९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

भुटानी शरणार्थी प्रकरण र राजनीतिकर्मीको छवि

तत्कालीन भुटानी राजा जिग्मे सिंघेद्वारा १७ डिसेम्बर २००५ को राष्ट्रिय दिवसका अवसरमा दिइएको संबोधन मार्फत् आफूले गद्दी छाड्ने अप्रत्याशित घोषणा भयो। उहाँले आफ्नो उत्तराधिकारीका रूपमा छोरा जिग्मे खेसर नामग्याल वांगचुकलाई भुटानी जनतासँग परिचय गराउनु भयो। जिग्मे खेसर नामग्याल वांगचुक अहिलेसम्म भुटानको राजा हुनुहुन्छ। जिग्मे सिंघे दूरदृष्टिसंपन्न राजा हुनुहुन्थ्यो र संसारभरको गतिविधि र बदलिँदो परिस्थितिसँग जानकार हुनुहुन्थ्यो। उहाँले भुटानमा प्रजातान्त्रिक व्यवस्थाको सुरुवात गर्नुभयो र जनतालाई यसको फाइदाबारे आवश्यक यथोचित जानकारी दिनुभयो। सन् २००८ मा मात्र २८ वर्षका खेसर नामग्याललाई भुटानले नयाँ राजाका रूपमा पायो।

त्यसपछि प्रथम पटक भुटानमा चुनाव हुन्छ र जनताले आफ्नो सरकार छनोट गर्ने अवसर पाउँछन्। पिस एन्ड प्रोस्परिटी पार्टी र पिपल डेमोक्रेटिक पार्टीबीच प्रतिस्पर्धा हुन्छ। उक्त चुनावमा पिस एन्ड प्रोस्परिटी पार्टी विजयी हुन्छ र सरकार बनाउने मौका पाउँछ। सरकारले कानुन र नीति नियम बनाउने अधिकार प्राप्त गर्छ। नयाँ सरकार बनेपनि सर्वाधिक शक्ति राजाकै हातमा रहिरहन्छ र आउने दिनमा जनता माझ राजाको लोकप्रियता झन बढेर जान्छ। यो विश्वको बदलिँदो परिस्थितिअनुसार राजपरिवार र भुटानको हितार्थ चालिएको दूरदर्शी कदम थियो।

दिल्लीमा मुगल शासन थियो भने अंग्रेजहरू पनि इस्ट इन्डिया कंपनीका रूपमा कोलकाता (तत्कालीन कलकत्ता) मा उपस्थित थिए र आफ्नो स्थिति बलियो बनाउँदै गएको थियो। हाल पश्चिम बंगालको एउटा जिल्ला कुच बिहार एउटा स्वतन्त्र रियासत थियो र त्यहाँ आफ्नैखालको शासन चल्थ्यो। कोलकाताबाट कुच बिहार करिब ७०२ किमि टाढा छ भने भुटान कुच बिहारबाट अन्दाजी ३५७ किमिको दूरीमा पर्छ। तत्कालीन बंगाल र तिब्बतबीच व्यापारिक बाटो कुच बिहार र भुटान हुँदै तिब्बत पुग्ने गथ्र्याे। कुच बिहारका लागि यो आमदनीको राम्रो विकल्प थियो। मुगलहरूले कुच बिहारमा आक्रमण गर्छन् र कुच बिहारको गुहारमा भुटानले सैन्य सहयोग पठाउँछ, अन्ततः मुगललाई लखेट्न सफल हुन्छ। त्यसपश्चात भुटान फर्किँदैन र कुच बिहारमै आफ्नो शासन चलाइ बस्छ। केही समयसम्म कुच बिहार भुटानअन्तर्गत रहन्छ।

भुटानमा आन्तरिक समस्या चर्किँदै गएकाले गृह युद्ध हुने संभावना बढ्दै गइरहेको थियो। त्यही समय ब्रिटिस साम्राज्य र रसियाली साम्राज्यबीच आफ्नो प्रभाव विस्तार गर्ने प्रतिस्पर्धा चलिरहेको थियो जसलाई इतिहासकारहरूले ग्रेट गेम भनेर वर्णन गरेका छन्। यी दुवै शक्ति तिब्बतमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयासमा थिए। भुटानको त्रोग्सा भन्ने ठाउँको उगेन वांगचुक गभर्नर थिए। उगेन वांगचुकको मध्यस्थता र सहयोगमा अंग्रेज र तिब्बतबीच सुलह संझौता संपन्न भयो। बदलामा अंग्रेजहरूले १७ डिसेम्बर १९०७ मा उगेन वांगचुकलाई भुटानको राजा बनाइदिए। भुटानको वैदेशिक र रक्षासंबन्धी मामिलाबाहेक आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने सर्तमा त्यस बखतदेखि भुटान तत्कालीन अंग्रेज साम्राज्यको संरक्षित राज्य बन्यो र सन् १९४७ पछिको भारतसँग पनि त्यही संरक्षित राज्यको हैसियतकै रूपमा रहिआएको छ। भुटानमा आफ्नो प्रभाव राखिराख्न भारतले प्रत्येक वर्ष आफ्नो बजेटमा भुटानलाई ठूलो आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

