देवेन्द्रप्रसाद उप्रेती
‘मामु, हामी किन बाहिर नगएको ? कति घरभित्रै बस्नु ? म त जान्छु बाहिर साथीसँग खेल्न ।’
दिव्याको प्रश्नले मामु एकछिन ट्वाल्ल पर्नुभयो । ‘के भयो मामु तपाईंलाई ?’ छोरीले कराउँदा उहाँ झस्किनुभयो र भन्नुभयो, ‘किन छोरी, हामी घरभित्र खेलिरहेका त छौं नि । आऊ तिमीलाई म पुतली खेल खेलाउँछु । खाना बनाउन सिकाउँछु ।’
एकछिन मामुले भाँडाकुटी जम्मा पार्नुभयो । गुडियालाई लगाउने कपडा र सजाउने सामान पनि तयार पार्नुभयो । दिव्या हेर्दै थिइन् । एकछिन त उनी बोलिनन् । केहीबेरपछि उनले फेरि भनिन्, ‘यो त सधैं खेलिरहेकै छ नि । नयाँ खेल खेलौं न ।’
‘अब के गर्ने होला ? ए बाबा, भन्नुस् न छोरीलाई कुन खेल खेलाउने ? म खाना बनाउनतिर लाग्छु ।’
ल्यापटप चलाइरहनुभएको बाबा एकछिन ट्वाल्ल पर्नुभयो । उहाँले भन्नुभयो, ‘आऊ छोरी एकछिन ल्यापटपमा गेम खेल ।’
छोरी खुसी भएर आइन् । मनपर्ने गेम निकालेर खेल्न थालिन् । कुकरमा छिसछिस आवाज आउँदै थियो । मामु भान्साबाट बाहिर निस्कँदा छोरी गेम खेल्दै थिइन् । उहाँले भन्नुभयो, ‘छोरी, सधैं मोबाइल र ल्यापटपमा गेम खेल्नुहुन्न । आँखा खत्तम हुन्छ । छोडिदेऊ गेम खेल्न ।’
दिव्याले एकछिन हतारहतार गेम बन्द गरेजस्तो गरिन् । मामु भान्सामा भित्र पसेपछि फेरि गेम सुरु भयो । ‘छोरी अब त अति भयो । गेम खेल्न छोडिदेऊ । आऊ म तिमीलाई बाहिर कौसीमा खेलाउँछु’, बाबाले भन्नुभयो । छोरीले भनिन्, ‘कुन खेल खेल्ने बाबा ?’‘लुकामारी खेल्ने, हुन्न ? अब म लुक्छु है त ।’
बाबा ढोकाको कुनामा लुक्नुभयो । छोरीले कौसीमा सबैतिर हेरिन् । उनले बाबालाई कतै पनि देखिनन् । बाबाले ‘कुकु’ भन्नुभयो । छोरी आवाज आएतिर दौडेर आइन् । ‘मैले बाबालाई देखें’ भन्दै च्याप्प समाइन् । ‘अब छोरीको पालो’, बाबाले भन्नुभयो ।
छोरी लुक्न गइन् । बाबाले आँखा चिम्म गर्नुभएको थियो । एकछिनपछि बाबाले आँखा खोलेर हेर्नुभयो । छोरी लुकिसकेकी थिइन् ।
बाबाले कौसीका कुनाकाप्चा सबैतिर हेर्नुभयो, कतै देख्नुभएन । गमलामा फूलहरू फुलेका थिए । लसुन र प्याजका बिरुवा पनि हुर्कंदै थिए । चैतको महिना, सिरसिर हावा चल्दै थियो । घामले मधुरो मुस्कान दिएको थियो ।
कौसीमा कतै पनि छोरीलाई नदेखेपछि बाबा घरभित्र पस्नुभयो । उहाँले भन्नुभयो, ‘छोरी, तिमी कहाँ छ्यौ ?’ छोरी बोल्दै बोलिनन् । बाहिर ‘कुकु’ भनेको आवाज आयो । बाबा बाहिर जानुभयो । त्यहाँ पनि छोरी कतै देखिइनन् । उहाँ पूजाकोठामा उक्लनुभयो । छोरी दिव्या त त्यहाँ कुनामा लुकेर बसेकी रहिछन् । हाँस्दै बाहिर निस्किइन् । उनले भनिन्, ‘बाबालाई मैले उल्लू बनाएँ ।’ फेरि बाबा र छोरी कौसीतिरै लागे ।
अचानक गेट खोलेको आवाज आयो । छोरीले माथिबाट तल गेटमा हेरिन् । आफ्नै साथी देखेपछि उनी भरयाङबाट तल झरिन् । बाबाले तल हेर्दा छोरीको साथीसँग भेट भइसकेको थियो । समान उमेरकी साथीलाई भेट्न पाउँदा उनी मक्ख थिइन् । निकै दिन भयो साथीसँग भेट नभएको । उनी साथीसँग माथि आइन् । दुवैले आफ्ना कथा सुनाउन थाले । बाबा केही बोल्नुभएन । उनीहरूको गफ मात्र सुनिरहनुभयो ।
आधा घण्टासम्म दुई साथीलाई खेलाउनै परेन । उनीहरूले आफ्नै कुरा गरे । आफ्नै खेल खेले । बाबा हेरेर बसिरहनुभयो ।
एकैछिनमा फेरि गेट खोलेको आवाज आयो । तल हेर्दा दिव्याकी साथीको बाबा आउनुभएको रहेछ । बाबा आएपछि उनी लुक्न खोजिन् । बाबाले जबरजस्ती लिएर जान लाग्नुभयो । उहाँले भन्नुभयो, ‘थाहा नै नदिई छोरी भागिछन् । खोज्दै हिँड्दा यहाँ पो आएकी रहिछन् । कोरोनाको जोखिम भएको बेला बालबालिकालाई थाम्नै समस्या ।’ उनी रुँदै घरतर्फ लागिन्, दिव्याले निन्याउरो अनुहार लगाएर हात हल्लाइरहिन् ।
प्रकाशित: १९ असार २०७७ ०८:०६ शुक्रबार