९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

दुवै पक्ष समानान्तर शक्ति संघर्षमा

नेकपा विवाद

सत्तारुढ दल नेकपाभित्रको विवाद समानान्तर शक्ति संघर्षतर्फ उन्मुख भएको छ । पार्टी एकीकरणको काम नसकिँदै मौलाएको आन्तरिक विवाद विग्रहतिर  उन्मुख बनेको छ ।

विवाद समाधानका लागि एक महिनादेखि स्थायी कमिटी बैठक स्थगित हुँदै आएको थियो । यसबीचमा सहमतिको बाटो नभेटिएपछि मंगलबार एक पक्ष बैठक स्थगित गर्ने र अर्को पक्ष सञ्चालन गर्ने उपक्रममा जुटे । यसले विवाद नयाँ चरणमा प्रवेश गरेको देखाएको छ ।  

मंगलबारका लागि तय गरिएको स्थायी कमिटी बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श नगरी स्थगित गरिदिएका थिए । त्यसपछि दाहालसहितको असन्तुष्ट पक्षले भने बैठक सञ्चालन गरेको थियो । यसबाट नेकपामा समानान्तर शक्ति संघर्ष स्पष्ट देखिएको छ । जतिसुकै विवाद भए पनि विगतमा एक पक्षले अर्को पक्षलाई बाइपास गरेर बैठक स्थगित वा सञ्चालन गर्ने काम भएको थिएन । मंगलबार बैठक सुरु हुनुपहिले दुई अध्यक्षले बैठकमा उठ्न सक्ने विषय व्यवस्थापनका लागि छलफल गर्ने भनिए पनि त्यो हुन सकेन । उनीहरुबीच राम्रोसँग संवाद नै हुन सकेन ।

बालुवाटारमा दाहाल–नेपाल समूहले बैठक चलाइरहँदा ओली समूहका प्रभावशाली नेता सुवास नेम्बाङले आफूलाई बैठक स्थगित भएको मात्र जानकारी रहेको, बैठक बसेको जानकारी नभएको प्रतिक्रिया दिएका थिए । सो बैठकमा ओली पक्षका कुनै पनि नेता सहभागी थिएनन् । असन्तुष्ट पक्षको भेलालाई ओली समूहले ब्रिफिङमात्र भनी सन्देश प्रवाह गराएको थियो । दाहालको सचिवालयले भने यसलाई बैठककै रुपमा प्रस्तुत गरेको थियो । यसबाट पार्टी विभाजनतर्फ उन्मुख भएको महसुस भएको केही नेताले बताए । पार्टीका प्रभावशाली नेता भीम रावलले पार्टी व्यक्तिमा होइन, विधिमा चल्छ भन्दै दुवै अध्यक्ष मिलेर अरुको अस्तित्व अस्वीकार गर्न नहुने बताए । असन्तुष्ट समूहको बैठक चलिरहेका बेला स्थायी कमिटी सदस्य योगेश भट्टराईले ‘दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं, सल्लाह गरौं’ भन्दै ट्विट गरेका थिए । 

ओलीले स्थगित गरेको स्थायी समिति बैठक दाहाल–नेपाल पक्षले जारी राखेपछि नेकपाभित्रको शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ । 

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पार्टी एकता जोगाउन दुवै अध्यक्षले सहमति गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । पार्टीका औपचारिक बैठकमा उठ्ने प्रश्नबाट कोही कसैले भाग्न नमिल्ने, समस्याको समाधान पार्टीबाटै खोज्नुपर्ने उनको धारणा छ ।  

पार्टीभित्र विवाद चर्किंदै गर्दा उपाध्यक्ष वामदेव गौतम भने जनताको बहुदलीय जनवादको व्याख्या गर्न लागिपरेका छन् । एकता महाधिवेशनमा प्रस्तुत गर्नेगरी उनले ड्राफ्ट बनाएर झलनाथ खनाललाई समेत दिइसकेको स्रोतले जनाएको छ । साँझ प्रधानमन्त्री ओली महासचिव विष्णु पौडेलसहित गौतमलाई भेट्न उनको निवास गएका थिए । भेटमा पार्टीमा उत्पन्न विवाद समाधानका विषयमा छलफल भएको स्रोतको दाबी छ ।  

