वरिष्ठ गायक, गीति–सर्जक, कथाकार एवं कुशल व्यवस्थापक जगतमर्दन थापा ८३ औं वर्ष पार गर्ने क्रममा छन्। काठमाडौंको लाजिम्पाटमा बस्दै आएका उनी १९९३ माघ २७ गते सप्तरीको बरमझियामा जन्मिएका हुन्। चन्द्रनहर निर्माणका क्रममा मुख्य इन्जिनियर रहेका पिता नरमर्दन थापा सपरिवार बरमझियामा रहँदै आएकाले उनले कक्षा ७ सम्म उतै पढे। त्यसउपरान्त उनका तीतामीठा भोगाइको साक्षी काठमाडौं बन्दै आएको छ।
जगतमर्दनले बाबुको पदचिह्न पछ्याएनन्, बरु साहित्य सिर्जना र संगीत साधनामा तल्लीन भएर त्यसैमा आफूलाई अब्बल साबित गरे। उनले लामो जागिरे जीवनमा असल आचरण र इमानदार छविलाई डगमगाउन दिएनन्। तिनै जगतमर्दनलाई ‘क्रियाशील जीवनयात्रा’ पुस्तक पढेर चिन्न सकिन्छ। जीवन यात्रामा सँगालिएका अनुभव र अनुभूतिलाई समेटेर उनले भर्खरै पाठकमाझ ल्याएको आत्मकथा कर्मयोगी भई बाँच्न चाहनेका लागि प्रेरणा श्रोत बनेको छ। उनले पुस्तकको आरम्भमै पिता र पुर्खाको सम्मान र स्मरण गरेका छन्। इमानदारीपूर्वक कर्तव्य निर्वाह गरिरहँदा पनि चाकरी–चाप्लुसी गर्न नजान्दा राणाहरूबाट आफ्ना पिता कसरी पेलाइमा परेका थिए भन्ने सन्दर्भ पनि उनले उप्काएका छन्।
जगतमर्दन आत्मप्रशंसामा त उत्रिएका छैनन् नै, अरूको आलोचना गरेर आफूलाई अब्बल देखाउने लेखकीय महामारीबाट पनि बचेका छन्।
तन्नेरी वय गुजार्दै गर्दा उनले देखेभोगेको नेपाली गीत–संगीतको आरोह–अवरोह, साहित्यिक विकासको क्रम–उपक्रम, अनेकन् राजनीतिक–प्रशासनिक घटना–परिघटना, काठमाडौंको तत्कालीन परिवेश बुझाउँछ ‘कर्मशील जीवनयात्रा’ले।
पछिल्लो समय आत्मकथा लेख्नेहरू प्रशस्तै भेटिन्छन्। तर, सबै आत्मकथामा इमानदारी पाइनेमा विश्वस्त हुन मुस्किल पर्छ। कुनै मानिसको जीवन आफैंमा इतिहासको स्रोत हो र त्यही जीवनलाई आत्मकथामा उतार्दा सत्यतथ्य भत्काइयो भने त्योभन्दो ठूलो छलकपट केही हुन्न। तर, ‘कर्मशील जीवनयात्रा’ पढ्दा लाग्छ– जगतमर्दन भए नभएका सन्दर्भ जोडेर आफूलाई हलुका बनाउन चाहन्नन्। त्यसैले आत्मकथा लेखनमा पालन गर्नुपर्ने सत्यतथ्य प्रस्तुतिमा उनी चुकेका छैनन्। देखेभोगेका विषयलाई हचुवामा उतार्नेभन्दा पनि निर्धक्क भएर जीवनको सग्लो प्रतिबिम्ब उतार्न उनले मिहिनेत गरेका छन्।
