आजभन्दा करिब बीस/पच्चीस वर्ष अगाडि निर्माण भई सञ्चालन भइरहेको यो कालिमाटीको तरकारी बजार त्यति बेला नेपाल र नेपालीहरूका लागि एउटा बेग्लै र नौलो कुरा थियो। सुरुका केही वर्षहरू यो बजार व्यवस्थित र सफासुग्घर थियो। सायद त्यति बेला त्यो बजारको रेखदेख र नियन्त्रणमा विश्व खाद्य संस्था (एफएओ) को पनि संलग्नता थियो क्यारे। तर हिजोआज त्यो बजारको हालतमा भने धेरै ह्रास आइसकेको देखिन्छ।
कालिमाटी तरकारी बजारभित्र पस्ने मुख्य मूल ढोका कालिमाटीको मूल सडकमा पर्ने दक्षिणको ठूलो ढोका नै हो। अर्को एउटा सानो मानिस, साइकल र मोटर साइकलसम्म पस्न सक्ने ढोका बजारको उत्तरपूर्व कुना निलवाराही स्थानतिरबाट पनि छ। केही वर्ष अगाडि ‘कालिमाटीमा आकाशे पुल बन्न सुरु’ भनी स्थानीय पत्रपत्रिकाहरूमा समाचार र पुलको नक्सासमेत प्रकाशित भएको थियो। त्यो नक्सामा देखाएअनुसार तरकारी बजारभित्र पस्न दुइटा आकाशे पुल निर्माण गर्न खोजिएको रहेछ भन्ने थाहा पाइयो। कालिमाटीको अति व्यस्त सडकको आवागमनलाई सजिलो र हलुका पार्ने अभिप्रायले बनाउन खोजेका यी आकाशे पुलहरूलाई स्वागत नगर्ने र तारिफ नगर्ने सायदै कोही होला। जेहोस् पुलहरू सकेसम्म चाँडो तयार भई सञ्चालनमा आएको हेर्न पाइएला भनी आशा राख्नेहरू धेरै छन्। तर तिनीहरू सबै आजसम्म निराश नै छन्।
कालिमाटी तरकारी बजारको दक्षिणको मूल ढोकामा कुनै खास सुरक्षा र नियन्त्रणको व्यवस्था भएको देखिँदैन। मूल ढोकाबाट भित्र पसेपछि करिब सय कदम अगाडि बढेपछि एउटा सानो काठको पोस्टमा बसी केही कर्मचारीहरूले बजारभित्र पस्ने मोटर, ट्रक, जीप र मोटरसाइकल आदिसँग पार्किङ शुल्क लिने गरेको देखिन्छ। बजारको मूल बाटोबाट उत्तरतर्फ केही खुड्किलो तल झरेपछि उत्तर पश्चिमतिर खुद्रा व्यापार गर्नेहरू बस्ने टहराहरू छन्। यी टहराहरू बिहान सबेरैदेखि दिउँसो १०ः०० बजेसम्म खुल्दो रहेछ। दिनभरजसो बन्द रही साँझ ३÷४ बजेपछि पुनः खोलिने रहेछ। ती टहराहरूमा साग, तरकारीको साथै कागती, मेवा आदि बेच्नेहरू यताउति छरेर बसेका देखिन्छन्। यो बजारभित्र मानिसैपिच्छे, पसलैपिच्छे सामानको भाउ फरक छ। यो बजार चोकको ठीक उत्तर पश्चिमको कुनामा एउटा स्थायी सेडमा तरकारी, सुकेको माछा, अदुवा, लसुन, मरमसाला आदिका खुद्रा पसलहरू छन्। त्यसपछि उत्तरतिरको खाली ठाउँमा र उत्तर पूर्वको खाली ठाउँमा पनि केही खुद्रा तरकारी पसलेहरू जथाभावी किसिमसँग बसेका छन्। चोकको उत्तर पूर्वको कुनामा केही स्थायी पसलहरू पनि छन्। ती पसलहरूमध्ये केहीमा फलफूल र अन्य पसलहरू छन्। वास्तवमा यो कालिमाटीको तरकारी बजारभित्र घरको भान्छाका लागि चाहिने मासुबाहेक सबै किसिमका खाद्य पदार्थ पाइन्छन्। यी फलफूल र तरकारी पसलहरूमा पनि कतै मूल्य सूची टाँगिएको देखिँदैन। पसलपिच्छे सामानको मूल्य फरक फरक छन्। यससँगै जोडिएको उत्तरतर्फका पसलहरूमा एउटा डेरी र अर्को बिउ बिजनको पसल छ। नेपाल दुग्ध विकास संस्थानको यो पसल यहाँ खुल्नाले सर्वसाधारणलाई डेरीका सामानहरू किन्न निक्कै सजिलो पनि भएको छ।
