यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः।।
जुन घरमा महिलाको सम्मान हुन्छ, त्यो घरमा दिव्यगुण, दिव्य भोग और उत्तम सन्तान हुन्छन्। जुन घरमा महिलाको सम्मान हुँदैन,उनीहरूका सबै कर्म निष्फल हुनेछन्। महिलाविनाको सृष्टि कल्पना गरौँ त? अनि सृष्टिमाथि नै हिंसाको कारण के?
एउटी वृद्ध महिलालाई ३–४ जना महिलाले गाडीमा राखेर अस्पताल लैजाँदै थिए। बाटोमा देख्ने जतिले सोधे–किन, कसरी चोट लागेछ बूढी आमालाई? तिनै महिलाले भने–यिनकै छोराले दाउराले टाउकोमा हानेर चोट लाग्यो, धेरै रगत पनि बगिसक्यो,आमा झण्डै बेहोस भएकी थिइन्।
अस्पताल पुर्याएर स्लाइन पानी,औषधि उपचारपछि आमालाई अलि ठीक भयो अनि सोधिन्– छोरा आएन? अरू महिला कराउन थाले–केको छोरा नि,त्यस्तो पनि छोरा हुन्छ? कुलंघार हो त्यो त। आफ्नै आमालाई झण्डै मारेको थियो।
बूढी आमाले भनिन्–त्यसो नभन, छोरो थियो र न मलाई चोट पुर्यायो, यो नभएको भए कसले गथ्र्याे र ! फेरि यसको बानी नै आवेशमा आउने छ,जानेर गरेको होइन। जे भए पनि मरेपछि दागबत्ती दिने र किरिया गर्ने यही हो। यसकै जन्मले मेरो गर्भ धन्य भएको छ,समाजको अगाडि इज्जत बचेको छ मेरो। उसलाई त केही भा’छैन होला नि है!
अश्रुमिश्रित आमाको बोली,भाव र प्रेमले दर्शाउँथ्यो–आमाको हृदय कानुन भन्दा माथि छ। सबै महिलाको प्रतिनिधि पात्र हुन् बूढी आमा। आज हामी महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहँदा समाजमा पुरुष प्रवृत्तिबाट महिलामाथि हुने हिंसा अनि महिलाको करुणा र स्वभावको कारण सधैँ पीडामा पर्ने अवस्थालाई आत्मसात गर्ने हो भने महिला हिंसा न्यूनीकरणमा पुरुषको भूमिका महरूवपूर्ण रहनेछ।
पुरुष प्रवृत्तिमा करुणा र ममता विकास भयो भने यो समाज सुन्दर, अनुशासित र प्रेमल हुनेछ। पुरुषलाई करुणावान बनाउने भूमिका फेरि महिलाकै रहन्छ किनकि करुणा र प्रेम पुरुष स्वभाव होइन। किनभने पुरुष कठोर,संघर्षशील,कसैसँग नडराउने र नहार्ने मर्द हुनुपर्छ भनेर महिलाले नै संस्कार दिएका हुन्। पुरुषलाई भावुक हुन र प्रेमल हुन सिकाएन हाम्रो संस्कार र परम्पराले।
अब भने संस्कार दिनु जरुरी छ यो पुस्ताले। महिलावादी स्वभावलाई यसमा पनि प्रश्न उठ्न सक्छ– पुरुषलाई करुणावान बनाउने जिम्मा किन लिने? किनकि उनीहरू हाम्रै आफ्नै हुन्,हाम्रै संस्कार, सभ्यता र व्यवहार उनीहरूले पालना गरिरहेका छन्। पुरुषले सबै भन्दा पहिलो संस्कार र व्यावहारिकता घरबाटनै सिकेका हुन्।
पुरुषलाई सभ्यता,महिलालाई शिक्षा
महात्मा गान्धीले एउटा भाषणमा उल्लेख गरेका थिए– समाजमा मदिरा घर र संन्यास आश्रम दुवै हुनुको कारण नै यही हो कि आश्रममा बसेर कुनै सरावीले मदिरा पिउन सक्दैन।
अनि महिलाले खुलेर आफ्ना पतिलाई मदिरा घर जानबाट रोक्न सक्दैनन् किनकि उनीहरूले शिक्षा पाएका छैनन् जुन आविष्कारलाई निर्भयका साथ बोल्न सकून्।
पुरुषलाई सभ्यता सिकाउने जिम्मेवारी महिलाको छ भने महिलालाई शिक्षाको अवसर दिने भूमिका पुरुषको रहन्छ। एउटी आमा,दिदी, भाउजू र छोरी शिक्षित हुँदा घरको सुव्यवस्था र अनुशासनमा अरू विकास हुनेछ। आत्मनिर्भरताको परिस्थितिबाट परस्पर निर्भरताको विकास हुन्छ।