हालको भुटानी शरणार्थी काण्ड र यसका अभियुक्त हरूले देशलाई अन्तर्राष्ट्रिय स्तरमै अत्यन्त बदनाम गराइ सबै नेपालीको टाउको निहुराइ दिएका छन्। प्रमुख पार्टीका नेताहरू एकार्कालाई हिलो छ्याप्नु र आफ्नोलाई बचाउ गर्नमा व्यस्त छन्।

सन् १९८० को दशकको अन्तिम र १९९० को सुरवातसँगै भुटानी शरणार्थीहरूका रूपमा नेपालीभाषी भुटानीहरू जसलाई भुटानमा लोत्साम्पा भनेर चिनिन्छ, आफ्नो अधिकार र पहिचानकालागि संघर्ष गर्ने क्रममा उनीहरूमाथि कारबाही गरियो र लोत्साम्पा आफ्नो ठाउँ छाडेर भाग्न बाध्य भए। भुटानको सीमा नेपालसँग जोडिँदैन, त्यसकारण तिनीहरू पहिला भारत पसे र भारतीय सुरक्षाकर्मी लगाएर भारतले नेपालतिर हुल्ने काम गरे। कमजोर र हीनताको मानसिकताबाट ग्रस्त नेपालको राजनीति र सोहीअनुरूपको प्रशासनले कुनै किसिमको प्रभावकारी प्रतिवाद गर्न सकेन। त्यसबेलादेखि पूर्वी नेपालको झापा अवस्थित शरणार्थी शिविरमा हजारौँको संख्यामा र एक लाख भन्दा बढी भुटानी शरणार्थीहरू नेपाल बस्न थाले।

 मानिस एक भूगोलबाट अर्कोतिर क्रमशः आफ्नो अनुकूलताअनुरूप सरिरहने प्राणी हो। भनिन्छ उन्नाइसौँ शताब्दीदेखि नेपालीहरू भुटान प्रवासतिर लागेका थिए र तीमध्येका धेरैले भुटानको नागरिकता कानुन (१९५८) अन्तर्गत नागरिकता पनि पाएका थिए। १९८० को दशकमा भुटानी सरकारले लिएको एक देश, एक भाषा र एक भेषको नीतिको विरोधमा सुरु भएको संघर्षको परिणामस्वरूप एकलाख भन्दा बढी शरणार्थीहरूको बोझ नेपाल राष्ट्रले बेहोर्नुपर्यो र यही शरणार्थी काण्डले नेपाल आज तरंगित छ। संयुक्त राष्ट्र संघको युएनएचसिआरको मध्यस्थतामा विभिन्न ठाउँमा व्यवस्थापन गरिएका बाहेक नेपालको झापा जिल्लाअन्तर्गत बेलडाँगी र शनिश्चरे शरणार्थी क्याम्पमा अझै करिब ६,३६५ भुटानी शरणार्थीहरू व्यवस्थापन गर्न बाँकी छ।

दुई दशक भन्दा बढी समयसम्म शरणार्थी शिविरमा कहालीलाग्दो अवस्थाबाट गुज्रिनुपरेको नेपाल अवस्थित भुटानी शरणार्थी समस्यालाई संसारको सबैभन्दा लामो समयसम्म उपेक्षित एउटा शरणार्थी समस्याका रूपमा मानिन्छ। सरकारी र विभिन्न स्तरबाट यो समस्या सुल्झाउन नेपालको तर्फबाट असफल प्रयासहरू भए। यसमा भारतको एकतर्फी भूमिका त थियो नै, नेपालबाट विभिन्न बेलामा भुटान वार्ताका लागि जाने प्रतिनिधिहरूको भूमिका पनि इमानदार थिएन। 

