११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

काठमाडौं- स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मुलुकका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचनलाई लक्षित गर्दै ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको जानकारी दिए। यसअघि सबै जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको आयोगले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो।

प्रवक्ता शर्माले वैशाख १२ गतेदेखि हरेक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए। निर्वाचनलाई दृष्टिगत गर्दै आयोगले यसअघि नै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई तालिम दिइसकेको छ।

त्यसैगरी निर्वाचनलाई लक्षित गर्दै संयुक्त परिचालन केन्द्रसमेत स्थापना गरिएको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबार उक्त केन्द्र शुभारम्भ गरे। निर्वाचन आयोगका अनुसार उक्त केन्द्रमा २४ र प्रत्येक जिल्लामा गठन हुने संयुक्त निर्वाचन परिचालन केन्द्रमा १३ जना जनशक्ति रहनेछन्। आयोगका अनुसार केन्द्रमा निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय र चारवटै सुरक्षा अंगका प्रतिनिधि रहनेछन्।

६२ जिल्लाका मतपत्र छापियो

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ६२ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न भएको जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने एक करोड ६० लाख मतपत्रमध्ये आयोगले आइतबारसम्म एक करोड ३२ लाख मतपत्र छपाइको काम सम्पन्न गरेको हो। आयोगका अनुसार २ नम्बर प्रदेशसहित १३ जिल्लाको मतपत्र छपाइको काम भने अझै बाँकी छ। स्थानीय तह निर्वाचनका लागि वैशाख १० गतेसम्म मतपत्र छपाइ कार्य सकेर जिल्ला पठाउने आयोगको तयारी छ। स्थानीय तह निर्वाचनमा भाग लिने मतदाताको संख्या एक करोड ४० लाख ५४ हजार ४ सय ८२ भए पनि केही थपसहित आयोगले १ करोड ६० लाखको हाराहारीमा मतपत्र छाप्ने भएको छ।

प्रकाशित: ४ वैशाख २०७४ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App