८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

सहिद ‘सरोज बाबु’को प्रजातान्त्रिक सपना

सन्दर्भः सहिद सरोजप्रसाद कोइराला स्मृति दिवस

सहिद सरोजप्रसाद कोइराला नयाँ पुस्तामाझ सायदै चिनिए। तर नेपालको राजनीतिक इतिहासमा उनको नाम एक क्रान्तिकारी योद्धाका रूपमा जीवित छ। नयाँ राजनीतिक पुस्ता उनी र उनको योगदानबारे खासै परिचित नभए पनि उनको राजनीतिक अनि सामाजिक जीवनलाई इतिहास मूल्याङ्कन गरेको छ।

पिता भैरवप्रसाद कोइराला र मनोरमादेवीको कोखमा १९८५ सालमा जन्मिएका सरोजप्रसाद कोइराला नाताले बिपी कोइरालाका भतिजा थिए। उनका पिता भैरवप्रसाद कृष्णप्रसाद कोइरालाका जेठा दाजुका छोरा थिए। राजनीतिमा समकालीन कार्यकर्ताहरूले उनलाई ‘सरोजबाबु’ भनेर सम्बोधन गर्थे।

नेपालको राजनीतिक इतिहासमा आफैँमा कोइराला परिवार एउटा क्रान्तिकारी राजनीतिक परिवार हो। यो परिवारका हरेक सदस्यहरूले नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा अतुलनीय योगदान गरेका छन्।

यही परिवारका केही पुस्ता अहिले पनि नेपाली राजनीतिको शीर्षस्थानमै छन्। जहानिया राणा शासकहरूसँग विद्रोह गरेका कारण कोइराला परिवारको आधा पुस्ता निर्वासित जीवनमै रह्यो। त्यो हिसाबले सरोजप्रसाद कोइरालाको प्रारम्भिक शिक्षादीक्षा पनि भारतको बनारसमै भएको थियो। नेपालमा जहानिया राणा शासन अनि भारतमा अङ्ग्रेज शासनविरुद्ध आन्दोलन चलिरहेका बेला जन्मिएका उनी कलिलै उमेरदेखि राणा शासकविरुद्ध लागेका थिए।

बनारसको हरिश्चन्द्र हाइस्कुलमा पढ्दै गरेका सरोजप्रसाद कोइरालाले नेपालमा प्रजातन्त्र स्थापनार्थ सङ्गठित लडाइँ लड्न नेपाली छात्र सङ्घको सदस्यता लिएका थिए।

२००३ माघमा कोलकातामा भएको नेपालीको एउटा भेलाले राष्ट्रिय काँग्रेसको स्थापना गरेको थियो। उद्देश्य र लक्ष समान भएपछि नेपाली छात्र सङ्घ पनि राष्ट्रिय काँग्रेसमै समाहित भयो। अहिलेको नेपाली काँग्रेसको प्रारम्भिक जग पनि त्यही राष्ट्रिय काँग्रेस नै हो।

खास गरी राणाविरुद्ध अन्तिम लडाइँ लड्ने उद्देश्यका साथ काँग्रेसको जन्म भएको थियो। त्यसमा जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइराला पनि थिए। सरोजप्रसाद कोइराला पनि राणाविरुद्धको त्यो क्रान्तिमा उनीहरूसँगै होमिए।

राष्ट्रिय काँग्रेसले आफ्नो पहिलो आन्दोलनका रूपमा विराटनगर जुटमिलमा मजदूर विद्रोह गरेको थियो। मजदूरहरूको हकअधिकारलाई लिएर थालिएको त्यो आन्दोलनको खास उद्देश्यचाहिँ राणा शासकहरूलाई चेतावनी दिनु थियो। त्यो आन्दोलनको नेतृत्व तत्कालीन युवा नेता गिरिजाप्रसादले गरेका थिए।

