coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चीनतिरका विकल्पलाई पनि ध्यान दिनुपर्छ : उपाध्याय

काठमाडौं-भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्यायले चीनतर्फका विकल्पमा पनि ध्यान दिनुपर्ने बताएका छन्।

नेपाल वातावरण पत्रकार समूहले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उपाध्यायले चीनले नेपालको सीमासम्म रेल ल्याउने भन्दै त्यस विषयमा पनि सोच्नुपर्ने बताएका छन् । ‘चीनले रेल ल्याउने कुरा गरेको छ । हामीले पनि तिब्बत तथा चीनसँग हुनसक्ने व्यापारको विषयमा सोच्नुपर्छ,’ उनले भने, ‘विकल्पहरू तयार भएपछि सार्वभौम देशले केही गर्न नपाउने भन्ने हुँदैन । विकल्प तयार नपार्ने अनि बुरुक्क उफ्रेर मात्रै हुँदैन । टेक्ने आधार हुनुप¥यो ।’ चीनले सन् २०२० सम्म नेपालको उत्तरी सीमामा पर्ने केरुङसम्म रेल ल्याउने गरी काम अघि बढाएको छ ।

उपाध्याय दोस्रो पटक भारतका लागि राजदूत नियुक्त भएका हुन् । उनी जिम्मेवारी सम्हाल्न यसैसाता नयाँदिल्ली जाँदैछन् । कार्यक्रममा उनले समस्या हजारौं देखाउन सकिने बताउँदै भने, ‘अहिले चाहिएको समाधान हो । समाधानका उपाय केके हुन्, खोज्नुपर्छ । विकल्प तयार भएपछि सार्वभौम देशलाई कसले रोक्न सक्छ ?’

दीर्घकालीन हितलाई हेरेर नीति बनाउने काम अहिलेसम्म हुन नसकेको उनको भनाइ थियो । नाकाबन्दी भएर नेपालीले दुःख पाएको बताउँदै उनले भने, ‘हाम्रा सम्झौताहरूमा एकतर्फी रुपमा रोकिँदा क्षतिपूर्तिको व्यवस्था पनि छैन । हामीले व्यापार र राजनीतिक विषयलाई छुट्टाछुट्टै अघि बढाउनुपर्छ ।’ भारतले गत वर्ष नेपालमाथि नाकाबन्दी लगाउँदा उपाध्याय नै राजदूत थिए।

कार्यक्रममा चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले द्विपक्षीय र बहुपक्षीय विषयमा आफूहरूले सल्लाह दिने तर त्यसलाई कसरी अघि बढाउने भन्ने जिम्मेवारी सरकारको भएको बताए । उनले गर्न सकेजति काम इमानदारीपूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘छिमेकी देशहरूले वातावरणलगायतका विषयमा धेरै अध्ययन, अनुसन्धान गरेका छन् । त्यसबाट हामीले सिक्न सक्छौं,’ उनले भने, ‘डाटाहरू सेयर गर्न सक्छौं । हामीले विश्लेषण गर्ने र सूचना दिने हो, काम गर्नुपर्ने सरकारले नै हो।’

वातावरण पत्रकार समूहका महासचिव रमेश भुसालले कार्यक्रममा वातावरण कूटनीतिसम्बद्ध विषयबारे जानकारी गराएका थिए । उनले दक्षिण एसिया र चीनसँग नेपालले पानी, ऊर्जा, जलवायु परिवर्तन, अन्तरसीमा प्रदूषण, वन्यजन्तु संरक्षण÷वन्यजन्तु व्यापार, अन्तरसीमा अनुसन्धान तथा डाटा सेयरिङ, प्राकृतिक प्रकोपमा उद्धार तथा पूर्वतयारीका विषयमा सहकार्य बढाउनुपर्ने बताए।

विश्वमा उदाउँदो शक्तिका रुपमा रहेका चीन र भारतले अन्तर्राष्ट्रिय स्तरमा वातावरण विषयक नीति निर्माणमा लिने अडानले प्रभाव पार्ने गरेको छ । राजदूत पौड्याल र उपाध्यायले वातावरणको विषय यी दुवै देशसँग सहकार्यमा अघि बढाउन प्राथमिकता दिएर काम गर्ने बताए।

कार्यक्रममा जलस्रोत विज्ञ दीपक ज्ञवाली, पूर्व वातावरण सचिव कृष्ण ज्ञवाली र पूर्व राजदूत मोहनमान सैंजूले वातावरण र कूटनीति क्षेत्रका विविध विषयमा चर्चा गरेका थिए।

 

प्रकाशित: २२ कार्तिक २०७३ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App