८ वैशाख २०८१ शनिबार
विचार

अमेरिकी चुनावमा लोकतन्त्र

पृथ्वीनारायण शाहले नेपाल एकीकरण आरम्भ गरेकै समय अमेरिका स्वतन्त्रताका लागि क्रान्तिमा होमिएको थियो । लामो संघर्षपछि उसले स्वतन्त्रता हासिल ग¥यो । दुई शताब्दीबीच विश्वमा धेरै शक्तिशाली देशको उदय र पतन भयो । कतिपय देश अस्थिरताले कमजोर नै रहे । अमेरिकाले विकास र शक्ति वृद्धिको द्रुत गति समात्यो । फलस्वरूप दोस्रो विश्वयुद्धले विश्वकै सर्वशक्तिमानको स्थानमा पु¥यायो । विश्व राजनीतिमा विशेष प्रभाव जमाएको उसको वर्तमान जति गौरवशाली छ विगत उत्तिकै संघर्षले भरिएको छ । बेलायती उपनिवेश हुँदै स्वतन्त्रताको संग्राम पार गरेको अमेरिकाले गृहयुद्धसमेत झेल्यो । बाह्य हस्तक्षेपदेखि हिंसात्मक आन्तरिक द्वन्द्व झेलेको अमेरिका महाशक्ति बन्न सफल भयो । विभिन्न आरोह र अवरोहबीच परिपक्वता हासिल गरेको अमेरिकी लोकतन्त्र विश्वमै उदाहरणीय छ । सफलतम् प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली त्यहाँको लोकतन्त्रको सौन्दर्य हो । अमेरिकामा राष्ट्रपति चुनावमा उठ्ने मुद्दा र उम्मेदवारको व्यक्तिगत विषयले उत्तिकै प्राथमिकता पाउने गर्छ । त्यसैले महाशक्ति भएरमात्र होइन, उच्चतम आन्तरिक लोकतान्त्रिक प्रणालीअन्तर्गत हुने चुनावका कारण पनि अमेरिकाले विश्वको ध्यान खिच्न सकेको हो । अमेरिकी राष्ट्रपति चुनावमा कुन उम्मेदवारले जित्दा कुन देश, समुदाय र पक्षलाई लाभ हानी पुग्छ भनी व्याख्या विश्लेषण भइरहेछ ।

जनहितका मुद्दा

मतदाता आकर्षित गर्न झुटा आश्वासन र गर्न नसकिने वाचा अमेरिकी चुनावमा खासै चल्दैन । मतदातासँग गरिएको वाचा पूरा गर्न नसके चुनाव जित्नेमाथि नैतिक प्रश्न उठ्छ । त्यसैले उम्मेदवारले बोल्दा जे गर्न सकिन्छ त्योमात्र बोल्नुपर्ने बाध्यात्मक अवस्था देखिने गर्छ । यतिसम्म कि मिडियाले उम्मेदवारहरूले विगतमा कुनै पदमा रहँदा गरेको वाचा पूरा गरे कि गरेन भनेर गहिरो विश्लेषण गर्छन् । उम्मेदवारले के के गल्ती बोल्यो भन्नेसम्मको गहिरो अध्ययन गरी सप्रमाण खुलासा गरिहाल्छन् । विवेकशील जनतामाझ पुग्ने त्यस्ता सूचनाले उम्मेदवारप्रति समर्थन दिने÷नदिनेमा असर पुग्न सक्छ । जनहितको मुद्दा निकै गम्भीर हुँदा उम्मेदवारले दूरदर्शी विज्ञको टोली तयार गरी पदमा पुगेपछिको कार्यक्रम सार्वजनिक गर्छ। जे बोलिन्छ, त्यही गर्नुपर्ने नैतिक दायित्व हुँदा गर्न सकिने विषयमात्र उठाइन्छ । जसमा कर प्रणाली, स्वास्थ्य बिमादेखि शिक्षा र रोजगारीका अवसर सिर्जना गर्ने मुद्दा प्राथमिकतामा पर्छ । हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले चुनावी ¥यालीलाई सम्बोधन गर्दा र बहसका समयमा उम्मेदवारहरूले यी विषयलाई गम्भीरताका साथ उठाए ।