उनले त्यसमा संघर्ष र सफलता मात्र पस्केका छैनन्, पीडा, व्यथा, वेदना र दुर्भाग्यलाई पनि घोलिदिएका छन्। ४१ शीर्षकमा तयार पारिएको पुस्तकमा उनका बाल्यकालीन क्षणहरू सर्लक्कै उतारिएका छन्। त्यो पढ्दै गर्दा बरमझियाको तत्कालीन परिवेश र मधेसी जनजीवनका दृश्य पाठकका दिमागमा सल्बलाउन थाल्छन्। २००८ सालमा डोकामा बसेर काठमाडौं आएको, जुद्धोदय पब्लिक स्कुलमा कक्षा ८ मा भर्ना हुन राम्रैसँग पापड पेल्नुपरेको घटना उनले लेखेक छन्।
त्रिचन्द्र कलेजमा उच्च शिक्षा हासिल गर्दाताका महाकवि लक्ष्मीप्रसाद देवकोटासँग ट्युसन पढ्ने रहर पूरा हुन नसक्दा उनीबाट प्रकटित गुनासोमय अभिव्यक्ति रोचक लाग्छ। पढाइबाट बचेको समय महाराजगन्जस्थित विश्वबन्धु पुस्तकालयमा बित्ने गरेको र त्यहाँ हुने विविध रचनात्मक गतिविधिकै कारण साहित्य र संगीततर्फ आफू आकृष्ट भएको प्रसंगले पनि पाठकको ध्यान किताबबाट अन्यत्र मोडिन दिन्न। सोही पुस्तकालयबाट जनरल सेक्रेटरीका रूपमा काम थालेसँगै अधिकांश समय पुस्तकसँगै बित्ने गरेको र सोही परिस्थितिमा जीवनलाई सस्तो बनाउनुहुँदैन भन्ने आत्मज्ञान प्राप्त भएको विषयलाई पनि उत्प्रेरणा जगाउने गरी उनेका छन्।
जागिरका क्रममा सञ्चयकोष, उद्योग मन्त्रालय, कृषि चुन उद्योग, अर्थ मन्त्रालय, मन्त्रिपरिषद्को कार्यालयमा भएका पदस्थापन तथा सरुवाबारे पनि उनी मज्जैले खुलेका छन्। गायनप्रतिको रुचिले रेडियो नेपालको बाक्लो आउजाउ, वरिष्ठ संगीतसाधकहरूसँगको उठबस, गीत रेकर्डिङका सिलसिलामा दुई पटकको मुम्बई यात्रा, शुभचिन्तकहरूको साथसहयोग, विश्वबन्धु पुस्तकालयको जग्गा प्राप्ति र भवन निर्माणका सिलसिलामा अहोरात्र खटाइ, साथीसंगतका कारण रक्सी खान थालेको र कसम खाएर छाडेको प्रसंग, परिस्थितिसँग जुधेर जीवनलाई धूमपानमुक्त बनाएको सन्दर्भ प्रेरणादायी छन्। साथै विवाहको अविस्मरणीय प्रसंग, पहिलो सन्तान जन्मँदाको असीम हर्ष, आफूमा गायन सोख र मञ्च उत्रिँदा हुने हिचकिचाहटबीच सिर्जित द्वन्द्वले निम्तिने मनोदशा, अवकाशपछि पनि सक्रिय जीवनलगायत विषयलाई कलात्मक ढंगले राखिएकाले ‘कर्मशील जीवनयात्रा’ पढिरहेकाहरूलाई समय बर्बादीको महसुुस हुँदैन।
जगतमर्दनको सिलसिलेवार प्रस्तुतिमाथि साहित्यकार तथा सञ्चारकर्मी विवश वस्तीको कुशल सम्पादनले कृति अझ गहकिलो बनेको छ। व्याकरणीय त्रुटिबाट पुस्तकलाई बचाउन सक्नु ठूलो सफलता हो। आत्मकथा पढिसक्दा लाग्छ–जगतमर्दन आत्मप्रशंसामा त उत्रिएका छैनन् नै, अरूको आलोचना गरेर आफूलाई अब्बल देखाउने लेखकीय महामारीबाट पनि बचेका छन्। दुई सय ५० पृष्ठमा विभक्त, चार सय रूपैयाँ मूल्य तोकिएको पुस्तकका प्रकाशक उनकै पुत्र मोहितमर्दन हुन्।
प्रकाशित: २५ जेष्ठ २०७६ ०४:२८ शनिबार