समाजले पुरुषलाई भन्दा महिलालाई कमजोर प्राणीका रूपमा परिचित गराउने प्रयास गर्दै आइरहेको छ। मनोविज्ञान र प्राकृतिक स्वभावले बताउँछ– महिलाको माधुर्य, सहनशीलता र धैर्यलाई कमजोरीको संज्ञा दिइएको हो। पुरुषको शारीरिक ढाँचा र बनोट अनि मांसपेशीका आधारमा शक्तिशाली मान्न सकिन्छ तर सहनशक्ति कैयौँ गुणा बढी हुन्छ महिलासँग।
बुद्धि र विवेकको आधारमा पनि महिलाको शक्ति र क्षमतालाई नजर अन्दाज गर्न सकिन्न। त्यसैले महिलाले शिक्षा र अवसर पाउने हो भने निर्णय क्षमता, दक्षता, व्यवस्थापन, स्वतन्त्र एवं प्रेमपूर्ण समाज निर्माणमा ठूलो योगदान रहन सक्छ।
आज समाज र राष्ट्रमा हरेक क्षेत्रमा जे/जति कमी/कमजोरी र अपूर्णता महसुस भएको छ त्यसको एकमात्र कारण हो–महिला सहभागिताको अभाव। महिलालाई दासी, चरणमा झुक्ने, पुरुष भन्दा तलको मान्यता दिइएको बुझाइ छ तर यसको गहिराइ र गुणवत्ता हेर्ने हो भने पुरुष स्वभाव दासी बन्न, झुक्न र सहन गर्न सक्दैन।
त्यसैले महिला स्वभावले अस्तित्वको गुणवत्ता प्रष्ट्याएको हुन्छ। झुक्नु, चरण पर्नुको अर्थ हो अस्तित्वगतरूपमा स्वीकार र समर्पणको भावलाई प्रकट गर्न सक्नु। यसका लागि साहस चाहिन्छ र त्यो साहस महिलामा मात्र हुन्छ। त्यसैले महिला र पुरुषको मनोविज्ञान बुझ्नका लागि पनि समाजमा महिला पुरुष दुवैलाई बराबर शिक्षाको अवसर दिइनु जरुरी छ।
समृद्धिमा कति रूपान्तरण आयो?
मानिस प्रकृतिको उपज हो,मानिस महिला–पुरुष दुवैको संयुक्त गुण हो। मानसिक, शारीरिक र भावनात्मकरूपमा प्रत्येक मानिस एउटै हुन्छन् र सबैको लक्ष्य सुख, शान्ति प्राप्त गर्नु नै हो। लिंग जात, रंग, वर्णका आधारमा देखाइने भिन्नता र गरिने अलग–अलग व्यवहार समाजको विकाससँगै विकसित भएको एउटा प्रवृत्तिमात्र हो।
चेतना र बुद्धिका कारण मानिस प्राणीहरूमा सर्वोत्कृष्ट प्राणी हो। मानिस जन्मदेखि नै क्रूर र हिंसक भएर जन्मिँदैन। करुणा र प्रेम उसको जन्मजात गुण हो तर विकसित हुँदै गएको आजको समाजमा महिला भएकै कारणले गरिने भेदभाव र हिंसाका प्रकृति बढ्दै जानुले महिलाले आफ्ना हक/अधिकार माग्नुका साथै कानुनमा पनि सुरक्षित रहोस् भनेर आवाज उठाउँदै आउनुपरेको छ।
बर्सेनि महिला हिंसाविरुद्धको अभियान मनाउने गरे पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाका अवस्था भने शिक्षित र अशिक्षित, धनी र गरिब, इज्जतदार र सामान्य सबै वर्गका समाज र घरमा जस्ताको तस्तै छन्। कुनै रूपान्तरण पाइँदैन।
शारीरिक,मानसिक,आर्थिक, राजनीतिकलगायत् हिंसाका अनेकन् रूप समाजमा देखापर्ने गरेका छन्। समाजमा अभिशापका रूपमा रहेको परम्परागत हानिकारक अभ्यासले मुहार फेर्न सकेको छैन। महिलाले आफ्नो स्वाभिमानमा बाँच्न पाउने स्वतन्त्रता र अवसरलाई पनि निराशा र शंकामा परिणत गर्ने प्रयास भएको हुन्छ।
यी सबै हुनुको कारण हो–भित्रबाट प्रज्ञा जागृत नहुनु। भित्रको ज्ञान,करुणा, इमान्दारिता र प्रेमले मात्र रूपान्तरण ल्याउनमा मद्दत गर्छ। यसका लागि छोरा र छोरीबीचको भेदभाव हटाएर प्रत्येक घर/परिवारले परिवर्तनको नमुना देखाउनु छ।
सुरुवात घरबाट नै गर्नु छ, सम्मानका लागि असामाजिक व्यवहारलाई निरन्तरता दिनु भन्दा आफ्नो आत्मसम्मानमा बाँच्ने अभ्यासका लागि हरेक क्षेत्रमा परिवर्तन खाँचो छ। मानसिक सोचमा परिवर्तन आएपछि मात्र रूपान्तरण सम्भव हुनेछ।
प्रकाशित: २१ मंसिर २०७८ ०२:४३ मंगलबार