१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

आचारसंहिता उल्लंघन नगर्न प्रतिबद्धता

काठमाडौं- राजनीतिक दलले आइतबार हुने स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउने र आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेेका छन्। मतदानको मिति आउन चार दिनमात्रै बाँकी रहँदा निर्वाचन आयोगले व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने र स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दललाई आफ्नै कार्यालयमा बोलाएर प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको हो।

आयोगले आचारसंहिता जारी भएको महिना दिनपछि दललाई बोलाएर निर्वाचन आचारसंहिता र स्थानीय तह निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको हो।

सरकारले गम्भीर ढंगले आचारसंहिता उल्लंघन गर्दा पनि निरीह बनेको आरोप खेपेको आयोगले आचारसंहिता जारी भएको महिना दिनपछि बल्ल दललाई बोलाएर निर्वाचन आचारसंहिता र स्थानीय तह निर्वाचन आचारसंहिता पालना गराउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको हो। स्थानीय तह निर्वाचनको अन्तिम तयारी भइरहेका बेला विभिन्न ठाउँमा आगजनी र कुटपिटका साथै दोलखामा एकजनाको ज्यानै गएपछि आयोगले दलहरुलाई बोलाएको हो।

प्रतिबद्धतापत्रमा दलका नेताले आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 'निर्वाचन लोकतन्त्रको आधारशिला हो, स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचनले मात्रै लोकतन्त्र सुदृढीकरणमार्फत सुशासनमा टेवा पुर्‍याउँछ भन्ने तथ्यलाई हृदयंगम गर्दै मुलुकमा सम्पन्न गरिने स्थानीय तहको निर्वाचन सुव्यवस्थापनमा हाम्रो अग्रणी भूमिका रहेको तथ्यलाई आत्मसात् गर्छाैं,' प्रतिबद्धतापत्रमा उल्लेख छ, 'निर्वाचन आयोगले जारी गरी कार्यान्वयनमा ल्याएको निर्वाचन आचारसंहिता, २०७२ तथा स्थानीय तह आचारसंहिता २०७३, मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि हामी प्रतिबद्धता व्यक्त गर्छाैं। साथै उल्लिखित बुँदा सरोकारवालाबाट समेत पालना गर्न र गराउन सदैव मन, वचन र कर्मले प्रयत्नशील रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्छौं।'

प्रतिबद्धतापत्रमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, उपप्रधानमन्त्री एवं नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, एमाले संसदीय दलको उपनेता सुवासचन्द्र नेम्बाङ, मन्त्री रमेश लेखक, राप्रपा नेता बुद्धिमान तामाङ, संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठ र डा. शिवजी यादवलगायतले हस्ताक्षर गरेका छन्।

केही दलका नेताहरुले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र निर्वाचन आयोगले विभेद गरेको भन्दै आलोचना गरे। एमाले नेता नेम्बाङले दोलखामा मंगलबार राति सुनियोजित रुपमा माओवादी कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेको दाबी गरे। 'निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न हामी तयार छौं, गरिरहेका छौं,' नेम्बाङले भने, 'तर आचारसंहिता कागजमा मात्रै सीमित नहोस्, दोलखामा प्रचारप्रसार सकाएर बसेका हाम्रा कार्यकर्तामाथि सुनियोजित रुपमा ढुंगा प्रहार गर्ने र गोली चलाएर ज्यान लिनेसम्मको काम भयो, यसमा सरकारको र आयोगको ध्यान जाओस्, दोषीमाथि कडा कारबाही होओस्।'

नयाँ शक्तिका संयोजक भट्टराईले सरकारमै बसेको पार्टीले आचारसंहिता उल्लंघन गर्ने र आतंक मच्चाउने काम गरेको आरोप लगाए। उनले सरकारबाट चुनावलाई प्रभावित बनाउने निर्णय भइरहेको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराए। उनले दोस्रो चरणको निर्वाचन पनि सम्पन्न भएपछि मात्रै मतगणना गर्नुपर्ने बताए। भट्टराईले सत्तामा बसेर पनि प्रधानमन्त्रीले 'जनयुद्धकालीन' तरिकाले आतंक मच्चाएको आरोप लगाए। भट्टराईले सरकारले नै आचारसंहिता मिचेको र आतंक मच्चाएको बताएपछि प्रधानमन्त्री दाहाल र उनीबीच भनाभन भएको थियो।

प्रधानमन्त्री दाहालले आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेकोे र आयोगसँग सहमति लिएरै काम गरेको दाबी गरे। उनले दोलखा घटना दुःखद भएको भन्दै अनुसन्धान गर्न निर्देशन दिएको बताए। 'सत्यतथ्य आएपछि दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्छ,' प्रधानमन्त्रीले भने। प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले विभिन्न ठाउँमा कुटपिट, आगजनी र दोलखामा एकजनाको ज्यान गएको घटनाप्रति आयोग दुःखी भएको बताए। उनले अहिलेसम्म झडप र आगजनी २५ घटना भएको जानकारी दिए। उनले संयमित भएर निर्वाचनमा लाग्न दललाई आग्रह गरे।

मतदाता परिचयपत्र वितरण बिहीबार

निर्वाचन आयोगले आइतबार हुने पहिलो चरणको मतदानका लागि बिहीबारदेखि मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गर्दैछ। मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य गरेको आयोगले बिहीबार, शुक्रबार, शनिबार मतदान केन्द्रबाट मतदाता परिचयत्रपत्र वितरण गर्न लागेको हो। पहिलो चरणअन्तर्गत मतदान गर्ने ४९ लाख ५६ हजार ९ सय २५ मतदाताको परिचयपत्र सम्वन्धित मतदान केन्द्रमा पुगिसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।

आफ्नो मतदाता परिचयपत्र लिन मतदाता स्वयं मतदान केन्द्र/स्थल पुग्नुपर्नेछ। आफू पुग्न नसक्ने भए परिवारका सदस्यलाई मन्जुरीनामा दिएर पठाउन सकिनेछ। निर्वाचन आयोगका अनुसार पहिलो चरणमा प्रदेश ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनमा १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ३ सय ३७ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन्। पहिलो चरणमा ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउँपालिकामा निर्वाचन हुँदैछ।

बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने

आइतबार हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ। निर्वाचन आयोगले निर्वाचन हुनु ४८ घन्टा पहिले मौन अवधि सुरु हुने भएकाले बिहीबार राति १२ बजेपछि मतदानको काम सम्पन्न नभएसम्म कुनै राजनीतिक दलको पक्षविपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचारप्रसार गर्न नपाइने जनाएको हो। 'पहिलो चरणअन्तर्गत हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु हुन्छ,' निर्वाचन आयोगका प्रवक्ता शर्माले भने 'मौन अवधि सुरु भएपछि उम्मेदवारको पक्षविपक्षमा प्रचारप्रसार वा शान्ति भंग गर्न निषेध गरिएको छ।'

प्रकाशित: २८ वैशाख २०७४ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App