१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

हलेसीको विकास गर्न पर्यटन मन्त्रीलाई सांसद राईको खुल्लापत्र

खोटाङ– खोटाङका प्रदेश सांसद राजन राईले धार्मिकस्थल हलेसीको पर्यटन प्रवर्द्धका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईलाई आग्रह गरेका छन्।

नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गरेको सन्दर्भमा प्रदेशसभा सांसद राईले सामाजिक सञ्जाल फेसबुक मार्फत खुलापत्र लेख्दै हलेसीको पर्यटन प्रवर्द्धनमा मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका हुन्। पत्रमा उनले हलेसी क्षेत्रमा लगानी बढाउन आग्रह समेत गरेका छन्।

‘हिजो साझा घोषणापत्र बनाएर चुनाव लडेका थियौँ, जसमा लुम्बिनि, पशुपतिनाथ, जनकपुरधाम, मुक्तिनाथ र हलेसीलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने वचन जनतालाई दिएका थियौँ’ सांसद राईले पत्रमा लेखेका छन्, ‘हलेसीवाहेक जनकपुर, पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथको विकास तुलनात्मक रुपमा उन्नत छ। पार्टीको घोषणापत्रका आधारमा हामीले जनतासँग मत मागेका छौँ। विकासको प्रतिबद्धता जाहेर गरेका छौँ। जनतासँग हामीले गरेका प्रतिबद्धताको मान राखिदिन हार्दिक अनुरोध छ।’ 

हिन्दु देवता महादेव र भस्मासुरबीचको द्वन्द्वको रोचक किंवदन्ती रहेको, बौद्धधर्मलाई चीन तथा तिब्बतमा प्रचार–प्रसार गरेका तपस्वी पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको, नजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ–जायजुम रहेको आधारमा हलेसीलाई त्रि–धार्मिकस्थल मान्ने गरिएको छ। 

धार्मिक सहिष्णुताको तपोभूमी भए पनि हलेसीमा प्राकृतिकरुपमा रहेका असाधारण भौतिक संरचना भूगर्भअध्येताका लागि अध्ययनको केन्द्र समेत हुनसक्ने राईले औंल्याएका छन्। सुरुमा १ नम्बर प्रदेश सरकारको मातहत रहेको हलेसीलाई अहिले संघीय सरकारको मातहतमा ल्याइएको छ।

प्रकाशित: ५ पुस २०७६ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App