११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्य

कागेश्वरीमा अवैध बालुवा उत्खनन्

सुन्दरीजल खोलाबाट निकालिएको बालुवा। तस्बिर : श्याम राई

कागेश्वरी मनोहरा नगरपालिका वडा न. १, गागलफेदीका रहेका खोलाबाट अवैधरूपमा बालुवा उत्खनन् हुने गरेको पाइएको छ । पहुँचवालाको एक समूहले राति बालुवा उत्खनन् गरेर बिक्री वितरण गरिरहेका छन्।

नगरपालिका वडा नं. १ का वडाध्यक्ष मुकुन्दप्रसाद गजुरेलका अनुसार स्थानीय तहको अनुमतिबिनै बालुवा निकालेर बिक्री वितरण भइरहेको छ। ‘हाम्रो गाउँ बालुवाको खानी जस्तै हो, जता पनि बालुवैबालुवा छ,’ उनले भने, ‘पछिल्लो समयमा पनि धमाधम बालुवा उत्खनन् गरेर बिक्री वितरण भइरहेको पाइएको छ।’

बालुवा ओसारपोसार गर्दा नगरपालिकामा रसिद काट्नुपर्छ। तर, केही व्यक्तिले रातको समयमा रसिद नकाटी जथाभावी बालुवा निकासी गरिरहेको उनले बताए।

जथाभावी बालुवा निकासी हुन थालेपछि स्थानीयबासी र वडाको पहलबाट प्रहरी पनि परिचालन गरेको छ। भदौ २६ गते नागरिककर्मी उक्त स्थानमा पुग्दा पनि प्रहरीको उपस्थिति देखिन्थ्यो। ‘अवैधरूपमा बालुवा चोरी भएपछि प्रहरीलाई खबर गरेका हौं,’ वडाध्यक्ष गजुरेलले भने, ‘यसलाई रोक्न वडा सशक्त रूपमा उत्रिएको छ।’

बालुवा चोरी बढेसँगै वडाले गागलफेदी आसपासमा प्रहरी चौकी स्थापनाकै लागि पहल गरेको पनि उनले बताए। ‘भदौभित्रै प्रहरी चौकी स्थापना गर्न लागेका छौं,’ उनले भने, ‘यसपछि भने अवैध बालुवा निकासी रोकिने अनुमान छ।’

त्यसपछि पनि अवैधरूपमा बालुवा निकासी नरोकिएमा नगरपालिकासँग सहकार्य गरेर थप क्रियाकलाप गर्ने उनले बताए।

बालुवा उत्खनन् गर्दै निकासी गर्न थाले पनि गाउँ नै जोखिममा देखिएको छ । गागलफेदी आसपासको क्षेत्र बस्ती बस्ने क्रममा छ। धमाधम घरहरू बन्ने क्रममा रहेपछि गाउँलाई नै जोखिम हुनेगरी केही व्यक्तिले बालुवा निकासी गरिरहेको बुझिएको छ।

स्थानीयका अनुसार रातिको समयमा ट्रक तथा टिपरले बालुवा ओसारपसार गर्छन्। दैनिक दर्जन हाराहरी गाडीले बालुवा ओसारपसार गरेको स्थानीयको दाबी छ।

स्थानीयका अनुसार अवैधरूपमा बालुवा निकाल्दा गाउँ नै जोखिममा पर्ने हुँदा स्थानीय तहले चाँडो भन्दा चाँडो बालुवा चोरी धन्धालाई रोक्नुपर्ने बताए।

‘यसैगरी बालुवा निकालेर बिक्री वितरण गर्ने हो भने दुई–चार महिनाभित्रैमा गाउँमा जोखिम देखिन थाल्छ,’ गागलफेदीका कृष्ण बन्जराले भने, ‘सरकारले यसलाई चाँडो रोकेर गाउँलाई जोगाउनुपर्छ।’ बालुवा चोरी गर्ने समूह पत्ता लगाएर कारवाही गर्नुपर्ने स्थानीयको माग छ।

सुन्दरीजलमा पनि उस्तै
गोकर्णेश्वर नगरपालिका वडा न. १ सुन्दरीजलमा पनि गागलफेदीको जस्तैगरी बालुवा चोरी हुने गरेको छ। स्थानीय केही व्यक्तिको मिलेमतोमा रातको समयमा बालुवा चोरी भइरहेको एक स्थानीयले बताए। यसअघि पनि सुन्दरीजलमा बालुवा चोरी अत्याधिक भएपछि नगरपालिकाले रोक लगाएको वडाध्यक्ष राम मानन्धरले बताए।

‘यहाँ बेलाबेलामा बालुवा चोरी भइरहने समस्या छ,’ गोकर्णेश्वर नपा वडा १ का वडाध्यक्ष मानन्धरले भने, ‘चार महिनाअघि पनि यसैगरी चोरी भएको गुनासो आएपछि नगरपालिकाले रोक लगाएको थियो।’ नगरपालिकाले रोक लगाए पनि बालुवा निकालेर निकासी गर्ने कार्य भने नरोकिएको स्थानीय बताउँछन्। रातको १०–११ बजेतिर बालुवा चोरी हुने गरेकाले नियान्त्रणमा कठिन भएको वडाध्यक्ष मानन्धरले बताए।
तर, नगरपालिकाले महानगरीय प्रहरी वृत्त बौद्धसँगको सहकार्यमा १५ दिनयता बालुवा चोरीमा संलग्न १० जनालाई भने समातेको छ। प्रहरी वृत्त बौद्धका अनुसार समाइएका व्यक्ति ज्यालादारी हुने र बालुवा निकासीमा संलग्न मूल मान्छे पत्ता नलाग्ने गरेको छ । ज्यालादारीलाई भने समाएर २÷३ दिनमै रिहा गरिँदै आएको वृत्तले जनाएको छ।

२६ गते मात्रै सुन्दरीजल नजिकैको बाग्मती खोलामा बालुवा चोरी गर्दै गर्दा मकवानपुरका ३७ वर्षीय विजय तामाङलाई प्रक्राउ गरेको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका निरीक्षक सई प्रेम लिम्बुले बताए।

‘लखेट्दै गर्दा उनी लडे, त्यही क्रममा पक्रन सफल भयौँ,’ लिम्बुले भने, ‘बालुवा चोरी नगर्ने सर्तमा ५ घण्टा थुनामा राखेर तामाङलाई छोड्यौं।’ प्रहरीले सामान्य कारवाहीबाटै चोरी गर्नेलाई छोडिदिँदा पनि बालुवा चोरी नरोकिएको बुझिएको छ।

‘अब १०/१५ दिनमात्रै हो त्यसपछि यस्तो चोरी निकासी हुँदैन,’ लिम्बुले भने, ‘वर्षातको सिजन भएकोले बाढीले खोलानालामा बालुवा ल्याउने गरेकाले चोरी भएको हो।’ वर्षात समाप्तसँगै बालुवा सकिने र चोरी नहुने अनुमान लिम्बुको छ।

तर, स्थानीय भने बालुवा चोरी तत्काल रोक्नुपर्ने बताउँछन्। ‘बालुवा निकाल्न ज्यालादारी मान्छे लगाएर मोटो रकम असुल्दै केही सीमित व्यक्तिले बालुवा बेचबिखन गरिरहेकाले यो कार्य तत्काल रोक्नुपर्छ,’ एक स्थानीयले भने।

प्रकाशित: २९ भाद्र २०७५ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App