९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

बिपी, शाहजहाँ र नियति

साउनको पहिलो साता (६ र ७ गते) नेपालको राजनीतिक इतिहासमा भिन्न सैद्धान्तिक धारका दुई राजनीतिक संगठन नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक बिपी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाइयो। मूलधारका मुख्य दल यिनै शीर्षस्थ पुरुषले निर्माण गरेको राजनीतिक पुँजीले टिकेका वा धानिएका छन् अहिलेसम्म। जनआस्था, विश्वास तथा लोकप्रियता खस्कँदै गएको भए पनि।

अहिले अत्यधिक पढिने, भनिने र लेखिने राजनीतिक व्यक्तित्वमा बिपीलाई लिने गरेको पाइन्छ। २०४६ सालपछिको राजनीतिक अभ्यास जे-जसरी जुनरूपमा भइराखेको छ, त्यसले बिपीलाई झनै सान्दर्भिक र स्मरणीय बनाएको छ। तर, उनलाई सधैं सम्झिएजस्तो गरेर उनका आर्दश र विचारलाई बिर्सने दौडमा अहिलेको कांग्रेस व्यस्त छ। त्यसैले स्मृति दिवस सही अर्थमा विस्मृति दिवस बनिरहेको छ।

बिपीको वैयक्तिक र राजनीतिक जीवनबारे प्राप्त जे जति स्रोत सामग्री छन्, ती सबैका मूल स्रोत बिपी आफैँ नै भएको पाइन्छ।

यहाँ स्मरण गर्न खोजिएको बिपीको राजनीतिभन्दा पनि साहित्यको हो। कतिपय बिपीलाई राजनीतिमा भन्दा साहित्यमा सफल मान्छन्, कतिपयका तर्कमा भने बिपीको साहित्य मौलिक र शिल्पका हिसाबले औसत मात्र हो। तर, रोचक त के भने बिपीको वैयक्तिक र राजनीतिक जीवनबारे प्राप्त जे जति स्रोत सामग्री छन्, ती सबैका मूल स्रोत उनी आफैँ भएको पाइन्छ। जस्तो कि उनको कृति आफ्नो कथा। यो कृतिमा उल्लेख केही जीवन्त पात्र स्मृतिमा जरा गाडेर बसेका छन्। तिनै मध्येका हुन्–भारतका मुगलकालीन सम्राट शाहजहाँ। कृति पढिरहँदा थाहा हुन्छ-यिनको नियति मात्र होइन, सत्ताको स्वभाव र प्रकृति पनि थाहा हुन्छ। सत्ता कतिसम्म क्रूर, निर्मम र कठोर हुँदोरहेछ भन्ने पनि बोध हुन्छ। परिस्थिती अनुसार शासकहरूको अप्राकृतिक र अस्वभाविक चरित्र पनि ज्ञात हुन्छ।

आफ्नो कथामा बिपीका पिताजी कृष्णप्रसाद कोइराला निर्वासनमा वाराणसीमा रहँदा परिवारको आर्थिक अवस्थाको चित्रण छ। बिपीले लेखेका छन्–‘शायद त्यत्रो ठूलो परिवारका लागि भातदाल जुटाउन गाह्रो पथ्र्यो क्यार, त्यसैले हामीहरू एकछाक भिजाएको चना खाएर गुजार्न गथ्र्यौँ, घरको ठूलो छतमा हाम्रो पङ्ति लाग्थ्यो। आमाहरू माटाको गाग्रीमा फुलाएको चना ल्याउनुहुन्थ्यो र बाँड्नुहुन्थ्यो।

औरङ्गजेब आफ्नै बाबु शाहजहाँलाई कैद गरेर लालकिल्लामा बन्दी बनाएपछि सोधिपठाए रे- ‘बुबालाई अन्न मात्र दिने! कुन अन्न जिउनार हुन्छ? शाहजहाँले भनिपठाए रे-‘चना’। ठूलाले केटाकेटीलाई फुर्काउँदै खानलाई हौसाएको ‘खाऊ बाबु खुब खाऊ’ यो शाहजहाँको अन्न हो भन्ने लेखिएको पढ्ने जो कोही पनि संवेदनशील बन्दछ। यिनै पंक्तिहरूले भारतको मुगलकालीन इतिहास पढ्न उत्प्रेरित गर्‍यो।