आन्दोलन चर्किएपछि राणा शासकले त्यसलाई दबाउन काठमाडौँबाट ठूलो सङ्ख्यामा सेनाको फौज पठाएको थियो। त्यो आन्दोलनका क्रममा बीपी, गिरिजाप्रसाद, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गहेन्द्रहरि शर्मा र युवराज अधिकारी पक्राउ परे। त्यसको विरोधमा मजदूरहरूले सहर र सडकमा निस्केर आन्दोलनलाई झन् चर्काए र आन्दोलन दबाउन गएको सेनाले गोली चलाउँदा केही आन्दोलनकारीको मृत्यु भयो, केही घाइते भए। अब आन्दोलन विराटनगर मात्रै होइन, देशका विभिन्न जिल्लामा फैलिन थाल्यो।

त्यसै क्रममा सरोजप्रसाद कोइरालाले जनकपुर क्षेत्रको आन्दोलनको नेतृत्व गरे। त्यस क्रममा उनी लगायत थुप्रै आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको थियो। केही समयपछि उनीहरू छुट्टिए तर क्रान्तिकारी जोश ओइलाएको थिएन। उनी फेरि राणा शासनविरुद्ध सक्रिय भएर लागे।

फेरि राण शासकले उनीहरूलाई २००४ साल कात्तिकमा पक्राउ गरेर जलेश्वर जेलमा थुनेर राख्यो। उनी जेलमै कैद थिए। यता काँग्रेसले राणाविद्ध अन्तिम सङ्घर्ष सुरु गरेको थियो। २००७ कात्तिक २६ गतेदेखि नेपाली काँग्रेसले राणाविरुद्ध निर्णायक आन्दोलन प्रारम्भ ग¥यो। त्यो आन्दोलनमा सहभागी हुन नपाएकामा जेलभित्रै सरोजप्रसाद कोइराला छटपटाउँदै थिए। त्यो छटपटाहटमा उनले जेलमै रहेका साथीहरूसँग मिलेर जेलै फोडेर निस्के। त्यसपछि फेरि आन्दोलनमा होमिए।

आन्दोलनका क्रममा त्यो बेला नेपाली काँग्रेसले हतियार उठाइसकेको थियो। काँग्रेसका क्रान्तिकारी योद्धाहरू अर्थात् मुक्ति सेनाहरूले विभिन्न ठाउँमा रहेका सैनिक र प्रहरीका अड्डाहरू कब्जा गरिरहेका थिए।

त्यसै क्रममा मुक्ति सेनाले जनकपुर पनि कब्जा ग¥यो र महेन्द्रनारायण निधिको नेतृत्वमा समानान्तर ‘जनसरकार’ गठन भयो। त्यो जनसरकारमा यातायात मन्त्रीको जिम्मेवारी सरोजप्रसाद कोइरालालाई थियो।

यसरी नेपालमा २००७ सालको क्रान्ति सफल भएको थियो। त्यसपछि राणा र काँग्रेस मिलेर अन्तरिम सरकार बनाएका थिए। त्यसको आठ वर्षपछि अर्थात् २०१५ सालमा पहिलोपटक आमचुनाव भयो। त्यो बेला नेपाली काँग्रेसले बहुमत ल्यायो र बिपी कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री भए। तर नेपालमा प्रजातन्त्र लामो समय टिक्न सकेन।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जनताबाट प्रजातन्त्र खोसे। जननिर्वाचित प्रधानमन्त्री बिपीसमेत कैयौं नेतालाई जेल हाल्ने क्रम सुरु भयो। कठिन सङ्घर्ष गरेर राणा फालेका नेपालका प्रजातन्त्रप्रेमी नागरिक फेरि राजाको निरङ्कुश पञ्चायतविरुद्ध लड्नुपर्ने अवस्था आयो।