बजारको ठीक मध्य भागमा टेलिफोन बुथ, चिया पसल, क्याफ्टेरिया र बजार व्यवस्थाको कार्यालय छ। कार्यालय भवनको अगाडि रहेको खुला चोकमा पार्किङ क्षेत्र राखेको छ। तर बजारमा जताततै जथाभावी किसिमसँग मोटर, मोटरसाइकल आदि पार्क गरिदिनाले सर्वसाधारण किनमेल गर्न आउने व्यक्तिहरूलाई हिँडडुल गर्न साह्रै गाह्रो छ। अझै बिहानको समयमा त यो पार्किङ एरियामा पाइला नै राख्न नहुने गरी साग सब्जी, गाँजर आदि खुद्रा व्यापारीहरूले जथाभावी पसल थापेका हुन्छन्। यो तरकारी बजारको मुख्य थोक व्यापारीहरूका लागि बनेको स्थायी सेड भने उत्तरतिर रहेको छ। यो निकै ठूलो र अरूभन्दा अलि व्यवस्थित देखिन्छ। यो सेडमा आधा ढकभन्दा कम केही कुरा पनि बिक्री हँुदैन। यो सेडको अगाडि पनि ठूल ठूला गाडीहरू ट्रक लहरी आदि पार्क गर्न प्रशस्त ठाउँ छ। तर त्यहाँ भित्र पनि ती गाडीहरूलाई व्यवस्थित गरी पार्किङ गराउने कोही देखिँदैन। जता मन लाग्यो, त्यतै ती गाडीहरू पार्क गर्ने, लोड अनलोड गर्ने हुन्छ। उक्त सेडको पश्चिमको कुनातिर आलु प्याजको थोक पसलहरू छन् भने अन्य ठाउँहरूमा विभिन्न किसिमका तरकारीहरूका थोक पसलहरू छन्। सेडको अन्ततिर पूर्वउत्तर कुनामा एउटा रेस्टुराँ रहेछ। जसले गर्दा त्यहाँ व्यापारीहरूलाई चिया चमेना गर्न सजिलो भएको छ। ठूलो सेडको ठीक पछाडि उत्तरतिर पनि केही अस्थायी सेडहरू छन्। त्यहाँ पनि थोक बिक्रेताहरू बसेका छन्। यस सेडको पूर्वतिर स्थायी अस्थायी दुवै खालका सेडहरू छन्। ती सेडहरूमा पनि थोक बिक्रेताहरू बसेका छन्। तर यी सेडहरूमा पनि कुनै किसिमको नियन्त्रण र व्यवस्था देखिँदैन। जताततै कुहिएका तरकारीहरू फ्याँकिएका छन्। वर्षायाममा हिँड्न नै मुस्किल हुने गरी कुहिएका तरकारीहरूको फोहोर माथिबाट हिँडडुल गर्नुपर्छ। सामान र बजारको दृष्टिकोणले कालिमाटीको तरकारी बजारभन्दा ठूलो सायदै अरू कुनै बजार हाम्रो राज्यभित्र होला। तर व्यवस्थापन, नियन्त्रण र सरसफाइका लागि सुधार नगरेमा केही समयभित्रमै यो बजार नेपालको सबैभन्दा फोहोर र खतरनाक बजार हुन नपुग्ला भन्न सक्दैन। पसलेहरू चाहे त्यो थोक व्यापारी होस् वा खुद्रा जोसुकैले पनि सडेगले र बिग्रेका तरकारीहरू आफ्नै सेड अगाडिको बाटोमा फ्याँक्ने गर्छन्। जसले गर्दा यो सम्पूर्ण बजार हिलोमैलोमा परिणत हुने गरेको छ। तरकारी बोक्ने भरियाहरू यहाँभित्र प्रशस्त छन्। तर तिनीहरू पनि ग्राहकहरूको खोजीमा अनियन्त्रित ढंगबाट डोको बोकी ग्राहकहरू खोज्दै हिँडिरहने हुनाले बजारभित्र धक्का र भीडभाड झन् बढेको छ। व्यवस्थापनले यी भरियाहरूलाई बस्ने ठाउँ तोकिदिनु पर्छ र चाहिने मानिसले त्यहाँ गई तिनीहरूसँग मोलतोल गरी आफ्नो भारी बोकाउने व्यवस्था हुनुपर्छ।