भुटानको चतुर र विज्ञ प्रतिनिधिहरूसँगको वार्तामा उनीहरूले केही हासिल गर्न सकेन र चारीत्रिक पक्षबाट लोभी ठहरिए। संयुक्त राष्ट्र संघमा उच्च पदमा कार्यरत एकजना भुटानी प्रतिनिधिले मसँग कुरा हँुदा यसै सन्दर्भमाअंग्रेजीमा भनेका थिए ‘नेपाली पोलिटिसियन्स आर भेरी एजिली गेट सोल्ड’ (नेपाली राजनीतिक प्राणीहरूलाई सजिलै किन्न सकिन्छ )। भुटानका प्रशासक र मन्त्रीहरू अत्यन्त शिक्षित र प्रशिक्षित छन् र आफ्नो विषयमा विज्ञ छन्।

नेपालका नेता कस्ता छन्, हामी सबैलाई थाहा छ। यहाँबाट जाने प्रतिनिधिहरूलाई विमानस्थलबाटै अत्यन्त सम्मानका साथ स्वागत गरिने र बसुन्जेल उच्च सम्मान र आतिथ्य सत्कार प्रदान गरिने गरिएछ। उहाँहरूको भ्रमण पिकनिक गएको जस्तै बनाइएछ र फर्किँदा झोलाभरी उपहार दिइएछ। तर भ्रमणको उद्देश्य तुहाएर पठाउने काम गरिएछ। आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीहरू आज भुटानी शरणार्थी भए पनि उनीहरूका पुर्खा यसै धर्तीबाट गएका थिए, तिनका पीडामाथिपनि शोषण गर्ने मौका छाडिएन। यस्तो कामपनि भ्रष्टाचार हो र अमानवीय हर्कत हो जुन अधिकांशको आँखामा पर्दैन। यस्तो विषयमापनि अनुसन्धान र अध्ययन हुनुपर्छ।

संयुक्त राष्ट्र संघमा उच्च पदमा कार्यरत एकजना भुटानी प्रतिनिधिले मसँग कुरा हुँदा यसै सन्दर्भमा अंग्रेजीमा भनेका थिए ‘नेपाली पोलिटिसियन्स आर भेरी एजिली गेट सोल्ड’ (नेपाली राजनीतिक प्राणीहरूलाई सजिलै किन्न सकिन्छ )।

लगभग ८५ प्रतिशत शरणार्थीलाई अमेरिका लगेर व्यवस्थापन गर्ने काममा द्रव्य पिपासु गिद्धहरूको दृष्टि नपर्ने कुरै भएन। अमेरिका जान पानीजहाजको कन्टेनरमा सामानसँगै मिसिएर र लेटिन अमेरिकाको खतरनाक अमेजनको जंगलबाट गुज्रिँदै महिनौँ लगाएर त्यसमा पनि पचास पचास लाख रूपैयाँसम्म दिएर अमेरिका पुग्नेहरूको आजपनि कमी छैन नेपालमा। यहाँ त शरणार्थी भएको प्रमाणपत्र मात्र बनाए पुग्ने कुरा थियो। तरिका सिकाउन यहाँका नोकरशाहहरू कम छैनन्। बहुदलीय व्यवस्था आइसकेपछि नेताहरूलाई भ्रष्ट बनाउन र तरिका सिकाउनमा यहाँका अवसरवादी प्रशासकहरूको हात छ। अल्पज्ञानी र कमजोर चरित्र भएका तथाकथित नेताहरूले उचित सल्लाहकार राखेको भए पो उचित सल्लाह दिन्थे। त्यो सल्लाहकारको ठाउँमा आसेपासे राख्नेहरू खाल्डोमा नजाकिने कुरै भएन। सबुद प्रमाण र अरू प्रभावको बुतामा भोलि बाँच्न सक्लान् तर निधारमा लागेको कलंक आजीवन रहिरहनेछ र यिनीहरूको मृत्युपछि पनि इतिहासमा कलंकितरूपमा रहिरहनेछन्।

कुनैबेला नेपालीहरू विश्वसामु बहादुरी र इमानदारिताका लागि प्रसिद्ध थिए। विश्वका महान् पर्वत आरोहीहरूको रूपमा चिनिने गरिन्थे। २५०० वर्षअघि विश्व गुरु बुद्ध जन्मेका नेपाल बुद्ध र माउन्ट एभरेस्टबाट विश्वसामु परिचित थिए। आज यो देशका प्रतिनिधि नेताहरूले विश्वसामु नेपाललाई घोटालाबाजहरू र बेइमानहरूको रूपमा चिनाउन सफल भएका छन्। नेपाललाई सिप नचाहिने काममा प्रयोग हुने मजदूर बेच्ने देशका रूपमा चिनाउन सफल भएका छन्। नेपाललाई हरेक क्षेत्रमा अत्यन्त अव्यवस्थित, फोहोरी र यहाँका सहरहरूलाई धुलोमय, सास लिन पनि गाह्रो हुने देशका रूपमा पर्यटकमाझ चिनाउन सफल भएका छन्। हालको भुटानी शरणार्थी काण्ड र यसका अभियुक्तहरूले देशलाई अन्तर्राष्ट्रिय स्तरमै अत्यन्त बदनाम गराइ सबै नेपालीको टाउको निहुराइदिएका छन्। प्रमुख पार्टीका नेताहरू एकार्कालाई हिलो छ्याप्नु र आफ्नोलाई बचाउ गर्नमा व्यस्त छन्।