यो लडाइँको नेतृत्व पनि नेपाली काँग्रेसले नै गरेको थियो। अनि त्यसको एउटा योद्धा सरोजप्रसाद कोइराला पनि थिए। पञ्चायतविरुद्ध खासगरी युवा र अझ तराईं मधेसका नागरिकलाई सचेत बनाउँदै सङ्घर्षमा गोलबद्ध गरेका सरोजप्रसाद कोइराला त्यो बेला पञ्चायती शासक र प्रशासकको आँखाको तारो बनेका थिए। उनीहरू कहिले भारत र कहिले नेपालका सिमानाका जिल्लाहरूमा लुकिछिपी पञ्चायती शासकविरुद्ध आन्दोलन गर्दै आएका थिए। त्यही क्रममा २०३० साल कात्तिक २ गते साँझपखको अँध्यारोमा गोली हानेर उनको हत्या गरियो।

आन्दोलनकारीका अनुसार दरवारकै इशारामा उनलाई पेशेवर निशानावाजहरूले गोली हानेका थिए। यसरी प्रजातान्त्रिक लडाइँ लड्दा लड्दै उनी सहिद भए। आन्दोलन मात्रै होइन, नेपाली काँग्रेसको जग निर्माणमा पनि उनको बिछट्टै योगदान छ। काँग्रेसको सङ्गठन निर्माणका लागि उनले जनताको घरघरमा पुगेर अभियान चलाएका थिए।

तराईलाई नेपाली काँग्रेसको ‘गढ’ बनाउन उनको अद्वितीय भूमिका देखिन्छ। राजनीति सँगसँगै उनले धेरै सामाजिक कर्महरू पनि गरेका थिए। त्यो बेला समाजमा कैयाैं असमानता र भेद्भाव थिए।

खासगरी खेती गरिखाने किसानहरू धेरै नै पीडित थिए। खेती लगाउने धेरैजसो जमिन जमिन्दारसँगै हुन्थ्यो तर खेत खोत्ने किसानहरू यति शोषित हुन्थे कि उब्जिएको अन्नबालीको १० भागमा तीन भाग मात्रै किसानले पाउँथे। यस्तो शोषण र असमानता अन्त्य गर्न सरोजप्रसाद कोइरालाले ‘खडेबटैया आन्दोलन’ सुरुवात गरेका थिए। यो आन्दोलन देशभर नै फैलिएको थियो। यसबारे जमिन्दारहरूले शासकहरूलाई कुरा लगाउन थालेका थिए।

त्यही बेला उनले ‘माथिल्लो जात’बाट भेद्भावको शिकार भएका दलित समुदायलाई माथि उठाउने कार्यको पनि थालनी गरेकाे पाइन्छ। दलितलाई समान अधिकारका लागि उनले जातीय विभेद्विरुद्ध सबै जातले छोएको पानी खुवाउने अभियान चलाएका थिए। यसले पनि तत्कालीन समाजमा ठूलै हलचल ल्याएको थियो। 

समाज सुधारका कतिपय आन्दोलन त्यो बेला बिपी कोइरालाका लागि पनि प्रेरणा भए। २०१६ सालमा बिर्ता, बेठबेगारी प्रथा उन्मूलन गरेको थियो। नेपाली जनताले प्रत्यक्ष दैनिक जीवनमा अनुभूति गर्न सक्ने गरी भएको समाज सुधारको पहिलो कदम थियो त्यो उन्मूलन। बिर्ता र बेठबेगारी प्रथा उन्मूलन गर्न उनले निकै योगदान गरे। त्यो प्रस्ताव पारित गर्न बिपी कोइरालालाई अन्तिम समयसम्म सहयोग गर्ने एकजना पात्र सरोजप्रसाद कोइराला पनि थिए।

राजनीति कुनै पद र प्रतिष्ठा प्राप्तिका लागि मात्रै होइन भन्ने मान्यता राख्ने सरोजबाबुले सधैंँ राजनीति जनताका लागि हो भन्ने ठान्थे। राजनीतिमा यति क्रान्तिकारी, निष्ठावान र बलिदानी भावले भरिएको नेता कमै मात्र जन्मिएका छन्। स्मृति दिवसमा सहिद सरोजबाबुप्रति हार्दिक श्रद्धा सुमन!

( रासस, राजनीतिक विश्लेषक डा.शाेभाकर पराजुली।)

प्रकाशित: २ कार्तिक २०८१ १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App