८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

जातिवादविरुद्ध पुरस्कार थापिरहँदा...

साउन दोस्रो साता। नेकपा (एमाले)को ग्रासरुट अभियान चलिरहेको थियो। म पनि उक्त पार्टीको सिपाही भएकाले बैतडीको पाटनमा खटिएकी थिएँ। कार्यक्रमकै बीचमा मोबाइलको घण्टी बज्यो-‘तपाईले जातीय विभेदविरुद्ध अहिलेसम्म गरेका मुख्य कामहरूबारे जानकारी गराइदिनुहोस् न।’

मैले त्यसलाई सामान्य रूपमा लिएँ र खासै चासो दिन आवश्यक ठानिन। केही दिनपछि उनले फेरि फोन गरे। त्यसपछि आफूले गरेका केही काम टिपेर पठाइदिएँ।

त्यसको केही दिनपछि सोही मानिसको फोन आयो। म आफैँ अध्यक्ष रहेको भूमिमा महिला कृषि सहकारीको कार्यालयमा थिएँ। उनले केही दिनअघि सूचना माग्ने व्यक्ति आफैँ भएको र म अमेरिकी सरकारद्वारा प्रदान गरिने एउटा पुरस्कारका लागि छानिएको जानकारी दिए। अनि आवश्यक परेमा एक्लै अमेरिका जान सक्नुहुन्छ भनेर पनि सोधे।

मलाई किन पुरस्कार? त्यो पनि अमेरिकी सरकारले? म पनि अमेरिका जाने? के यो सम्भव छ? म कतै सपनामा त छैन? -दिमागभरि अनेकौँ प्रश्न खेलिरहे। मलाई फोनमार्फत आएको बधाई र हामीबीच भएको कुराकानी सुन्नेहरू केको बधाई? के भयो? हामीलाई नि सुनाउ न भनिरहेका थिए। के बताउँ विस्तृतमा? आफैँ रनभुल्लमा थिएँ।

साउन दोस्रो साता। नेकपा (एमाले)को ग्रासरुट अभियान चलिरहेको थियो। म पनि उक्त पार्टीको सिपाही भएकाले बैतडीको पाटनमा खटिएकी थिएँ।

नभन्दै साउन २१ मा अमेरिका जानुपर्ने भएकाले तयारी गर्न भनियो। त्यसअघि अमेरिकन दूतावासका कर्मचारीसँग भएको जुम मिटिङमा यसबारे जानकारी गराए। ग्लोबल एन्टी रेसिज्म् च्याम्पियन अवार्ड रहेछ यसको नाम। जुन अमेरिकी सरकारले पहिलो पटक दिँदै रहेछ। यो पुरस्कार नेपालबाट मैले एक्लै पाउँदै थिएँ भने पाउने अन्य ५ देशमा ब्राजिल, माल्दोवा, ट्युनिसिया, पेरु र बङ्गलादेश थिए।

साउन २४ का दिन पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो। हुन त हामीलाई यहाँको प्रक्रियाबारे अघिल्लै दिन स्थलगतरूपमै सबै बताइसकिएको थियो। तर पनि मुटु भने ढुकढुक भइरहेको थियो। धन्न, मेरै सहयोगका लागि गएका अमेरिकी दूताबासका मानव अधिकारविज्ञ जय नेपालीले भाषाका कारण कुनै समस्या आइपर्न दिएनन्।

जब पुरस्कार लिइयो मेरो दिमागमा त्यहाँको रमझमभन्दा पनि विगतको सम्झनाले राज ग¥यो। ९० वर्ष पुगेकी आमाको अनुहारले सबै तामझामलाई जित्यो। ती साहसी आमा जसले म ६ महिनाको हुँदा परलोक भएका बाबुको समेत जिम्मेवारी लिएर मलाई हुर्काइन्। पढाइन्। म मात्र हैन, ३ दाजु र एक दिदीको लालनपालनको जिम्मेवारी पनि सम्हालिन्। बुबाका ७ दाजुभाइ थिए। तिनै ७ भाइको जम्मा सम्पत्ति १ रोपनी जमिन थियो। त्यसैको ७ भागमध्ये जति आउँछ, त्यही हो हाम्रो सम्पत्ति अहिले पनि। त्यसैले आमाले हामीलाई कसरी हुर्काइन् होला? बढी भन्नै परेन। त्यसैले मैले देवीरूपी आमालाई यस अवसरमा नसम्झनु उनीमाथि घोर  अन्याय हुन्थ्यो।