दाहाल–नेपाल शक्ति क्षयीकरण  
असार १० गते सुरु भएको स्थायी कमिटी बैठक चलिरहेका बेला दाहाल–नेपाल समूहमा क्षयीकरण सुरु भएको छ । पार्टी उपाध्यक्ष गौतम र सचिवालय सदस्य रामबहादुर थापा ओलीसँग मिल्न पुगेका छन् । स्थायी कमिटी सदस्यहरु लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझीलगायत पूर्वमाओवादी समूहका केही नेता प्रधानमन्त्रीको राजीनामा माग्न नहुने पक्षमा पुगेका छन् ।  

प्रधानमन्त्री ओलीको राजीनामा अहिलेको समस्याको समाधान नभएको धारणा राख्ने सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने पक्षमा छन् । वर्षमान पुन र शक्ति बस्नेत पनि अहिलेको अवस्थामा प्रधानमन्त्रीको राजीनामा प्रमुख मुद्दा नभई पार्टी सञ्चालन नै प्रमुख विषय भएकाले सबैको ध्यान त्यसतर्फ जानुपर्ने भन्दै आएका छन् । यसले पार्टीभित्र प्रधानमन्त्री ओलीको राजीनामाको माग कमजोर बन्दै गएको छ ।  

सहमतिको जिम्मा दाहाललाई  
असन्तुष्ट पक्षको बैठकले स्थायी कमिटी बैठक स्थगित गर्ने निर्णय गलत भएको ठहर गरेको छ । बैठकले अबका दिनमा अर्का अध्यक्ष ओलीसँग सहमति गरी स्थायी कमिटी बैठक अघि बढाउने जिम्मेवारी दाहाललाई दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सो बैठकमा उपस्थित हुन ओलीलाई दाहालले निमन्त्रण गरेको तर उनी उपस्थित नभएको श्रेष्ठले बताए । उनका अनुसार बैठकमा २९ जना स्थायी समिति सदस्य र दुईजना आमन्त्रित सदस्य सहभागी थिए । बैठकमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट सहभागी थिएनन् । ४५ सदस्यीय स्थायी कमिटीमा पूर्वमाओवादीका १८ जना सदस्य छन् ।  

बैठकलाई भेला भन्ने कि बैठक भन्ने भनेर पनि विवाद भएको थियो । घनश्याम भुुसालले भेला भनेपछि रघु पन्त र वेदुराम भुसालले बहुमत सदस्य उपस्थित भएकाले बैठक भन्नुपर्ने धारणा राखेपछि बैठक नै भएको उल्लेख गरिएको थियो । तर महासचिव विष्णु पौडेल उपस्थित नभएको र माइन्युट नभएका कारण त्यसलाई बैठक भन्न नमिल्ने कतिपयको तर्क छ ।

गौतमको ६ बुँदेले तरंग  
उपाध्यक्ष वामदेव गौतमले पार्टी र सरकार सञ्चालनका लागि छबुँदे मध्यमार्गी धारणा सार्वजनिक गरेका छन् । गौतमको यो धारणाले यसअघिको शक्ति सन्तुलन बदलिएको कतिपयको विश्लेषण छ । गौतमले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन भन्दै ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री रहने, पुष्पकमल दाहाललाई सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष दिनुपर्ने जनाएका छन् । पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, सरकारका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टी सचिवालयमा परामर्श गर्ने प्रस्ताव उनको छ । गौतमले मन्त्रिमण्डल पुनर्गठनको समेत प्रस्ताव गरेका छन् ।

गौतमको प्रस्तावमा बालुवाटारमा छलफल हुँदै गर्दा दाहाल पुग्न ढिलो भएपछि ओलीले बैठक स्थगित गरेका थिए । त्यसपछि दाहाल र झलनाथ खनालले ओलीलाई बेग्लै भेटेका थिए । त्यसपछि मात्रै स्थायी कमिटीका बहुमत सदस्यको बैठक बसेको थियो । 

प्रकाशित: १४ श्रावण २०७७ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App