११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसद्वारा संसद् अवरुद्ध

सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल अगाडि नबढाएको भन्दै नेपाली कांग्रेसले प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । बिहीबार दर्ता गराएको कोभिड–१९, अर्थात् कोरोना भाइरस सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा माथि छलफल अगाडि बढाउनुपर्ने नेपाली कांग्रेसको माग छ ।

कर्णाली कोरोनाले थिलोथिलो हुँदै गएको अवस्थामा सरकारलाई सहयोग गर्न उक्त सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको नेपाली कांग्रेसले जनाएको छ । उक्त प्रस्तावमा प्राविधिक त्रुटि भएकाले पुनरलेखन गरेर उपयुक्त समयमा अगाडि बढाउने सभामुख राजबहादुर शाहीले बताए । सभामुख शाहीले पटकपटक बैठक सुचारुका लागि सहयोग गर्न अनुरोध गरे पनि विपक्षी दलका सांसदले उठेर विरोध जनाए । 

१७ बुँदा रहेको उक्त प्रस्तावमा कुनै पनि प्राविधिक त्रुटि नभइ दुइतिहाइको दम्भले गर्दा छलफल हुन नसकेको प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए । ‘कहाँ–कहाँनेर प्राविधिक त्रुटि छन्,’ उनले संसद्मा सभामुखलाई प्रश्न गर्दै भने, ‘त्रुटिका नाममा दम्भ देखाउने ?’ नेपाली कांग्रेसले केही दिनअघि सबैखाले फजुल खर्च र प्रदेशसभाका पदाधिकारी तथा सदस्यले लिँदै आएको सवारी सुविधा फिर्ता गर्ने सम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएको थियो । उक्त प्रस्ताव पनि कर्णाली प्रदेशसभाका सभामखले बहुमतको आधारमा अस्वीकृत गरेका थिए । विचौलियको काँधमा बन्दुक राखेर चल्ने सरकार गुनासो सुन्न नचाहेको उनको आरोप छ ।  

सार्वजनिक महत्वका प्रस्तावमाथि पुनरलेखनको व्यवस्था नभएको अर्का सांसद हिमबहादुर शाहीले बताए । संकटको बेला सरकारको ध्यानाकर्षण गराउनु अपराध र अन्तरघात नभएको भन्दै उनले जनताको हित र कल्याणका लागि प्रस्ताव आएको बताए । 

कर्णालीमा कोरोना दोस्रो चरणमा प्रवेश गरेकाले कन्ट्याक्ट ट्रेसिङ गर्नसक्ने चुस्त प्रणाली विकास गर्न, हाल आरडीटी विधिबाट गरिएको परीक्षण विश्वसनीय, गुणस्तरीय र भरपर्दाे नदेखिएकाले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको विधिबाट परीक्षण गर्नुपर्ने, आरडीटी र पिसिआर विधिबाट हुने परीक्षणको गतिमा तीव्रता र दायरा फराकिलो बनाउन, क्वारेन्टिनमा बसेका सबैलाई आरडीटी र पिसिआर विधिबाट परीक्षण गरेपछि मात्र घर पठाउने व्यवस्था गर्न उक्त सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको थियो ।  

घरेलु हिंसा, चोरी डकैती, गुण्डागर्दी र बलात्कारजस्ता अपराधिक गतिविधि बढेकाले यसको न्यूनीकरण गर्न उक्त प्रस्तावमा उल्लेख गरिएको सांसद दीनबन्दु श्रेष्ठले जनाए । उक्त प्रस्तावमाथिको छलफल अगाडि नबढ्दासम्म संसद् अवरुद्ध हुने उनले बताए । कांग्रेसको अवरोधपछि शनिबार दिउँसो ३ बजेसम्मका लागि संसद् स्थगित भएको छ ।

प्रकाशित: ५ असार २०७७ १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App