पुरस्कार थापेपछि मनमा धेरै कुरा आइरहे एकपछि अर्को गरेर। २५ वर्षअघिको सम्झना आयो। जतिबेला सबैको धुरी धुवाउँदै गर्दा हाम्रोमा भने चुलो बाल्ने सुरसार नै हुँदैनथ्यो किनकि चुलोमा पकाउने कुरा चाहिन्थ्यो जुन हामीसँग हुँदैनथ्यो। यस्तो अवस्थामा पनि जातीय विभेदविरुद्ध लागिरहेँ। अहिले अचम्म लाग्छ, दलित समुदायका एक युवालाई लोड गर्ने क्रममा मोटरबाट खसेको पानी ट्याङ्कीले उनको पसलअगाडि राखिएको एक कुर्सीमा छुन पुगेको भनेर साहूजीले कुट्दा गरेको प्रतिकार अनि आफैँमाथि उनी जाइलागेको अवस्था। भिडका सबै रमिते भइरहँदा एउटी किशोरीमा यो हिम्मत कसरी आयो होला?

साउन २४ का दिन पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो। हुन त हामीलाई यहाँको प्रक्रियाबारे अघिल्लै दिन स्थलगत रूपमै सबै बताइसकिएको थियो। तर पनि मुटु भने ढुकढुक भइरहेको थियो।

त्यति मात्र हैन, दलित समुदायको शैलेश्वरी मन्दिर प्रवेश कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरेबापत स्थानीय ठूला जातको आक्रमणमा पनि ७ दिन धनगढीको अस्पतालमा भर्ना भइ उपचार गराउनुपरेको अवस्था पनि झल्झल्ती याद आइरह्यो। दर्जनौँ छन् यस्ता घटना। पीडकलाई कानुनी कारबाही गराउनुपर्छ भन्ने मलाई थाहा थियो तर पनि म कहिल्यै यस्ता कुकर्मविरुद्ध कानुनी प्रक्रियामा गइन किनकि यसरी जाँदा सबैले थाहा पाउँछन् र घरबाट मलाई यस्तो सामाजिक अभियानमा लाग्न अवरोध आउँछ भन्ने थाहा थियो। किनकि घरकी कान्छी भएकीले पनि होला, मलाई सबैले माया गर्थे। अनि यही मायाका कारण तँलाई जे चाहिन्छ हामी पुर्‍याइदिन्छौँ, आन्दोलनमा नलाग भन्थे।

दलितहरू कमजोर हुनु, हेपिनुमा उनीहरू आर्थिकरूपमा असक्षम भएर हो भन्ने मैले राम्रोसँग बुझेकी थिएँ। यसको मुख्य कारण उनीहरू भूमिहीन हुनु हो भन्ने पनि राम्ररी थाहा थियो। त्यसैले म भूमि अधिकारका लागि कार्यरत सामुदायिक आत्मनिर्भर सेवा केन्द्र, राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालसँग जोडिएँ। मेरै पहलकदमीमा २०६७ सालमा ३७ भूमिहीन दलित परिवारले २/२ रोपनी जमिन पाए। भूमिहीन दलितले बैतडीमा यसरी जग्गा पाएको यो पहिलो घटना थियो।

एकजना १४ वर्षकी दलित बालिकालाई हेडसरले बलात्कार गरे। मेरै पहलमा मुद्दा लडेपछि उनलाई ११ वर्षको जेल सजाय भएको छ। अर्को १८ वर्षकी एकजनालाई बलात्कार प्रयास भएको थियो। त्यसमा पनि मेरै पहलमा मुद्दा गरेर ३५ महिना जेल सजायको निर्णय भएको छ। यस्ता धेरै घटना छन्, जसमा पीडितलाई न्याय र पीडकलाई सजायका लागि सहजीकरण गर्न पाउँदा निकै खुसी लागेको छ।

