८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

वायुसेवालाई विकल्प

नेपाल वायुसेवा निगम सुरु हुँदा अहिलेका केही चर्चित अन्तर्राष्ट्रिय कम्पनीको कुनै हैसियत बनिसकेको थिएन। अहिले ती वायुसेवा कम्पनीसँग हामीले आफूलाई तुलना गर्न नसक्ने अवस्था आइसकेको छ। कतिपय मुलुकमा हाम्रा विमान पुग्दा उनीहरूले अनौठो मानेर हेर्न आएको अनुभव वरिष्ठ पाइलटहरूको छ। व्यावसायिक तत्परता नहुँदा र यसको व्यवस्थापन राजनीतिक प्रभावमा पर्दा निगमको प्रगति अपेक्षित रूपमा हुन सकेको छैन। नेपाल एयरलाइन्सले आफ्नो सेवा संसारका प्रमुख गन्तव्यमा पुर्‍याउन सक्ने सम्भावनालाई पूर्ण उपयोग गर्न सकेको छैन। नेपाल एयरलाइन्सभन्दा निकै पछि खुलेका निजी विमान कम्पनीले अहिले सफलताको शिखर चुमेका छन्। हाम्रो राष्ट्रिय ध्वजाबाहक भने सधैं टाक्सिएको छ। मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था सुरु हुनुअघि जुन तहमा यसको प्रभाव थियो, त्यति पनि अहिले देखिँदैन। नेपाल एयरलाइन्समा विमान खरिदका नाममा भएका अनियमिततामा राजनीतिक तह कुनै न कुनै रूपमा जोडिएको देखिएको छ।

नेपाल वायुसेवाले आफूलाई पूर्ण व्यावसायिक क्षमताका साथ अघि बढाउने मौका पाएन। यसको नेतृत्वमा जहिल्यै स्वार्थ समूहको प्रभाव रहँदा सेवा विस्तार हुन सकेन। नेपालले अन्तर्राष्ट्रिय विमान कम्पनीले जति नै आफ्नो सेवासमेत विस्तार गर्न पाउँछ। तर त्यो सम्भावनातर्फ ध्यान दिएर व्यापार विस्तार गरेको देखिएन। भइरहेकै गन्तव्यमा बढीभन्दा बढी उडान गरेर फाइदा गर्नुको सट्टा नयाँ खोजी गर्ने नाममा व्यावसायिक अवसर गुमाएको देखिन्छ।नेपालमा मात्र करिब एक खर्ब रुपैयाँबराबरको हवाइ क्षेत्रको व्यापार छ। जुन तहको व्यापारको अवसर यहाँ छ, त्यसलाई पूर्ण रूपमा हाम्रो नेपाल वायुसेवाले उपयोग गर्न सकेको छैन। यत्रो ठूलो बजार भएर पनि त्यसबाट लाभान्वित हुन नसक्नु व्यावसायिक अक्षमताबाहेक केही होइन। बजार नभएको भए नेपाल एयरलाइन्सले जति उडान गर्छ, त्योभन्दा धेरै उडान विदेशी विमान कम्पनीले गर्ने थिएनन्। नेपालमा विभिन्न देशका २८ एयरलाइन्सले उडान गर्छन्। नेपालले अहिल्यै ३९ देशमा उडान गर्न पाउने हवाइ सम्झौता छ। यी हवाइ सम्झौता भएका मुलुकमा मात्र आफ्नो हवाइसेवा अघि बढाउने योजना कार्यान्वयन गर्ने हो भने व्यावसायिक सफलता प्राप्त हुन सक्छ।

विदेशी विमान कम्पनीसँग भित्री साँठगाँठ गरी स्वदेशी सेवालाई खुम्च्याउन खोज्नु पनि अनियमितता हो। यहाँ उडान गरेर विदेशी कम्पनीले आफ्नो व्यवसाय बढाउन सकेका छन् भने नेपाल आफैंले ती बजारमा आफ्नो पनि ठूलो हिस्सा होस् भन्ने सोच राख्न आवश्यक छ। त्यसका लागि बजारको उचित रणनीति बनाउने नेतृत्व निगममा हुनुपर्छ। साथै सरकारले पनि वातावरण सिर्जना गर्न सक्नुपर्छ।