बजारको अन्ततिर पूर्वपट्टि माछा बजार छ। त्यहाँ पुग्नुअघि एउटा सानो शौचालय देखिन्छ। त्यत्रो ठूलो बजारभित्र यहाँ रहेका दुईवटा शौचालयबाहेक अरू शौचालयहरू त्यहाँ देखिँदैन। सायद त्यहाँ अरू शौचालयहरू छैनन् कि जस्तो पनि लाग्यो। व्यवस्थापनले सकेसम्म चाँडो अरू चार–पाँचवटा राम्रो स–शुल्क शौचालयहरू राख्नुपर्र्ने अति आवश्यक भइसकेको छ। भद्र महिला र पुरुषहरूलाई त्यहाँ शौचालयको ठूलो खाँचो देखिन्छ। केही महिना अघिमात्र खोलिएको माछा बजारले स्थानीय मानिसहरूलाई ताजा माछा खरिद गर्न भने सजिलो पारेको छ। तर माछा पसलको अघिल्तिरबाट हिँड्न भने मुस्किल छ। जताततै माछा पोका पारेर ल्याएका पात, पतिङ्गर र बरफको पानीले गर्दा त्यहाँ सधैँ हिलो र फोहोर भएको हुन्छ। माछा अनलोड गर्नासाथ फोहोर सफा गर्नेतर्फ व्यवस्थापनले तुरुन्तै ध्यान दिनुपर्ला जस्तो लाग्छ।
थोक वा खुद्रा जुनसुकै पसलमा मुल्यसूची हुनु जरुरी छ। तिनीहरूले प्रयोगमा ल्याउने नाप तौलको यन्त्रमा पनि धेरै नै फरक देखिन्छ। त्यसको तुरुन्त अनुगमन हुनुपर्ने देखिन्छ। बजारमा स्वच्छकर तरकारी, फलफूल वा अन्य खाद्य सामग्रीहरू बिक्री भइरहेको छ, छैन व्यवस्थापन पक्षबाट समय समयमा अनुगमन र निरीक्षण हुनु अति आवश्यक छ। बिचौलियाहरूको जगजगी अझै कायम नै छ। गोरखापत्रमा प्रकाशित र मुख्य कार्यालय भवनको अघिल्तिर देखाइरहने तरकारी र फलफूलका भाउहरूसँग त्यहाँ भित्र बेचिन राखेका कुनै पनि तरकारी र फलफूलको भाउसँग मेल खाएको देखिँदैन। अरू सामानहरूमा भन्दा फलफूलमा बिचौलिया र माफियाको जगजगी कायम नै छ। यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु अति आवश्यक छ।
अन्त्यमा,
कालिमाटीदेखि टंकेश्वर महादेवस्थानसम्म प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा भत्काइएको सडक पेटी आदि अझै बन्न सकेको छैन। बाटोमा जो कोहीलाई पनि हिँड्न मुस्किल छ। यो बाटोमा धेरै पटक दुर्घटनाहरू पनि भइसकेका छन्। यो बाटोमा मुुसलमानहरूको बोका÷कुखुरा पसल र अन्य मासु पसलहरू गरी २०÷२२ वटा पसलहरू अनियन्त्रित ढंगबाट बजारलाई नै बीभत्स देखिने गरी हलाल बोका, कुखुराहरू झुन्ड्याइएको हुन्छ। यसरी स्वयम्भू, राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय, ब्यारेक, अस्पताल जाने मूल बाटोको दूर्दशा यसरी देखाइरहनु भन्दा यो सिंगै मासु बजारलाई विष्णुमतीको किनार भीममुक्तेश्वरतिर स्थानान्तर गरेमा यी पसलहरू व्यवस्थित गर्न सजिलो मात्र हुने होइन, मासु किन्ने ग्राहकहरूलाई पनि सजिलो र छानी छानी किन्ने अवसर प्राप्त हुने थियो कि ?
प्रकाशित: १८ पुस २०७५ ०२:३४ बुधबार