टंकबहादुर आले मगर
शन्तेको भाग रोज्ने बानी नराम्रो थियो । आमाले कति सम्झाइन्, ‘भाग रोज्नु हुँदैन । मामुले जति दिनुहुन्छ जे दिनुहुन्छ रमाईरमाई खानुपर्छ ।’
शन्ते जहिले पनि बुवालाई खाना भाग लगाएको थाल रोज्थ्यो । उसलाई धेरै भात पस्केको थाल चाहिन्थ्यो ।
माघमा शन्तेलाई पनि लिएर आमा माइत गइन् ।
बाटाभरि सिकाइन् , ‘माउलो पुग्नेबित्तिकै माउली बाजेबजूलाई खुट्टामा ढोक्नु । जेठा मामामाइज्यूलाई हौवा गर्नु है दुई हात जोडेर ।’
शन्तेले रमाउँदै भन्यो, ‘लल मामु ।’
‘अनि माउलोमा भाग रोज्न हुँदैन है । कुरी हुन्छ । मामामाइजूले नराम्रो भन्छन् । दिदीदाजुहरूले खिसी गर्नुहुन्छ । माइजूले जुन थालमा दिनुहुन्छ चूपचाप लागेर खाने । हाम्रो ज्ञानी छोरा त्यसो गर्दैन ल ?’
हुन्छ मामु भन्दै शन्तेले टाउको हल्लायो ।
माउलोमा पुगेपछि आमाले भनेझैं सबैलाई जिलौजिलौ गरयो । ज्ञानी भई चूपचाप बस्यो । तर राति खाना खाने बेला जेठा मामाको अगाडि भागको थाल रोजेर रुन थाल्यो । आमाले जति सम्झाए पनि मानेन । आखिरमा जेठा मामाले आफ्नो भाग शन्तेलाई दिनुपरयो ।
एकान्तमा जेठा मामाले आमालाई भने, ‘बहिनी, भानिजलाई नैतिकता सिकाएको छैनौ ?’
– सिकाउँछु तर मान्दै मान्दैन दाजु !
– अलिक राम्ररी सम्झाउन ।
‘हुन्छ दाजु !’ आज आमालाई लाजमर्दाे भो ।
सबै परिवारले सम्झाए शन्तेलाई तर उसको बानी सुध्रेन । आखिर एकदिन आमाले एउटा उपाय सोचिन । बुबाको थालभरि भात लगाएर तिहुन हाल्न थालिन् ।
सधैंझै आज पनि शन्तेले बुबाको भाग तानेर खान बस्यो । एकगाँस खाएर अर्काे गास मुछौं भन्दा थालमा कालो लोहोरो देखेर तर्सियो । त्यसपछि जुरुक्क उठ्यो र पेटीमा ठुस्किदै बस्यो । कसैले केही भनेनन् ।
भोलिपल्ट पनि आमाले त्यसै गरिन् ।
पर्सिपल्टबाट सबैभन्दा थोरै भात रोजेर खान बस्यो । आमाले बुबाको ठूलो भाग खान कर गरिन् तर शन्तेले मानेन ।
त्यो दिनदेखि शन्ते आफ्नै भाग रमाउँदै खाएर स्कुल जान थाल्यो र स्कुलमा भाग रोज्नु हुँदैन भन्दै साथीहरूलाई पनि सम्झाउन थाल्यो ।
प्रकाशित: २१ असार २०७७ ०७:१९ आइतबार