९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुने एमाले सचेतक बर्तौलाकाे चेतावनी

नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसदको प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताएका छन्।

सचेतक बर्तौलाले प्रतिनिधि सभाका सभामुख सभाको नेता भएको भन्दै उहाँलाई सिंगो संसदले विश्वास गर्नुपर्ने बताए।  उनले प्रतिनिधि सभा नियमावलीमा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराउनु उहाँहरुको सार्वभौम अधिकारको कुरा भएपनि सबैले सभामुखप्रति विश्वास गर्नुपर्नेमा जोड दिए।

मंगलवार संचारकर्मीसँग कुरा गर्दै उनले सभामुख सभाको रेफ्रि भएको भन्दै रेफ्रिले कतिबेला सिठी बजाउने भन्ने कुरा कतै भएको निर्णयबाट निर्देशित भएर गर्नु नहुने बताए।  

उनले सभामुखले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसदको प्रभावकारीतामा गतिरोध उत्पन्न हुने बताए। उनले त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने बताए।  

उनले भने, ‘माननीयहरुले राखेको विषय उहाँहरुको सार्वभौम अधिकारको कुरा हो। हामी सबैले बुझ्न के पर्छ भने सभामुख भनेको लिडर अफ द हाउस। हेड अफ द इन्स्टिच्युसन। शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका। प्रतिनिधि सभाको सभामुख भनेको हाउसको हाम्रो अगुवा र नेता भएको कारणले गर्दा उहाँलाई सिंगो हाउसले विश्वास गर्नुपर्छ भन्ने हो। किनभने उहाँ रेफ्रिको भुमिकामा हुनुहुन्छ। रेफ्रिले कतिबेर सिठी बजाउने भन्नेकुरा कुनै ठाउँबाट निर्णय गरेर, निर्देशित गर्न थाल्यो भने त्यो रेफ्रिको पर्फमेन्स के हुन्छ? सिंगो खेलको अवस्था के रहन्छ? त्यसकारण जब हाउसको विषय रहन्छ, सभामुख एउटा रेफ्रि हो। रेफ्रिले निष्पक्षता, तटस्थताको आधारबाट भुमिका निर्वाह गर्नुपर्छ। यदी त्यसप्रकारको भुमिका निर्वाह गर्नको लागि जे संवैधानिक अधिकारहरु छ। हामीले हिजो व्यवस्था गरेका अधिकारहरु छ, त्यो अधिकारलाई कुण्ठित गर्नेगरी, हातखुट्टा बाँध्नेगरी अर्थात कार्यव्यवस्था परामर्श समितिमा परामर्श गरेर होइनकी सबै निर्णय गरिदिएर त्यो निर्णय बमोजिम मात्रै सभामुख आसनमा रहने, रेस्टरुम निस्किन पनि कार्यव्यवस्था परामर्श समितिको निर्णयबाट भन्ने आशयबाट हामी जान थाल्यौँ भने संसदीय मूल्य, मान्यता, यसको गरिमा र संस्कृतिमा र सिंगो हाउसको प्रभावकारीतामा गतिरोध निर्माण हुन्छ।’  

सचेतक बर्तौलाले सभामुखले तटस्थ भुमिका निर्वाह गर्न नसकेमा त्यसको उपचार खोज्ने व्यवस्था नियमावलीमा नै रहेको उल्लेख गरे । नियमावली बनाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षको छायाँ पार्नु नहुने उनले बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कार्यव्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभामुख अगाडी बढ्दा संसद गतिहीन हुनसक्ने र अवरोधहरुको जञ्जालमा पर्नसक्ने बताए।

उनले भने,‘सभामुखले तटस्थ भुमिका निर्वाह गर्न सक्नुभएन। निष्पक्षता उहाँको रहेन। कहीँ प्रश्न गर्ने भुमिका रह्यो भने हाम्रा संविधानमा र यही नियमावलीमा पनि हामीले आचरण अनुरुप काम नगरेमा प्रश्न गर्ने, त्यसको उपचार खोज्ने व्यवस्था गरेका छौँ। सरकार निर्माणको अंक गणित एउटा हो। तर हाउस सञ्चालनको विषय फरक कुरा हो। संसदलाई सञ्चालन गर्ने सन्दर्भमा सरकार निर्माणको अंक गणित, प्रतिपक्ष वा सत्तापक्ष यस हिसावले सत्ताको छायाँको आधारबाट अगाडी बढाउने यस हिसावबाट अगाडी बढ्न खोज्यो भने समग्र संसदको माध्यमबाट हामीले राष्ट्र र जनताको मुद्दाहरुमा डिबेट गरेर जाने फोरम बनाउन सक्दैनौँ। हामीले सत्ता निर्माण, सरकार निर्माणको छायाँ यसमा पर्न दिनु हुँदैन। हाम्रो नेता भनेको सभामुख हो हामीले उहाँलाई विश्वास गर्नुपर्छ। कार्य व्यवस्था परामर्श समितिमा सबै निर्णय गरेर निर्णय भएको माइन्युट अनुसार मात्रै सभामुख अगाडी बढ्नुपर्छ भनेर यदी हामी भन्न थाल्यौँ भने लोकतान्त्रिक संस्थाहरुलाई, सर्वोच्च जनप्रतिनिधि संस्था संसद गतिहिन हुनसक्छ । अवरोधहरुको जञ्जालमा पर्नसक्छ। यो विषयलाई हामीले राजनीतिक परिपक्वताका साथ हाउसको साझा विषय बनाउनुपर्छ।’

उनले संसदमा नियमावली निर्माणको सन्दर्भमा विभाजित हुनु हुँदैन भन्ने निस्कर्ष राजनीतिक दलहरुको रहेको उल्लेख गरे।

प्रकाशित: १४ चैत्र २०७९ ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App