७ वैशाख २०८१ शुक्रबार
राजनीति

पाल्पामा दश स्थानीय तह बनाउने सहमति

पाल्पा–पाल्पामा स्थानीय तह पुनर्संरचना गर्दा दश स्थानीय तह बनाउन दलहरु सहमत भएका छन्। हाल रहेका दुई नगरपालिका मध्ये तानसेनमा सिमाना थप गर्ने, रामपुर नगरपालिकालाई यथावत राख्ने र अन्य आठ गाउँपालिका बनाउन दलहरु सहमत भएका हुन्।

अब पाल्पामा गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित, स्वायत्त क्षेत्रको संख्या दश कायम हुने भएको छ। जिल्ला विकास समितिको सभाहलमा दुई दिनसम्म चलेको बैठकले दश स्थानीय तहको सिफारिस स्थानीय तह पुनर्संरचना आयोगलाई गरेको हो।

यससँगै जिल्लाभित्र नेपालको संविधान २०७२ अनुसार कायम हुने स्थानीय सरकारहरुको खाका,  सिमाना, नामाकरण तथा केन्द्रहरु कहाँ कसरी राख्न सकिन्छ भनेर सरोकारवालाहरु बीचमा छलफलमा जुटेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक कृष्णप्रसाद पाण्डेले बताए। उनले भने, ‘संख्या दश रहने तय भएको छ । केन्द्रका विषयमा हालसम्म छलफल अगाडि नबढाइए पनि संख्या तय भएसँगै नामाकरण तथा केन्द्र तय गर्न छलफलमा जुटेका छौं।’

जिल्ला सदरमुकाम रहेको तानसेन नगरपालीकामा अर्गली, बौघापोखराथोक, बौघागुम्बा, तेल्घा, मदनपोखरा, बन्दीपोखरा र बराङ्दी गाविसको वडा नं. २, ३, ४, ५ र ६ थपिने भएको छ। जिल्लामा अहिले रहेका बराङ्दी र हेक्लाङ्ग गाविसको सिमाना टुक्रिएको छ। अन्यलाई यथावत् राखिएको छ।

सिफारिस भएको स्थानीय तह नं. १ मा बाकामलाङ, सहलकोट, झिरुबास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे रहेको छ । दुईमा रामपुर नगरपालीका । तीनमा हुँगी, फोक्सीङकोट, ताहुँ, पिपलडाँडा, हुमिन र हेक्लाङ्ग गाविसको वडा नं. ९ । चारमा सिलुवा, रिङनेरह, जल्पा, विरकोट, देविनगर र हेक्लाङ्ग गाविसको वडा नं. १ देखी ८ सम्म रहेको छ ।

पाँचमा बहादुरपुर, रहबास, गोठादी, झडेवा, रुप्से, चिदीपानी र कसेनी । छ मा कोलडाँडा, मस्याम, दोभान र कचल गाविस । सातमा पोखराथोक, चिर्तुङ्गधारा, नायरनमतलेस, खानीछाप, चापपानी, दर्लमडाँडा, यम्घा, खानीगाउँ र बराङ्दी गाविसको १, ७, ८ र ९ गाउँपालिका हुने भएको छ । आठमा तानसेन नगरपालीका रहेको छ । त्यस्तै नौ तहमा फेक, पालुङमैनादी, ठिमुरे, कुसुमखोला, भैरवस्थान, खस्यौली, देउराली र ख्याहा। दशमा सत्यवती, बल्ढेङगढी, जुठापौवा, छहरा, मुझुङ, भुवनपोखरी, सोमादी र सिद्देश्वर गाउँपालिकाको रुपमा सिफारिस भएको जिल्ला स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जनाएको छ ।

 ‘जिल्लामा दश स्थानीय तह बनाउन हामी सहमत भयौं। यसमा केही जनताका विामतिहरु छन्, तर त्यसलाई मिलाउन लागि परेका छौं,’नेपाली कांग्रेसका सभापति वीरबहादुर रानाले भने । अत्यन्तै जटिल र संवेदनशील विषय भएकोले सबैले यसलाई गम्भिरता पूर्वक लिनु पर्दछ, उनले भने । केन्द्र र नामाकरणका सम्भावित कुराहरुलाई छलफलमा अगाडी बढाउने छौं ।

जिल्ला पुनर्संरचना भैसकेपछि अहिले गाविसबाट प्रदान गरिएका सेवासुविधाहरु वडा मार्फत् प्राप्त हुन्छ । जिल्लाबाट प्राप्त भैरहेका सुविधा स्थानीय सरकारबाट प्रदान गरिने समितिले जनाएको छ । पुनर्संरचना गर्दा जनसंख्या, सन्निकटताको सिद्धान्त, समावेशी, प्रतिनिधित्व र भौगोलिक अवस्थितिलाई ध्यान दिईएको समितिका संयोजक कृष्णप्रसाद पाण्डेले बताए । जिल्लामा कति निर्वाचन क्षेत्र रहने भन्ने विषय सीमाना निर्धारण भैसकेपछि मात्र गर्न सकिने समितिले जनाएको छ ।

 

प्रकाशित: २१ कार्तिक २०७३ ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App