भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंले सरकारले ल्याएको हालैको बजेट कनिका छरेजस्तै मात्रै भएको बताएका छन्। पार्टीको विदेश सम्वन्ध विभागको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्टिय परिस्थितिकोबारेमा जानकारी दिन सोमबार भक्तपुरमा भएको पत्रकार सम्मेलनमा विजुक्छेंले यस्तो बजेट अर्थहिनको भएको बताएका हुन्।
अध्यक्ष विजुक्छेंले राजनीतिक दलहरुमा सोच नभएका कारण यस्तो भएको बताए। वृद्धवृद्धा भता बढाउनुको सट्टा उनीहरुको उचित जीवनयापनका लागि आरद निकेतनको व्यवस्था हुनुपर्ने उनले बताए। सम्मेलनमा अध्यक्ष विजुक्छेंले भ्रष्टाचारीहरुलाई अपराध अनुसार मृत्युदण्डको सजायसमेत दिने कानुनी व्यवस्था गर्न पार्टीले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा संशोधन दर्ता गरेको जनाए।
‘नेकपाको वर्तमान सरकार कम्युनिष्ट सरकार नभएको दावी उनले गरे। नामले होइन, कम्युनिष्ट व्यवहारले हुन्छ’, उनले भने, ‘लुगा के लगायो त्यो महत्वपूर्ण होइन ।’ कम्युनिष्ट सरकार भएको भए योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको बन्दोवस्त गर्ने उनको भनाई थियो।
फरक प्रसंगमा विजुक्छेंले प्रेस स्वतन्त्रतार्लाइ कुण्ठित गर्न नहुने पक्षमा आफनो पार्टी रहेको बताए। सर्पले सर्पको खुटा देख्छ, तुल्सी रोपेर सिस्नु उम्रँदैन भने जस्तै माओवादीबाट छुटिएर विप्लव समूह जन्मेको उनको भनाई थियो। विदेशी परिस्थितिबारे जानकारी दिंदै अमेरिकी सामाज्यवादको खुल्ला रुपमा विरोध हुनुपर्ने आवश्यकता उनले औंल्याए। अमेरिकी साम्राज्यवाद साँढे जस्तो जताततै हिड्ने गरेको भन्दै उनले त्यसविरुद्ध सैद्धान्तिक संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए।
पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सरकारले हालै ल्याएको बजेट मजदुर किसान वर्गको पक्षमा नभएको बताए। महँंगी नियन्त्रण नगरी सरकारी कर्मचारीहरुले तलब मात्रै बृद्धिले मजदुर किसान अझ बढी पीडित भएको उनको भनाई थियो। फरक प्रसंगमा उनले ललितपुरको खोकना जस्ता कृषियोग्य भूमि तथा साँंस्कृतिक क्षेत्रलाई द्रुतमार्गको नाममा विस्थापित गर्नु उचित नभएको बताए। बरु द्रुतमार्गको विकल्प रोपवे भएको उनले बताए।
प्रकाशित: २० जेष्ठ २०७६ १३:०९ सोमबार