आफ्नो कथामा बिपीका पिताजी कृष्णप्रसाद कोइराला निर्वासनमा वाराणसीमा रहँदा परिवारको आर्थिक अवस्थाको चित्रण छ।

आफ्नो कथामा उल्लेख यी पंक्ति सत्य वा मिथक के हुन्? यसप्रकारको लेखनीमा बिपी वास्तवमै मुगलकालीन इतिहासबाट प्रेरित थिए या उनले नेपाली राजनीति र शासकसँग तुलना गर्न खोजेका थिए त्यो प्रष्ट छैन।

बिपी स्वयंले पनि यसबारे बताएको पंक्तिकारलाई पत्तो छैन। उस्तै–उस्तै कालखण्डमा एउटै प्रकृतिका राजनीतिक घटना हुनु आश्चर्य मान्न सकिन्छ। प्रताप मल्लले पिता लक्ष्मीनरसिंह मल्ललाई विसं १६९८ मा कैद गरे। कैदको सोह्र वर्षपछि अर्थात विसं १७१४ मा कैदी अवस्थामा यिनको मृत्यु भयो। इतिहासमा भएको मिल्दो घटनाले पनि मुगलकालीन इतिहासप्रति चासो बढ्यो।

भारतमा अफगानिस्तानका शासक जहिरूद्दीन मुहम्मद बाबर मुगल वंशका संस्थापक थिए। यिनले सन् १५२६ देखि १५३० सम्म चार वर्ष मात्र शासन गरे। यिनका वंशजमा क्रमशः हुमायु अकबर जहाँगिर, शाहजहाँ थिए। यसरी शाहजहाँ बाबरका पाँचौँ वंशज थिए। मुगल वंशमा उत्तराधिकारीसम्बन्धी कुनै नियम थिएन। त्यसैले शाहज्यादाहरूमा सिंहासन हत्याउन अस्वस्थ प्रतिस्पर्धा हुन्थ्यो। शाहजहाँले पनि आफ्ना भतिजा र काकाको छोराको हत्या गरेर सिंहासन हत्याएका थिए। यिनको चार छोरामा दारा, सुजा, मुराद र औरङ्गजेब थिए।

आफ्नो कथामा उल्लेख यी पंक्ति सत्य वा मिथक के हुन् ? यसप्रकारको लेखनीमा बिपी वास्तवमै मुगलकालीन इतिहासबाट प्रेरित थिए या उनले नेपाली राजनीति र शासकसँग तुलना गर्न खोजेका थिए त्यो प्रष्ट छैन।

शाहजहाँका पहिला छोरीहरू मात्र जन्मेका थिए। त्यसैले अजमेरमा गएर उनले प्रार्थना गरेर जन्मेको छोरा दारा शिकोह भएकाले उनी सर्वाधिक प्रिय थिए। त्यसमा पनि यिनी साधु प्रवृत्तिका थिए।

विद्वान यिनले फारसी भाषामा भागवत्गीता, रामायण र उपनिषद् अनुवाद गरेका थिए। सन् १५५७ मा शाहजहाँको स्वास्थ्य खराब हुन थाल्यो। उत्तराधिकारीसम्बन्धी युद्ध सुरु भयो। शाहजहाँले दारालाई उत्तराधिकारी घोषणा गरे। त्यसपछि धरमर, सामुगढ र देवराइमा दारा र औरङ्गजेबबीच युद्ध भयो। तीनवटै युद्धमा औरङ्गजेब विजयी भए।

आगराको ताजमहल, दिल्लीको लालकिल्ला, दिल्लीको जामा मस्जिद, आगराको मोती मस्जिद आदि निर्माण गरेका शाहजहाँ बन्दी बन्छन्। बन्दी अवस्थामै उनको मृत्यु हुन्छ। अझ उनको भन्दा कारुणिक उनका जेठा छोरा दारा शिकोहको नियति लाग्छ। फारसीमा एउटा भनाइ प्रचलित छ– ‘तख्तया तावु’ अर्थात सिंहासन वा कब्रस्थान। शाहजहाँका पिता जहागिर आफ्ना भाइ दातियालको मृत्युको जिम्मेवार मानिन्छन्। त्यही परम्परा शाहजहाँ र उनमा पछि पनि कायम भयो।

