तिवारीले सामाजिक सञ्जालमार्फत उक्त विषयमा प्रस्ट पारेका हुन्।
यस्तो छ उनको स्पष्टीकरण
कांग्रेसका महामन्त्रीले दसैं खर्च बाँडेको भनी प्रकाशित समाचारका सम्बन्धमा म निम्न कुरा स्पष्ट पार्न चाहन्छु।
राजकुमार नाम गरेका एकजना आफन्तले केही दिनअघि दसैं खर्च दिनका लागि मलाई अनुरोध गरेका थिए। त्यही सहयोग रकम लिएर मंगलबार म अनामनगर चोकमा पुगेको थिएँ। कोभिड संक्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असावधानीवश गलत नम्बरमा कल गएको र तपाईंलाई एउटा सामान दिनुछ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यालय सहयोगी पठाइदिन्छु भन्नुभयो। हतारमा गरिएको यही संवादका आधारमा भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ। सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा मबाट कमजोरी तथा त्रुटि भएको हो। यसबारेमा कांग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कुनै जानकारी छैन। यो उहाँको सरोकारको विषय पनि होइन। त्यसैले यो विषयलाई महामन्त्री कोइरालासँग जोडेर नहेरी दिनु हुन म अनुरोध गर्दछु।
समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यावसायिक गरिमा र मर्यादाप्रति म सचेत र संवेदनशील रहेको स्पष्ट पार्न चाहन्छु।
भरत तिवारी
प्रकाशित: ५ कार्तिक २०७७ १०:३८ बुधबार