नेपाल सरकारले ३९ देशसँग गरेको हवाइ सम्झौताअनुसार ती देशका विमान सेवाले नेपालमा जति हवाइ उडान गर्न पाउँछन् नेपालले पनि त्यति नै संख्यामा उडान गर्न पाउँछ। नेपालमा भारतीय कम्पनीले सातामै त्यहाँका ३० हजार यात्रु बोक्न पाउँछ। यो भनेको प्रत्येक साता एक सय ५० ओटा उडान गर्ने अवसर पाउनु हो। तर हाल नेपाल वायुसेवा र निजी क्षेत्रको बुद्ध एयरले सातामा करिब २० ओटा उडान मात्र गर्छन्। जब कि दिल्लीबाट मात्रै भारतीय हवाइ कम्पनीले दैनिक नौ उडान गर्छन्। तर, नेपाल एयरलाइन्सले सातामा १० ओटा उडान मात्र गर्छ। दिल्ली सबैभन्दा फाइदाको सेक्टर हो। बजार पनि छ, विमान पनि छन्। उडान बढाउन सक्ने सम्झौता पनि छ। यसका लागि तालिका स्वीकृतबाहेक केही गर्नुपर्दैन। तर निगम भारतीय एयरलाइन्स कम्पनीको व्यवसाय घट्ला कि भन्ने चिन्तामा रहेको जस्तो देखिन्छ। यही स्थिति युएईबाट दैनिक नौ उडान काठमाडौं आउँछन्। तर निगम र निजी क्षेत्रको हिमालय एयरलाइन्सका एक÷एक उडान मात्र सातामा हुन्छन्। यी दुवै देशले प्रत्येक साता ७०÷७० उडान गर्न पाउने सम्झौता छ। निजी क्षेत्रको हिमालय एयरलाइन्सले गत सोमबारदेखि साताको तीन दिन युएईकै आबुधाबीमा उडान थप गरेको छ। तर नेपाल एयरलाइन्सले गत सोमबारदेखि नै युएईको उडान विमानस्थल मर्मतको कारण देखाउँदै कटौती गरेको छ। हिमालयले बजार देखेर उडान बढाउँदै गर्दा र युएईले नेपालमा साताको ६३ ओटा उडान गर्दैगर्दा नेपाल एयरलाइन्सको उडान सातमा मात्र किन सीमित ?

यी दुई उदाहरण मात्र हुन्, नेपाल वायुसेवाले उडान गर्ने मलेसिया, कतार र बैंककको पनि अवस्था त्यही छ। नेपाल वायुसेवासँग हाल अन्तर्राष्ट्रिय उडान गर्ने पाँचवटा विमान छन्। निगमले ती विमानमार्फत आठ गन्तव्यमा प्रत्येक साता ४० ओटा उडान गर्छ। जब कि नेपाल वायुसेवाले उडान भरिरहेका ती आठ ठाउँबाट नेपालमा प्रत्येक साता दुई सय १० उडान हुन्छन्। यी दुई सय १० उडान घट्ने चिन्ता नलिने हो भने नेपाल एयरलाइन्सले अहिले भएकै विमानबाट ४० को ठाउँमा ८० ओटा उडान गर्न सक्छ। एयरलाइन्ससँग रहेका हालका विमान एक दिनमा ७० घन्टा आकासमै उड्न सक्छन्। तर, अहिले ३४ घन्टा मात्र उडाइएको छ। अहिले सजिलै उडान थप्न सक्ने भए पनि नेपाल एयरलाइन्सले विमान घामलाई तपाएर राखेको छ। यसकारण प्रतिमहिना निगम मासिक ३१ करोड ७७ लाख घाटामा रहेको तथ्य गत कात्तिकमा सार्वजनिक गरिएको श्वेतपत्रमै उल्लेख छ।

हाम्रो मुलुकका विमान सेवाका निम्ति अवसरको खोजी अन्य देशका कम्पनीले गरिदिने होइन। आफ्नै व्यावसायिक सुझबुझका साथ अघि बढ्ने प्रयास गर्ने हो भने निगम मात्र होइन, निजी क्षेत्रका अन्य विमान कम्पनीले समेत लाभ आर्जन गर्न सक्छन्। विदेशी विमान कम्पनीसँग भित्री साँठगाँठ गरी स्वदेशी सेवालाई खुम्च्याउन खोज्नु पनि अनियमितता हो। यहाँ उडान गरेर विदेशी कम्पनीले आफ्नो व्यवसाय बढाउन सकेका छन् भने नेपाल आफैंले ती बजारमा आफ्नो पनि ठूलो हिस्सा होस् भन्ने सोच राख्न आवश्यक छ। त्यसका लागि बजारको उचित रणनीति बनाउने नेतृत्व निगममा हुनुपर्छ। साथै सरकारले पनि वातावरण सिर्जना गर्न सक्नुपर्छ।

प्रकाशित: २० चैत्र २०७५ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App