औरङ्गजेबका दाजु दारा शिकोह पराजित भएपछि आगराको किल्लाबाट भागेर दिल्ली गए, त्यसपछि पंजाब अनि अफगानिस्तान। त्यहाँ मलिक जीवनले छलपूर्वक उनलाई पक्रेर औरङ्गजेबका सरदारलाई सुम्पिन्छन्। दारा भागिरहेको अवस्थामा उनकी पत्नी नादिना बेगमको पनि मृत्यु हुन्छ। नादिनासँग गरिएको दाराको विवाह अत्यन्त महङ्गो र धूमधामको थियो। त्यसबेलाको समयमा विवाहमा ३२ लाख खर्च भएको थियो भनिन्छ। स्वयं दाराले नै मलिक जीवनलाई आफ्ना पिता शाहजहाँलाई भनेर दुईपल्ट जीवन दान दिलाएका थिए। उसैले समातेर दारालाई औरङ्गजेबको सरदारलाई सुम्पिदिन्छ, कस्तो कारुणिक नियति?

शाहजहाँका पहिला छोरीहरू मात्र जन्मेका थिए। त्यसैले अजमेरमा गएर उनले प्रार्थना गरेर जन्मेको छोरा दारा शिकोह भएकाले उनी सर्वाधिक प्रिय थिए। त्यसमा पनि यिनी साधु प्रवृत्तिका थिए।

त्यसपछि दारालाई दिल्लीमा अत्यन्त बेइज्जतिपूर्णरूपले घुमाइन्छ, उनको शरीरमा फाटेका झुत्रा लुगा हुन्छन्। त्यसैबेला एकजना भिखारी आइपुग्छन्। उनले दाराको पूर्व र हालको अवस्थाबारे कुरा गर्छन्। उनलाई आफूसँग भएको एक मात्र सल दिन्छन्। सडकको दुवै किनारामा रहेका सर्वसाधारण आँसु खसाल्दै मुकदर्शक बन्छन्। पछि उनको शिर छेदन गरिन्छ। त्यो शिरलाई पत्रको साथ उपहार बन्दी अवस्थामा रहेका शाहजहाँकहाँ पठाइन्छ। उपहार खोलेर हेरिन्छ, आफ्नो सर्वाधिक प्रिय छोरा दाराको शिर देखेर शाहजहाँ बेहोस हुन्छन्। महिलाले आफूले लगाएको गरगहना सबै फ्याक्छन्। टाउकोबिहीन दाराको शरीरलाई फेरि दिल्लीमा घुमाइन्छ। त्यसपछि टाउकोलाई आगराको ताजमहलमा र शरीरलाई हुमायुको मकवारासँगै दफनाइन्छ।

शाहजहाँको इतिहासलाई मुगलकालको स्वर्ण युग पनि भनिन्छ। त्यसकालमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्य तथा ललितकलाको उन्नति भएको थियो। साहजहाँले हिरा, मोति, पन्ना, माडित एवम् थुपै रत्न जडित मयुर सिंहासनको निर्माण गराएका थिए।

उक्त सिंहासनको लागत खर्च एक करोड लागेको थियो भने निर्माण कार्य ७ वर्षमा सम्पन्न भएको थियो। तिनै शाहजहाँ र उनका छोरा दारा शिकोहको नियति अत्यन्त कारुणिक थियो।

शाहजहाँको इतिहासलाई मुगलकालको स्वर्ण युग पनि भनिन्छ। त्यसकालमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्य तथा ललितकलाको उन्नति भएको थियो।

बिपीले आफ्नो कथा मार्फत बताउन खोजेको राजनीतिक इतिहासलाई आजपर्यन्त सम्झनु किन पनि आवश्यक छ भने राजनीति अहिले पनि यही नियतिबाट वशीभूत छ, चाहे त्यो संसारको राजनीति होस् या नेपालको। पात्र परिवर्तन भए पनि प्रवृत्ति उस्तै छ। लोकतान्त्रिक पद्धतिबाटै चुनिएका कतिपय नेताहरू पनि राजनीतिक शक्ति प्राप्तिपछि अधिनायकवादी बन्ने क्रम बढ्दो छ, जसले अन्ततःलोकतन्त्र नै संकटमा परिरहेको तथ्यले पनि यसलाई पुष्टि गर्दछ।

त्यसैले पनि बिपीको आफ्नो कथा यस्तो आम कथा बनेको छ, जसको पठन अहिले पनि आवश्यक छ, जसको चर्चा आज पनि सान्दर्भिक छ। 

प्रकाशित: २६ श्रावण २०८० ००:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App