९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

बन्दाबन्दी मौसम

उद्धवप्रसाद प्याकुरेल

 बालकथा

उद्धवप्रसाद प्याकुरेल

‘ओहो, तिमीलाई बाहिरतिर पो देख्दै छु त ?’ भिडियो च्याटमा कुरा गर्दै रश्मिले रविलाई भनिन् ।

‘हो म बाहिर छु । यो कस्तो बाहिर हो तिमी पत्ता लगाउन सक्छ्यौं ?’ रविले भने ।

‘अलि घुमाएर देखाऊ त । एए  यो त घरको छत पो रहेछ ।’ रश्मिले निकै नियालेर हेरिन् ।

‘हो यो घरको छत हो । यो त घरबाहिर हैन नि । छतमा बसेर देखेसम्म सबैतिर हेर्ने गर्छु । छतमा होस परयाएर खेल्ने गर्छु । छतमै बसेर कथा पढ्छु, कविता पढ्छु चित्र बनाउँछु । अँ तिमी त छतमा पनि निस्कने गरेको छैन र ?’ रविले भने ।

‘उम्, छतमै निस्कनु हुन्न भनेको त कहाँँ हो र मैले ? हाम्रो घरको त छानो दुईपाखे छ । छत नै छैन त कहाँँ निस्कूँ ? ल, हेर त, यो कहाँ हा ?’ रश्मिले मोवाइल घुमाएर देखाइदिइन् ।

‘अँ, तिमी घरको आँगनमा छौं ।’ रविले भिडियोमा नियालेर हेर्दै भने ।

‘हो, म घरको आँगनमा छु । बेलाबेलामा घरको आँगनमा चाहिँ निस्कन्छु । आँगनमै बसेर तिमीले जस्तै बाहिर डाँडाकाँडा, वनजंगल र खेतबारीको मनोरम हरियाली दृष्य हेर्छु, खेल्छु, पढ्छु र साबुनपानीले हात धोइहाल्छु । फेरि गाउँमा त शहरमा जस्तो भीडभाड पनि छैन ।’ रश्मिले टाउको र एउटा हात हल्लाउँदै भनिन् ।

‘अँ हेर न रश्मि, तिमी त गाउँ गइहाल्यौ । मलाई त हिजोआज कस्तो अनौठो लागिरहेको छ । बन्दाबन्दी भएको केही दिनदेखि धूलोधूवाँ पनि छैन । नमीठो गन्ध पनि छैन । डाँडाकाँडा बस्तीहरू सबैतिर छ्याङ्ङ देखिएको छ । सडक पनि कति सुनसान र सफा देखिन्छ । होहल्ला पनि छैन । आनन्दै आनन्द पो छ त । यस्तो कसरी भयो होला है रश्मि ?’ रविले अचम्म मान्दै भने ।

‘अँ तिमीलाई थाहा छ, अहिले गाडी सबै बन्द छन् । त्यसैले गाडीबाट निस्कने धूवाँहावामा मिसिन पाउँदैन । अनि गाडी नचलेपछि धूलो पनि उड्न पाउँदैन । कलकारखाना सबै बन्द छन् । त्यहाँको धूलोधूवाँ पनि बन्द भए । त्यसैले मौसम पनि सफा भएको हुनुपर्छ । रवि तिमीले भनेको सुन्दा त शहरको सफा वातावरण हेर्न कत्तिखेर आइहालौं जस्तो पो भयो मलाई त । तर केही छैन, यो गाउँघर त बन्दाबन्दी भए पनि र सफा मौसम नभए पनि सफा मौसम । सदाबहार । अँ, अर्काे कुरा गाउँको घरमा लामो समय बस्न पाउँदा मैले पनि धेरै कुरा पो सिक्न पाएको छु । गाउँमा त शहरको जस्तो भीडभाड पनि छैन । आमाबुबासँग खेतबारीमा गएको छु । खेती गर्ने तरीका सिकेको छु । हजुरबाहजुरआमासँग बस्यो पुरानापुराना सामाजिक र संस्कृतिका कुरा सुन्न पाएको छु । अँ मैले सिकेका सबै कुरा नोट गरेको छु । शहर आएपछि तिमीलाई सबै सुनाउँछु ।’

‘अवश्य, तिमीले सिकेका कुराले म पनि लाभ लिने छु । अँ, रश्मि मलाई त एउटा नयाँ काम कसरी गर्न सकिएला भनेर खुलदुली लागिरहेको छ ?’

‘के कुरा हो भन त रवि ?

‘हेर न रश्मि, यो कोरोना र बन्दाबन्दीले नयाँ पाठ सिकायो । अब यो सफा मौसम बन्दाबन्दीपछि पनि कसरी कायम राख्न राख्न सकिएला भनेर चिन्तन गर्न पो लागेको छु मैले त ।’

रश्मिले हौसला दिँदै भनिन्, ‘तिमीले अति राम्रो कुरा गरयौ रवि । सपना देख्नुपर्छ एकदिन अवश्य पूरा हुन्छ । उपयोगी कामको लागि म सधैं तिम्रो साथमा हुनेछु । अब वातावरण सुधार्ने अभिभारा हामी बालबालिकामा नै छ नि हैन र ? अँ यो कोरोना महामारी हटाएर बन्दाबन्दीको सुन्दर मौसम भने कायम राख्नुपर्छ । अँ कसरी यो सफा मौसम कायम राख्न सकिन्छ ? म पनि योजना बनाउँछु । तिमी पनि योजना बनाउँदै गर है रवि ।’  

प्रकाशित: १६ असार २०७७ ०६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App