प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको बताएका छन्।
बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन। उनले आफ्नो आलोचना गर्नेहरूप्रति लक्षित गर्दै सत्ताच्युत हुँदा कहिल्यै आफूले शोक गीत गाउँदै नहिँडेको बताए।
प्रधानमन्त्री दाहालले आफूले विगतमा पनि देश सङ्कटमा रहँदा प्रतिपक्ष नभई सरकारकै सहयोगमा लागेको स्मरण गरे।
उनले भने, ‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको छ। आज मलाई आलोचना गरिरहने साथीहरूलाई सोध्न चाहन्छु, मैले कहिले शोक गीत त गाउँदै हिँडिन। मैले कहिल्यै त्यस्तो आरोप लगाइन। म अहिले यो पनि सम्झिरहेको छु, त्यो बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म प्रतिपक्ष दलको नेता थिएँ। देशमा भूकम्प गयो, ठुलो जनधनको क्षति भयो, म प्रतिपक्ष छैन, अब म नेपाली जनताको पक्षमा छु भनेको थिएँ। मैले बरु राष्ट्रिय सहमतिको आधार तयार पार्न समेत काम गरेको थिएँ।’
प्रधानमन्त्री दाहालले आफूले अहिले पनि राष्ट्रिय सहमतिको आधार तयार पार्ने काम गरेको बताए।
प्रकाशित: ३० फाल्गुन २०८० १२:२६ बुधबार