सुयोगमानसिंह बस्न्यात
कक्षा–४,
नव अरुणिमा सेकेण्डरी स्कूल, आरुबारी, काठमाडौं।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा गाडीबाट सफारी गराउने रे। कसैले गाडी सफारी गर्नु राम्रो हो भनेका छन्। कसैले पैसा आउँछ भन्दैमा गाडीबाट सफारी गर्न दिनु हुन्न। त्यहाँको वातावरणमा असर पर्छ भनेको सुनेको छु। शिवपुरीमा गाडीबाट सफारी गर्न दिनु हुन्न भन्ने कुरामा म एउटा उदाहरण दिन्छु। गएको दशैंपछि बाबा, उहाँका साथीहरू मक्षिन्द्र काका र ध्रुव काकाहरू खप्तड राष्ट्रिय निकुञ्ज घुम्न जानुभएको थियो। फर्किदा उहाँहरू बर्दिया राष्ट्रिय निकुञ्ज पनि घुम्नुभएछ। त्यहाँ पैदल वा जीपबाट सफारी गर्ने सुविधा रहेछ।
नेपालीलाई प्रतिव्यक्ति एक सय रुपैयाँ प्रवेश शुल्क लाग्ने रहेछ। जीपमा जाँदा २ हजार पाँच सय शुल्क र भाडाबापत जीपवालालाई १० हजार जति रुपैयाँ बुझाउनुपर्ने रहेछ। बाबाहरू वातावरणमा असर पनि नपर्ने, व्यायाम पनि हुने र पैसा पनि जोगिने भनेर गाइड महेन्द्र चौधरीसित पैदल सफारी गर्नुभएछ। बर्दिया राष्ट्रिय निकुञ्ज बाघ हेर्नका लागि प्रसिद्ध रहेछ। गाइडले उहाँहरूलाई बाघ भेटिन्छ कि भनेर किंगफिसर लानुभएछ। त्यहाँ नदेखेपछि बाघ मचान लानु भएछ। त्यहाँ पनि बाघको अत्तोपत्तो नभएपछि तिनकुने भन्ने ठाँउमा पुग्नु भएछ।
जहाँ विदेशीसहित धेरै मान्छे बाघको पर्खाइमा रहेछन्। त्यहाँ डेढ घण्टा चाइँचुइँ नगरी बस्दा पनि बाघको दर्शन नपाएपछि फर्कनु भएछ। बाघ नदेखे पनि निकुञ्जभित्र ठाउँठाउँमा यत्रतत्र फालिएको चुरोटको ठुट्टा, बट्टा, च्यातिएको पोलिथिन झोला, चकलेट, चाउचाउ र लेजका खोल, पानी खाएपछि फालिएका बोत्तल, एकदुई वटा बँदेल, दुईचार वटा मृग र केही बाँदरहरू देख्न पाउनु भएछ। फर्किने क्रममा निकुञ्जको कार्यालय आउनुभन्दा एकदुई किमी पर बीच बाटैमा सफारीको जीपले एउटा किल्चेर मारेकोे अजिंगरको आलो बच्चा पनि देख्नु भएछ। जुन बाबाले मोबाइलमा खिचेर ल्याएको फोटो देखाउनुभयो। त्यो देखेर मलाई सारै दुःख लाग्यो।
त्यसैले शिवपुरी होस् वा अन्य यस्ता ठाँउहरूमा गाडीबाट सफारी गराउने काम राम्रो होइन। गाडीको आवाज र त्यसबाट निस्कने धुवाँधुलोले शान्त वातावरण बिग्रिन्छ। त्यसैले यस्तो ठाउँमा सिमेन्टका भवन बनाउने, केवलकार राख्ने, होटल खोल्ने, गाडी सफारी जस्ता कार्य गर्न दिनु हुँदैन। प्रकृतिलाई प्राकृतिक रूपमा नै राख्नु राम्रो हुन्छ। सम्बन्धित निकाय तथा अधिकारीसम्म यो कुरा पुगोस्, जय नेपाल !
प्रकाशित: ३ फाल्गुन २०७६ ०२:५४ शनिबार