कुनैपनि मुलुकमा शासन व्यवस्था सही बाटोमा डोर्याउने दायित्व त्यहाँका राजनीतिक नेताहरूको हुन्छ। इमानदार नेता भएको मुलुकमा विकास हुन्छ अन्यथा त्यो मुलुक कुशासन र भ्रष्टाचारको दलदलमा भासिँदै जान्छ र अन्त्यमा असफल मुलुकमा परिणत हुन्छ। उदाहरणीयरूपमा आफ्नो मुलुकलाई नेतृत्व दिने महान् नेताहरूमा हामी सबैले सिंगापुरका ली क्वान यु, मलेसियाका महाथिर मुहम्मद र चीनका देंग सियायो पेंगको नाम लिने गर्छौँ। राजनीति आदर्श पथमा हिँडेको मुलुकमा कर्मचारीतन्त्र, प्रहरी प्रशासन राजनीतिक नेतृत्वअनुरूप चलेको हुन्छ। 

कुनैपनि देशको कर्मचारीतन्त्र त्यो देश सञ्चालन गर्ने यन्त्र जस्तै हो। यन्त्र शिल्पीको हातमा पर्यो भने ढुंगापनि सुन्दर आकृतिमा परिणत हुन्छ र चोर डाँकुको हातमा पर्यो भने त्यो लुट्न र डकैती गर्न प्रयोग हुन्छ। भ्रष्ट राजनीतिबाट ग्रसित मुलुकमा कर्मचारीहरूपनि लुटेराहरूको समूह जस्तै हुन्छ। त्यसकारण यो देशलाई कस्तो बनाउने भन्ने हैसियत वा क्षमता कर्मचारी वा प्रहरी प्रशासनमा होइन, बल्की राजनेताहरूमा हुन्छ। राजनीति सही बाटोमा हिँड्यो भने सबैकुरा स्वचालितरूपमा निख्खरहुँदै जान्छ। कुनैपनि नियुक्ति वा पदस्थापना पेसागत निपूर्णता र विज्ञताको आधारमा हुनुपर्छ। आजको नेपालमा यस्ता कुराहरूको कुनै महत्व छैन। आजभोलिको नेपालमा भ्रष्ट नेताहरूसँग जोरी खोज्ने वा टक्कर लिने प्रशासक टिक्दैन। यसकारण कुनैपनि संगठनलाई आरोपित गर्नुभनेको मूल जरो नहेरी पातलाई सराप्नु जस्तै हो। राजनीति मुहान हो। यो सफा हुनुपर्छ।

शरणार्थी प्रकरणमा सही अनुसन्धानका लागि प्रतिबद्धता र सोहीअनुरूपको वातावरण राजनीतिक स्तरबाट निर्माण गरिनुपर्ने हो तर चुनरीमा दाग नलागेको मान्छे हाल पाउनै गाह्रो छ। व्यावसायिक कुशलता भन्दापनि आफ्नो अनुकूलको मानिस छान्ने प्रचलनका पछाडि आफ्नो कालो कर्तुत लुकाउने कुरामा सहयोग होस् भन्ने अभिप्राय लुकेको कुरा प्रष्टै छ। राजनीतिमा देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि म र मेरो परिवार, आफन्त प्राथमिकतामा माथि पर्दै गएको परिप्रेक्ष्यमा सम्पन्न अनुसन्धान राजनीतिक हस्तक्षेप मुक्त थियो÷थिएन र राजनीतिक नेतृत्वले कस्तोखाले भूमिका निर्वाह गरेको छ भन्ने कुरा आउने दिनहरूमा अवश्य छर्लँग हुनेछ। यस शरणार्थी प्रकरणबाट जोडिएको काण्डले राजनीतिक व्यक्तिहरूलाई हेर्ने आमदृष्टिकोण अवश्यपनि झन बिग्रिएको छ र यसका संलग्न पात्रहरूले राजनीतिलाई बेइज्जत गरेका छन् ।

पूर्वप्रहरी वरिष्ठ उपरीक्षक

प्रकाशित: २३ जेष्ठ २०८० ००:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App