जातीय विभेदविरुद्धको अभियान होस् या भूमिहीनलाई सशक्त तुल्याउने, लामो समय काम गर्दा यी सबै समस्या समाधानका लागि राजनीति नै मुख्य मियो रहेछ  भन्ने बुझाइ भयो। म राजनीतिमा आकर्षित हुनुको कारण पनि यही थियो। त्यसैले यतिबेला म एमालेको बैतडी उपसचिव छु भने अखिल नेपाल महिला सङ्घको स्थायी कमिटी सदस्य पनि छु। त्यसैगरी दलित समाज विकास मञ्चको अध्यक्ष पनि छु जसले हलिया प्रथा, दलितभित्रको बाल विवाह अन्त्यलगायत जातीय विभेदविरुद्ध काम गर्छ।

२०७४ सालको स्थानीय चुनावमा हारेँ । २०७९ को  स्थानीय निर्वाचनमा पनि बैतडी सदरमुकामस्थित दशरथ चन्द नगरपालिकाको उपमेयरमा उठायो पार्टीले। तर दुवै पटक हारियो। यो नगरपालिकामा अहिले कार्यपालिकामा बहुमतसहित एमालेका मेयर छन्। तर मलाई भने जानाजान हराइयो। यसको मुख्य कारण ‘जात’ नै हो। किनकि मेरा विरोधीले यसले जिती भने दलितलाई नमस्कार गर्नुपर्छ, मन्दिरहरू बनाउँदा शिलान्यास र उद्घाटन गराउनुपर्ने र दलितलाई गराएमा ‘खत्तम’ हुने हौवा फिँजाए। फलस्वरूप मेयर र अन्य पदाधिकारीमा एमालेलाई भोट दिनेले पनि मलाई दिएनन्।

दलितहरू कमजोर हुनु, हेपिनुमा उनीहरू आर्थिकरूपमा असक्षम भएर हो भन्ने मैले राम्रोसँग बुझेकी थिएँ। यसको मुख्य कारण उनीहरू भूमिहीन हुनु हो भन्ने पनि राम्ररी थाहा थियो।

मैले मुद्दा प्रक्रियामा सहजीकरण गरेकै कारण अपराध कर्ममा संलग्न केही पुरुष जेल पुगेका थिए। त्यसैले उनीहरूले यसले जिती भने त हाम्रा छोरा/चेला सबैलाई जेल पुर्‍याउँछे भनेर प्रचार गरे। बलात्कार गरेबापत मेरै सक्रियताका कारण जेल सजाय भोगिरहेका हेडसरको वडाबाट मलाई ठ्याम्मै भोट नआउनुले यस्ता प्रचारको प्रभाव कतिसम्म परेको थियो भन्ने बुझ्न सकिन्छ।

तर पनि मलाई कुनै गुनासो छैन। आखिर राम्रो काम गरेमा कहीँ न कहीँ, कसै न कसैले मूल्याङ्कन गरेकै हुँदोरहेछ। ५ वर्षअघि पाएको ५ लाख रुपियाँ राशिको दर्नाल अन्तर्राष्ट्रिय अवार्ड र अहिलेको ग्लोबल एन्टी रेसिज्म च्याम्पियन अवार्ड यसका ज्वलन्त प्रमाण हुन। मेरा लागि यी पुरस्कार यस्ता प्रेरणाका स्रोत बनेका छन् जसले आफूलाई नचिन्नेलाई पनि चिन्ने तुल्याएर निरन्तर सत्कर्ममा लाग्न हौस्याइरहेका छन्। त्यसैले त हरेक दिन बिहान उठ्दासाथ सबै भन्दा पहिले भित्तामा टाँसिएका यिनै प्रमाणपत्र नियाल्छु ताकिकर्मबाट विचलित हुन नपरोस्।

(रघुनाथ लामिछानेसँग कुराकानीमा आधारित)

प्रकाशित: २१ भाद्र २०८० ००:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App