coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

काठमाडौं- तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरिने भएको छ। पोखरामा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमा चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति बनेको छ।  सभापति देउवा पक्षले दलको अध्यक्ष र नेता पौडेल पक्षले महासचिव लिने र अन्य पदमा पनि मिलाएरै लैजाने सहमति बनेको एक नेताले जानकारी दिए। दुई नेताबीच सहमतिमै नयाँ नेतृत्व टुंगो लगाउने समझदारी बनेसँगै पार्टी निर्देशक समिति आन्तरिक तयारीमा जुटेको छ।
आइतबार बिहानसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लाका प्रतिनिधि टुंगो लगाउनुको साथै पार्टीभित्र विद्यमान गुटहरूमध्ये कसले केके पाउने भन्ने सैद्धान्तिक आधार तयार गर्नेछन्। 'अर्को पार्टीसँग लड्नुपर्ने बेलामा आन्तरिक झगडा र विवाद अब धेरै गर्नुहुन्न भन्नेमा दुवै नेता पुग्नुभएको छ,' स्रोतले भन्यो, 'सहमतिमा नेतृत्व चयन गरेर पोखराबाट सकारात्मक सन्देशसहित कांग्रेस फर्कनेछ।'
कसले कुन पद पाउने भन्ने टुंगो लागिनसकेको जनाउँदै एक नेताले भने, 'के र कति पाउने भन्ने भएपछि मात्र व्यक्तिको कुरा हुन्छ।'
देउवा पक्ष जितजङ बस्नेतलाई अध्यक्ष बनाएर अन्य पदमा नेता पौडेलका साथै पार्टीभित्रका अन्य गुठलाई समेटेर अघि बढ्ने  तयारीमा छ। 'एक चरणमा कुराकानी भएको छ,' एक नेताले भने, 'निर्देशक समितिमा कुनै कुरा मिलेन भने नेताहरू बसेर अन्तिम टुंगो लगाउनुहुन्छ।' 
देउवा पक्षले अध्यक्ष लिएमा पौडेल पक्षले उपाध्यक्ष, महासचिवसहितका पदमा दाबी गर्ने तयारी छ। 'सम्मानजनक सहभागिता हुन्छ भने सहमतिबाट नेतृत्व चयन गर्न हामी तयार छौं,' पौडेलनिकट एक नेताले भने, 'सबै पद आफैं राख्ने अनि सहमति गरौं भन्ने कुरा सम्भव छैन।' नयाँ नेतृत्वका लागि दुवै पक्षबाट दर्जनजति नेता आकांक्षी देखिएका छन्।
महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका शीर्ष नेताहरूले स्थानीयदेखि केन्द्रसम्मको निर्वाचनको सामना गर्न पार्टीभित्र बृहत् एकता जरुरी रहेको औल्याउँदै मिलेर अघि बढ्ने सन्देश दिएका थिए। जब कि १३औं महाधिवेशनपछि भएको पार्टी संसदीय दलको नेता र कार्यसमितिका साथै नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशनमा सभापति देउवा र नेता पौडेल पक्षबीच प्रतिस्पर्धा भएको थियो।
उता महाधिवेशन उद्घाटन भइसक्दासमेत आधा दर्जन जिल्लाका महाधिवेशन प्रतिनिधि टुंगो लाग्न बाँकी छ। भक्तपुर र सप्तरीमा अधिवेशन प्रक्रिया सुरु भएको छैन भने धादिङ, बझाङ, सर्लाही र धनुषामा विवाद छ। 
तरुण दलको महाधिवेशन गराउन पार्टीले गठन गरेको निर्देशक समितिले राति बसेर विवादित जिल्लामा समाधानको प्रयास गर्ने भएको छ। 'केही जिल्लामा अझै समाधान हुन बाँकी छ,' समिति सदस्य रामकृष्ण यादवले भने, 'बन्द सत्र सुरु हुनुअघि नै सबै समस्या समाधान गर्ने प्रयासमा छौं।'
तरुण दलको महाधिवेशन २०६१ सालपछि पहिलो पटकसुरु भएको हो। २०६४ असोजमा दुई पार्टी एकतापछि भ्रातृ संगठनको नेतृत्व भागबन्डाको आधारमा समायोजन गरेको कांग्रेसमा २०६८ असोजमा तत्कालीन नेतृत्वले महाधिवेशन गराउन नसकेकेा भन्दै नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहित छ भ्रातृ संगठनको केन्द्रीय समिति विघटन गरेको थियो। पार्टी केन्द्रीय समितिले छ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नेगरी आयोजक समिति गठन गर्ने निर्णय गरे पनि तत्कालीन सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवा पक्षबीचको विवादले माघमा मात्र समिति गठन भएको थियो। सोही आयोजक समितिको अध्यक्षको हैसियतमा दलको नेतृत्व उदयशमशेर राणाले गर्दै आएका छन्। 

प्रकाशित: २८ कार्तिक २०७३ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App