१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

दुःखका पहाड चढेर

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेका छन्, ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल।’  व्याकुल माइला पनि जीवनमा धेरै आँधीबेहेरीसँग जुझ्दै राष्ट्रिय व्यक्तित्व बन्न पुगे। सामान्य किसान परिवारमा जन्मे/हुर्केका उनको जीवकथा प्रेरणादायी  छ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा पिता मानबहादुर र माता धनलक्ष्मीको कोखबाट जन्मेका हुन् उनी। उनकी एक दिदी रुपमाया थिइन्। तीन दाजुभाइमध्ये माइला हुन् उनी। जेठो नरेश र कान्छो दिलिप गाउँमै छन्। उनीचाहिँ अचेल ललितपुरको तिखिदेवलमा डेराको जिन्दगी जिउँदै छन्।  

आम गाउँले नेपालीको जस्तै बित्यो उनको बाल्यकाल पनि। घाँस, दाउरा काट्नु, भारी बोक्नु, हलो जोत्नु, बाख्रा चराउनु, मेलापात गर्नु सामान्य थियो उनको जीवनमा। घर नजिकैको दूधकोसीमा पौडी खेलेर, माछा मारेर बिताएको बाल्यकाल सम्झँदा भने रोमाञ्चित बन्छन् उनी। 

घन्टौं हिँडेर स्कूल पुग्नु, फेरि घन्टौं हिँडेर घर फर्कनु। कम्ता सास्ती हुन्थेन। तैपनि पढेर असल मान्छे बन्नु पर्छ भन्ने आमाबुबाको चाहना पूरा गर्ने बाटोमा हिँडिरहे उनी । अनि ०४६ सालमा भगवती मावि, मानेभञ्ज्याङबाट एसएलसी परिक्षा दिए। 

परिक्षापछि केही समय जोर्तीघाट सुनकोसी र दूधकोसीको दोभान०मा डुंगा तार्ने काम पनि गरे। ‘त्यतिबेला भारी तारेको दुई रुपैयाँ र रित्तो मान्छेको एक रुपैयाँ लिन्थ्यौं’, उनले सुनाए, ‘हामी घटुवारेको समूहमा ५ जना हुन्थ्यौं। कमाएको पैसा बाँडेर लिन्थ्यौं।’

एसएलसीको परिक्षाफल आएपछि क्याम्पस पढ्न उनी दाजु गणेश राई (काकाका छोरा एवं हालका पत्रकार) र भाइ दिलिपसँग काठमाडौं आए। ‘हामी तीन भाइले फरकफरक विषय पढ्नु पर्छ भन्नुभयो गणेश दाइले’, व्याकुल सम्झन्छन्, ‘आफूले आर्टस पढ्नु भयो। दिलिपले कर्मस पढ्यो। मैले चाहिँ ल पढें।’ 

प्रदर्शनीमार्गको नेपाल ल क्याम्पसमा दुई महिना पढेपछि जाडो बिदा भयो। त्यहीबेला भान्दाजू अर्जुनले सोधे, ‘पोखरा घुम्न जाने रु’ व्याकुल र दिलिप तयार भैहाल्ने। ‘पोखराबाट २५ किलो विदेशीको भारी बोकेर माछापुच्छ्रे बेस क्याम्प गयौं’, उनी अनायासै भरिया बने, ‘पछि शेर्पाका रूपमा समेत केही पदमार्गमा डुलियो।’ 
काठमाडौ आउनुअघि नै उनी समाज सेवा र राजनीतिमा सक्रिय थिए। समाजसेवा युवा समूह खोलेर गाउँ विकासमा क्रियाशील थिए। काठमाडौं आएपछि उनले राजनीति चटक्कै छाडिदिए। कविता लेख्न थाले। गाउँको सम्झनाले भावविभोर बनाउँथ्यो। उनी त्यसलाई कवितामा उतार्थे। र, आफैं पढेर घन्टौं आँसु झार्थे। 

बिस्तारै पत्रपत्रिकामा उनका रचना छापिन थाले। उनी गीत, गजल र कविता लेखनमा पारंगत बन्दै गए। वाम्वुले राई संस्कृतिमाथि पनि कलम चलाउन थाले। कृतिका रूपमा उनका दुईटा संग्रह प्रकाशित छन्–नेपाली गीत संग्रह–२०५९ र मातृभाषाको बीउ अक्षर–२०७४ । बीउ अक्षरमा मुक्तक र कविता छन्। 

त्यसबाहेक गीती एलबमका रूपमा उत्साह, खोजी हेर देशको माटो, छालभित्रको प्रतिबिम्ब, आफ्नै भाव आफ्नै परिवेश सार्वजनिक भैसकेका छन्। कविता र गीत संग्रहको पाण्डुलिपि तयारी अवस्थामा छन्।  

संस्कृतिविद् सत्यमोहन जोशी संयोजकत्वको राष्ट्रगान छनौट कार्यदलले १४ मंसिर ०६३ मा उनको गीत छनौट गर्नु अघिसम्म उनको चिनारी एउटा वकिल र कविका रूपमा थियो। उनी ०५५ सालतिरै वकिल बनेका हुन्। 

उनको परिवार राजनीतिमा संलग्न थियो। काङ्ग्रेस नेता बलबहादुर राई उनका आदर्श व्यक्ति। अलिक बुझ्ने भएपछि उनले पनि राजनीतिमै होमिने निर्णय गरे। ‘मन्त्रीसम्म बन्छु भन्ने चाहना थियो’, उनी खुल्छन्, ‘पब्लिक फिगर बन्नु पर्छ भन्ने लाग्थ्यो। तर, ३५ वर्ष नपुग्दै राष्ट्रगानका लेखक बनियो।’ 

राष्ट्रगानका लेखक बनेपछि उनी सार्वजनिक व्यक्ति बने। जीवनको बाटो मोडियो। यसरी समयले उनलाई आम नेपालीको मनमा एकता, राष्ट्रियता र सद्भावको भावना जगाउने अगुवाको रूपमा स्थापित गरायो। तर, उनले आफ्नो धरातल बिर्सेका छैनन्।   

ऋण मोचन अभियान 
राष्ट्रगानका लेखक नागरिकको आस्था केन्द्र हो। उनलाई बचाउनु राज्यको दायित्व हो। हामी नागरिकको पनि आफ्नो कर्तव्य हुन्छ। सावाँ र व्याज गरी १५ लाख रुपैयाँ ऋण तिर्न नसक्नुको पीडा छ उनमा। एक साँझ मैले व्याकुल दाइको व्यथा सुनाएँ व्यवसायी कमलदेव मल्ललाई। सुन्दासुन्दै उनका आँखा रसाए। 
‘राष्ट्रगानको लेखकलाई हामीले मानसिक तनावबाट बाहिर निकाल्नु पर्छ’, उनले भावुक स्वरमा भने, ‘हामी ऋण मोचन अभियान चलाएर उनको १५ लाख रुपैयाँ तिर्नेछौं।’ 
उनको प्रस्ताव स्वागतयोग्य छ। शुक्रबार व्याकुल दाइसँग औपचारिक चिनापर्ची भएपछि झन् हौसिएका छन् मल्ल। धेरैभन्दा धेरै नागरिकको सहभागितामा चन्दा अभियान सञ्चालन गर्ने उनको प्रयास छ। आउनुस् हामी त्यसमा हातेमालो गरौं।

 

प्रकाशित: १६ चैत्र २०७५ ०४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App