लक्ष्मी उप्रेती
’ मामु म स्कुल कहिलेदेखि जाने ?’ बिहान ओछयानमा नै छोरी अश्लेषाले आँखा मिच्दै सोधिन।
’अहो आज मेरी छोरीले सपनामा स्कुल देखिन कि क्या हो ?’ आमाले प्रतिप्रश्न गर्नुभयो।
– हैन मामु, स्कुल जान नपाएदेखि सपना देख्दिन। ए। अब केही दिनमा कोरोनाको प्रकोप सकिन्छ। लकडाउन पूरै खुल्छ, स्कुल पनि खुल्छ नि। अनि स्कुल जाने ल नानु ।
– मलाई स्कुल जान मन लागेको छ । स्कुल गएर राम्रो पढ्छु नि। अनलाइनमा पढाएको बुझ्दिन म। साथीहरूसँग टिफन साटासाट गरेर खान, खेल्न र सबै मिलेर ठूलो स्वरमा कराउन क्या मजा हुन्छ। एक कक्षाको परीक्षा सकेदेखि घरमै छौं । पास भएर दुई कक्षामा पढन स्कुल नै जान पाइन। अब कसले पढाउनु होला। जान्छु नि के मामु आज।
– अहिले हिँड्नु हुन्न नानी। अनि स्कुल पनि बन्द छ नि। नत्र तिम्रो साथी लयलाई सोध त। फोनमा कुरा गर्छौँ। कुरा गर्छौं भने म नम्बर मिलाइदिन्छु ।
– हुन्छ मामु मिलाइदिनुन। लयसँग कुरा गर्छु त।आमाले तुरुन्तै मिलाएर छोरीलाई मोवाइलमा दिइन।
साथीसँग कुरा गर्न पाउँदा छोरी दङ्ग भई अनि आमा पनि उठेर भान्छामा लागिन् ।
एकैछिनमा छोरी भान्छामा आइन अनि ठाडो प्रश्न गरिन ’अचानक मामु क्वारेन्टिन भनेको के हो ?’
– क्वारेन्टिन किन छोरी ।
– लया का बाबा त क्वारेन्टिनमा रे नि । कस्तो स्याड छिन् लया। रुँदै बिस्तारै बोलिन। अनि मैले अरू कुरा गरिन् ।
– ठीक गरयौं छोरी। अहो’, कहिलेदेखि नि।
– खै त्यो त सोधिन मामु’ । क्वारेन्टिन भनेको चै के हो भन्नु न छिटो ।
– ब्रेकफास्ट खाँदै भन्छु हिंड तर तिमीले पनि कपाकप खानुपर्छ नि।
– हस ।
दुवै जना डाइनिङ रूममा आए। अनि आमासँगै छोरी अश्लेषा पनि खान थालिन्। खाँदै आमाले भन्न सुरु गरिन।
क्वारेन्टिनमा बस्ने भनेको आफूलाई अरूबाट अलग्ग राख्ने बसाइ हो । यसरी घरमा पनि बस्न सकिन्छ अनि सरकारले बनाएरका क्वारेन्टिनमा पनि बस्न सकिन्छ। अझ यसबेला त कुनै होटलमा पनि क्वारेन्टिनको व्यवस्था छ। त्यहाँ पनि बस्न सकिन्छ।
अहिले कोरोनाको डरलाग्दो प्रकोप छ। यसको संक्रमण भएको शंका भएमा अरूलाई नसरोस् भनेर कम्तीमा १४ दिनसम्म सबैबाट अलग्ग रहेर बस्नुलाई क्वारेन्टिनमा बस्ने भनिन्छ । यदि लापरवाही गरे आफ्ना सम्पर्कमा आउने व्यक्तिलाई पनि खतरा हुन्छ।
– ए, अनि सबैसँग अलग्ग भोकै बस्ने, कि भोक लाग्दैन क्वारेन्टिनमा मामु ?
– नि। किन नलाग्नु। अझ यस्तो बेला त स्वास्थ्यकर र तागतिलो कुरा खाइरहनुपर्छ।
– सबैबाट अलग्ग अनि कसले दिन्छ खानेकुरा ?
– बूढाबूढी, रोगी र साना नानीहरूले विशेष होस गर्नुपर्छ। अरूले पनि अलग्ग भएर दिँदा हुन्छ नि ।
– ए, त्यसो भए त ठिक छ। अरू के गर्नु पर्छ मामु।
क्वारेन्टिनमा बसेका मान्छेको कपडा, थाल कचौरा ग्लास अरूलाई उपयोग गर्न दिनु हुन्न। उसले मात्र उपयोग गर्ने । भरसक उसका लागि नुहाउने र ट्वाइलेट कोठा पनि बेग्लै भए राम्रो हुन्छ। उसेले मुखमा माक्स दिन दिनै बदलेर लगउने। साबुनपानीले हात धुने र सेनेटाइजरको प्रयोग त छोड्नै भएन। क्वारेन्टिनमा बस्ने मान्छेबाट ख्याल गर्नुपर्छ। यदि रुघाखोकी या ज्वरो आयो भने तुरुन्तै डाक्टरलाई जँचाउनुपर्छ। बुझ्यौ क्वारेन्टिन भनेको नानु । मैले अब तिम्रो लागि नै भए पनि हरेक कुरा जान्नुपर्ने भयो नि। धन्न अफिस छाडेर सजिलो भएको छ।
स्कुल जाने बिर्सिएकी अश्लेषातिर पुलुक्क हेरेर आमा हाँसिन्।आमासँगै आठ वर्ष लागेकी अश्लेषा पनि हाँसिन् ।
प्रकाशित: २९ असार २०७७ १०:१७ सोमबार