८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद् अवरुद्ध गर्नु गैरजिम्मेवारः कांग्रेस

साेमबार संसद् अवरूद्ध गर्दै एमाले सांसद्हरू। तस्बीरः रासस

सत्तारूढ नेपाली कांग्रेसले जनताको सर्वोच्च थलो संसद्लाई लामो समयदेखि अवरुद्ध गर्नु गैरजिम्मेवारी भएको जनाएको छ। शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेस संसदीय दलको सोमबार सकिएको बैठकले कुनै विषयमा असहमतिसहित प्रतिपक्षले राष्ट्रको ध्यानाकर्षण गराउने प्रक्रिया स्वाभाविक भएको ठहर गरेको छ। तर एमालेले लामो समयसम्म सदनमा छलफल हुन नसक्नेगरी संसद् अवरुद्ध गर्नु गैरजिम्मेवारी भएको कांग्रेसले बताएको छ।  

जनताको जनजीविकासँग जोडिएका र नागरिकका प्रत्यक्ष सरोकार विषयमा सदनमा आवाज उठ्ने तथा छलफल हुने अवस्था बनाउनुपर्नेमा जोड दिँदै कांग्रेसले अवरुद्ध संसद् बैठक खुलाउन पहल गर्ने निर्णय गरेको छ।

‘नेपाली कांग्रेस सत्तारूढ दलहरूसँगै प्रमुख प्रतिपक्षीलगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद् खुलाउन पहल गर्ने निर्णय गर्छ,’ बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ। संघीय संसद्का दुवै सदन लामो समयसम्म अवरुद्ध हुँदा जनतामा वितृष्णा उत्पन्न हुने जोखिम आंैल्याउँदै कांग्रेसले भनेको छ, ‘लामो समयसम्म संसद् अवरुद्ध गर्ने काम उचित मान्न सकिँदैन।’  

अवैध ढंगले त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको एक क्विन्टल सुनका विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले उक्त घटनाको निष्पक्ष छानबिनका लागि सरकारसँग अनुरोध गरेको छ। सुन तस्करी प्रकरणमा जोसुकै जोडिएको भए पनि कानुनको दायरामा ल्याउन पनि उसले भनेको छ।‘नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गर्दछ,’ कांग्रेसले भनेको छ। कांग्रेसले संक्रमणकालीन न्याय, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार नियन्त्रण गर्नेसहितका विधेयक चाँडै पारित गर्न पनि जोड दिएको छ।

संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने विधेयक तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेसम्बन्धी विधेयक ल्याउन पनि उसले सरकारलाई आग्रह गरेको छ।  

सरकारले संघीय संसद्मा पेस गरेको बजेट पारित भइसकेको जनाउँदै कांग्रेस बैठकले त्यसमा रहेका कमजोरी सुधार गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ। सुन तस्करीसहितका विषयले पुष्पकमल दाहाल नेतृत्वमा रहेको गठबन्धनका विषयमा प्रश्न उठिरहेका बेला कांग्रेस यसको निरन्तरताको पक्षमा उभिएको छ। ‘राष्ट्रको सर्वोत्तम हितका लागि राजनीतिक स्थिरता आवश्यक छ। गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी काम गर्न आवश्यक छ,’ उसले भनेको छ, ‘तसर्थ कांग्रेस गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपले काम गर्ने निर्णय गर्दछ।’

कांग्रेसले नागरिकको जीविकासँग जोडिएका विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै, मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ। लोकतान्त्रिक व्यवस्थामा सुशासनको प्रत्याभूति आधारभूत सर्त भएको जनाउँदै उसले सबै घटनाको कानुनबमोजिम स्वतन्त्र, निष्पक्ष एवम् पूर्वाग्रहरहित छानबिन गर्न भनेको छ।  

जग्गाको कित्ताकाट, नागरिकता, श्रमिक मजदुरहरूको न्यूनतम ज्याला निर्धारण, अतिवृष्टि, अल्पवृष्टिसहितका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।  

बैठकमा कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले सुनमा लगाइएको प्रतिबन्ध खुला गर्नुपर्ने धारणा राखेका छन्। सुन आयातमा रोक लगाउँदा तस्करी बढिरहेको जनाउँदै सभापति देउवाले कर लगाएर आयात खोल्नुपर्ने धारणा राखे। ‘सुन तस्करी वर्षौंदेखि चल्दै आएको छ। नेपाल सुन तस्करी केन्द्र बन्ने भयो,’ देउवाको भनाइ उद्धृृत गर्दै सांसद तथा केन्द्रीय सदस्य प्रतिमा गौतमले भनिन्, ‘बरु निश्चित भन्सार कर लिएर सुन आयातलाई खुला गर्नुपर्छ जस्तो लागेको छ। नत्र हामी यसमै अलमलिने अवस्था आउने भयो।’  

बैठकमा महामन्त्री तथा सांसद गगनकुमार थापाले भने विगतदेखिका सबै काण्ड छानबिन गर्नुपर्ने धारणा राखे। एउटा काण्ड आएपछि अर्कोले मेरो मात्र किन, तेरो पनि छानबिन गर्नुपर्यो भन्ने धारणा राख्दै थापाले सबै फाइल खोल्नुपर्ने तर्क गरे। ‘आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्नुपर्छ भनेर माग गुर्नपर्ने अवस्था बदल्नुपर्छ,’ थापाले बैठकमा भने, ‘यसका लागि हाम्रो स्मृतिमा रहेका जति पनि ठुला काण्ड छन्, ती सबैको फाइल खोलौं। दोषी छ भने जुनसुकै दलको होस्, नेता नाता जेसुकै होस्, सांसद् होस् वा मन्त्री, कसैले पनि छुट पाउनुहुँदैन।’

तर, कांग्रेस संसदीय दलले राज्यका निकाय हुँदाहुँदै बाहिरबाट अर्को समिति गठन गर्नु आवश्यक नरहेको निष्कर्ष निकाल्दै संस्थापनइतर नेताहरूको मागअनुसार उच्चस्तरीय समिति गठनको विपक्षमा उभिएको छ।

प्रकाशित: ३० श्रावण २०८० ०३:४५ मंगलबार

संसद् अवरुद्ध गर्नु गैरजिम्मेवारः कांग्रेस