अमेरिकी चुनावको अर्को सौन्दर्य पे्रसिडेन्सियल डिबेट रह्यो । तीन चरणमा भएको उक्त बहसमा यसपटक व्यक्तिगत विषय निकै उठ्यो । तर दुवै उम्मेदवारले रोजगारी, स्वास्थ्य र शिक्षासम्बन्धी आफ्नो प्रष्ट नीति अघि सारे । हिलारीले भविष्यको जनशक्तिका लागि राज्यले पर्याप्त लगानी गर्नुपर्ने र त्यसले प्रतिफल दिने नीति प्रस्तुत गरिन् । आफूले विगतमा रोजगारीका अवसरहरू प्रशस्त सिर्जना गरेको र सोही नीतिअनुसार अगाडि बढ्ने ट्रम्पको भनाइ रह्यो । कसले कति थप रोजगारीको अवसर सिर्जना ग¥यो भन्ने तथ्यांकले अमेरिकामा निकै महत्व पाउने गर्छ । अमेरिकी राष्ट्रपतिले विदेश भ्रमण गर्दाको मुख्य एजेन्डामा रोजगारी सिर्जना पनि पर्ने गर्छ । उदाहरणका लागि बाराक ओबामाले भारत भ्रमण गर्दा आर्थिक सम्झौता गर्दा रोजगारीको अवसर सिर्जना गरेको भन्दै उपलब्धिको बुँदामा प्राथमिकताका साथ उठाए । कुन राष्ट्रपति कति सफल भन्ने निक्र्यौल पनि रोजगारी, स्वास्थ्य, शिक्षा, सुरक्षाका अलावा विदेश सम्बन्धमा हासिल गरेको उपलब्धि मुख्य हुने गर्छ । भविष्यमा अमेरिका हाँक्नेहरू सुरूदेखि नै यस्ता मुद्दामा केन्द्रित भएर अगाडि बढ्छन् ।

डोनाल्ड ट्रम्पले आफ्ना दलका प्रभावशाली टेड क्रुजदेखि जेब बुसलाई समेत पाखा लगाउँदा रोजगारी सिर्जनादेखि विदेश सम्बन्धमा आक्रामक अभिव्यक्तिलाई अस्त्र बनाए । आप्रवासीसम्बन्धी कडा नीति ल्याउनेदेखि मुसलमान समुदाय लक्षित विवादास्पद अभिव्यक्ति दिए । चीनले अमेरिकाबाट रोजगारीका धेरै अवसर खोसेको भन्दै अमेरिकी कम्पनीहरूलाई फर्काउनेसम्म भन्न भ्याए । बाराक ओबामालाई निरीह र कमजोर भन्दै अमेरिका हाँक्न नसकेको आरोप लगाउँदै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसलाई पूर्ण नियन्त्रणमा राख्न सकेको भन्दै प्रशंशा गरे । उनको आशय अमेरिकालाई बलियो र कठोर नेता आवश्यक छ भन्ने हो । विश्वका कतिपय देश र समुदायलाई चिढ्याउने ट्रम्पको अभिव्यक्ति अमेरिकी जनताको हित र राष्ट्रिय हितको रक्षार्थ हो भन्ने दाबी गर्नेहरू पनि छन् । तर उग्र अभिव्यक्ति दिने ट्रम्प अमेरिकी राष्ट्रपतिको स्थान लिन योग्य नभएको टिप्पणी ओबामाले मात्र नभई ट्रम्पकै दलका गनेचुनेका नेताहरूले पनि गरे ।

बहुमतको शासन, अल्पमतको सम्मान

लोकतन्त्र बहुमतको शासन हो । बहुमतले अल्पमतको सम्मान गर्नु र जित्नेले हार्नेको भन्दा फराकिलो छाति बनाएर नीति निर्माण र कार्यान्वयन गर्नु लोकतन्त्रको अर्को विशेषता हो । लोकतान्त्रिक संस्कृति भनेकै हारलाई सहर्ष स्वीकार गर्ने र जित्नेले हार्नेको उपयुक्त विचारलाई तेरो र मेरो नभनी अंगीकार गर्ने थिति हो । चुनावमात्र लोकतन्त्र होइन । चुनाव अघि र पछिका घटनाक्रमतर्फ नेतादेखि जनतासम्मले ध्यान केन्द्रित गर्छन् । अमेरिकी लोकतन्त्र चुनाव केन्द्रित नभई त्यसपछिको परिस्थितिमा केन्द्रित देखिन्छ । जनताले व्यक्तिलाई मात्र नहेरी जनसरोकारको मुद्दा हेरेर मतदानका बखत विवेक प्रयोग गर्छन् । अमेरिकीहरूले लामो लोकतान्त्रिक अभ्यासका क्रममा गलत उम्मेदवारलाई नचुनेको प्रमाणित गर्न सके । त्यसैले वाटरगेट काण्डमा मुछिएर ३७ औं राष्ट्रपति रिचर्ड नेक्सनबाहेक कुनै पनि अमेरिकी राष्ट्रपतिले राजीनामा दिनुपर्ने अवस्था आएको छैन । अमेरिकाले सायदै राजनीतिक अस्थिरता झेल्नुपरेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति चयनमा उम्मेदवारले तल्लो तहदेखि पार्टीको माथिल्लो तहसम्म चयन हुन राजनीतिका धेरै चुनावी परीक्षा पार गर्नुपर्छ । 

