८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

टुंगिएन गौतमको मुद्दा

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ शुक्रबार पनि नटुगिँदा मन्त्री बन्ने यात्रामा बाधा पुगेको छ। मुद्दामा बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखी आगामी बुधबार सुनुवाइ हुने भएको छ। संवैधानिक इजलास साताको दुई दिन बुधबार र शुक्रबार मात्र बस्ने गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा बहस भएको थियो। शुक्रबारदेखि गौतमको पक्षमा बहस सुरु भएको छ। गौतमको पक्षमा पूर्व महान्यायाधिवक्ता युवराज संग्रौला, राघवलाल वैद्य, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले बहस गरेका थिए। त्यसैगरी सरकारको तर्फबाट नायब महान्यायाधिवक्ता पदमराज पाण्डे र सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरेका थिए। गत बुधबार सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेल आफैंले बहस गरेका थिए।

नेकपाका तर्फबाट कानुन व्यवसायीले बहस गर्न बाँकी छ। बहसका लागि कानुन व्यवसायीको भिड हुने भएपछि इजलासले एक पक्षलाई जम्मा २ घण्टा बहस गर्ने समय तोेकेको थियो। रिट निवेदकको तर्फबाट बुधबार नै सकिने भएकाले सुनुवाइको अन्त्यमा जवाफ दिन पाउनेछन्। यसअघि सर्वोच्चले गौतमलाई सरकारले राष्ट्रिय सभामा मनोनीत गर्ने निर्णयले गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठेको भन्दै संवैधानिक जिम्मेवारी नदिन भन्दै सरकारसँग लिखित जवाफ मागेको थियो।

असोज ७ मा न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्री बन्न रोक्दै संवैधानिक इजलासले टुंगो लगाउने आदेश दिएको थियो।

राष्ट्रिय सभा सदस्यको रुपमा पद तथा गोपनीयताको शपथसमेत लिइसकेका गौतमलाई मन्त्री बन्न नपाउने गरी अन्तरिम आदेश दिएको थियो। ‘संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नू÷नगराउनू भनी सर्वोच्च अदालत नियमावलीबमोजिम अन्तरिम आदेश जारी गरिएको छ’ सर्वोच्चको आदेशमा भनिएको छ। संविधानले अंगीकार गरेको बहुदलीय शासन व्यवस्थाको परिप्रेक्ष्यमा संवैधानिक रूपमा स्थिर व्यवस्था कायम हुन सक्छ भन्ने विषयमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न उत्पत्न भएको सर्वोच्चको ठहर छ।

बर्दियाबाट प्रतिनिधिसभामा पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले भदौ २९ मा मनोनीत गरेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरी मन्त्री बनाउनु संविधानविपरीत भएको दाबीसहित छुट्टाछुट्टै दुईवटा रिट निवेदन दर्ता गरेका थिए। उनलाई राष्ट्रिय सभामा मनोनीतपछि मन्त्रिमण्डलमा सामेल गराउने तयारीसमेत गरिँदै छ भन्ने रिट निवेदकको दाबी छ। उपप्रधानमन्त्रीसहित गृह वा अर्थ मन्त्रालय जिÞम्मा दिने तयारी भइरहेको रिट निवेदनमै उल्लेख छ। संवैधानिक इजलासले टुंगो नलगाउँदासम्म गौतम मन्त्री हुन पाउनेछैनन्।

प्रकाशित: १७ आश्विन २०७७ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App