परिपक्व विदेश नीति

जसले जिते पनि अमेरिकी विदेश नीतिले मार्ग परिवर्तन गरिहाल्दैन किनभने अमेरिकी लोकतन्त्र व्यक्तिमा नभई पद्धति र प्रणालीमा आधारित छ । डेमोक्रयाट उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प जसले जिते पनि अमेरिकाको विदेश नीतिमा खासै परिवर्तन नआउने आधार विगतका घटनाक्रमबाट मिल्छ । ट्रम्प आतंकवादमाथि कठोर बन्ने बताउँदै आएका छन् । यसलाई उनको युद्ध गर्ने संकेत मान्ने गरिन्छ । मुसलमानलाई अमेरिका प्रवेशमा कडाईदेखि छिमेकी मेक्सिकनप्रति समेत कठोर बन्ने बताइसके । मेक्सिकोसँगको सीमामा पर्खाल ठड्याउने र त्यसको खर्च मेक्सिकोलाई नै तिर्न लगाउने अभिव्यक्ति विवादास्पद रह्यो । हिलारीचाहिँ दुवै समुदायप्रति केही नरम छिन् । विदेश मन्त्रीका रूपमा विश्वका धेरै मुलुक घुमिसकेकी उनले आफूले अन्तर्राष्ट्रिय सम्बन्धलाई नजिकबाट बुझेकाले अमेरिकाको हितमा काम गर्नसक्ने दाबी गर्दै आएकी छिन् । जसले जे÷जस्तो मुद्दा सारे पनि अमेरिकी विदेश नीति लहडको भरमा चल्दैन। गहिरो अध्ययन अनुसन्धानबाट विज्ञहरूको उपयुक्त सुझावअनुसार दूरदर्शी नीति बनाएर कार्यान्वयनमा पु¥याइन्छ। हिलारी या ट्रम्प जो राष्ट्रपति भए पनि अमेरिकाले राष्ट्रिय स्वार्थका लागि जे गर्नुपर्ने हो त्यही गर्छ । चुनावमा जसको बोली जति कडा या नरम भए पनि विदेश नीतिमा खासै फरक नआउला । व्यक्ति फरक हुँदैमा नीति फरक हुँदैन किनभने अमेरिकी समाज व्यक्तिप्रधान नभई नीतिप्रधान देखिन्छ ।

समृद्धिको मुटु लोकतन्त्र

अन्तमा, अमेरिकाको आवधिक चुनावले त्यहाँको आर्थिक गतिविधिलाई ठप्प बनाउँदैन । बरू आर्थिक गतिविधिलाई ऊर्जा प्रदान गरेको देखिन्छ । राजनीति एकातर्फ चलिरहन्छ, आर्थिक गतिविधि अर्कोतर्फ चलिरहन्छ । मतदाता विवेकशील भएकाले दलहरूले खडा गर्ने उम्मेदवार सशक्त नै हुन्छ । दलको माथिल्लो निकायको निर्णयले मात्र कोही उम्मेदवार बन्न पाउँदैन । तल्लो तहले समेत रुचाएको व्यक्ति हुनुपर्ने पद्धति विकास गरेको देखिन्छ । उम्मेदवारले सपना देखाउनेभन्दा काम गरेर देखाउने नीति जनतासामु प्रस्तुत गर्छ । अमेरिका त्यसै महाशक्ति बनेको होइन, उसको सफलतम आन्तरिक लोकतान्त्रिक अभ्यासले प्रदान गरेको राजनीतिक स्थिरता मुख्य आधार देखिन्छ । स्वतन्त्र र धाँधलिरहित चुनाव, चेतनशील नागरिकको राजनीति र नागरिक जीवनमा सक्रिय सहभागिता, सबै नागरिकको मानव अधिकारको समान संरक्षणका अलावा सबैप्रति समान व्यवहारको कानुनको शासनको उच्चतम प्रयोग देखिन्छ । हरेक पद्धति र प्रणालीमा त्रुटि हुन्छन् । अमेरिकी लोकतन्त्रको अभ्यासअन्तर्गत चुनावमा पनि त्रुटि देखिएका छन् । त्यसका बाबजुद उसको राजनीतिक पद्धति र प्रणालीको उच्चतम अभ्यास उदाहरणीय छ । अमेरिकाको भू–राजनीतिले मात्र उसलाई महाशक्ति बनाएको होइन, सफल लोकतान्त्रिक अभ्यास उसको समृद्धिको मुटु हो । पृथ्वीनारायण शाहले काठमाडौं जितेर एकीकरणको नयाँ अध्याय आरम्भ गर्नुभन्दा नौं वर्षपछि स्वतन्त्र बनेको अमेरिका लोकतान्त्रिक प्रणाली सही तरिकाले लागु गर्दै आन्तरिकरूपमा बलियो बनेर बाह्य संसारमा प्रभाव जमाउन सफल भएको हो । जिउनुमात्र कुनै देशको उपलब्धि होइन, जीवन्त हुनुमा उसको अस्तित्वको सार्थकता ठहर्छ । अमेरिकी लोकतन्त्रले उसको जीवन्त र सार्थक इतिहास कोरिरहेछ।

प्रकाशित: २३ कार्तिक २०७३ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App