८ वैशाख २०८१ शनिबार
विचार

सवारी सुरक्षाको सुनिश्चितता

प्रदीप पाैडेल

संसारको जुनसुकै कुनामा पनि सवारी दुर्घटना भएकै हुन्छन् । दुर्घटनालाई भाग्यसँग जोडेर कोही पनि उम्कन मिल्दैन । सयवटा स्याउमा एउटा बिग्रनु र दश हजारमा पनि एउटा बिग्रनुले फरक अर्थ राख्छ । प्रत्येक हप्ताजसो हामीले नेपालमा सार्वजनिक यातायातको दुर्घटनाबारे केही न केही समाचार सुनिरहेका हुन्छौं । ती दुर्घटनाले कैयौंका बालबच्चा, कसैका जीवन साथी, कसैका आमाबुबा खोसिरहेका हुन्छन् । यस्तो दुर्घटना निर्मूल गर्न नसके पनि केही पहलीकदमीले न्यून गर्न भने पक्कै सकिन्छ । विकसित देशका केही राम्रा पक्ष अवलोकन गर्दा नेपालमा पनि केही सही अभ्यास गर्न सकेमा पक्कै दुर्घटना न्यून गर्न सकिन्छ ।

सवारी सुरक्षाका आयाम ः यस्ता आयाम हेर्दा तिनलाई चार भागमा विभाजन गर्न सकिन्छ ः क) व्यक्ति, ख) सवारी,  ग) प्रविधि र पूर्वाधार घ) नीतिनियम ।

व्यक्तिः आफ्नो कमजोरी र सवारी चलाउने कौशलता पहिचान गरी सवारी चलाउने । आक्रामकभन्दा रक्षात्मक ड्राइभिङलाई प्रोत्साहन गर्ने । नशा, औषधि, लागु पदार्थ तथा भावात्मक आवेगमा सवारी नचलाउने । पर्याप्त आराम र खानपिनका ध्यान राख्ने । शारीरिक र मानसिकरूपमा चुस्तदुरुस्त रहने । सवारीभित्र अनावश्यक वादविवाद र गालीगलौज नगर्ने । आफूअगाडिका चुनौती पहिचान गरी उचित निर्णय लिएर सवारी चलाउने (हेर, सोच र कार्य गरको सिद्धान्त अपनाउने) । उचित सिप र तालिम आवधिकरूपमा वृद्धि गरिराख्ने । यात्री, चालक तथा सहचालक सबैले अनुशासनमा रहने र एकअर्कालाई सम्मान गर्ने।

सवारीः  चलाउनपूर्व सवारीको अत्यावश्यक जाँच गर्ने (जस्तै ः ब्रेक, लाइट, हर्न, इन्धन आदि) । सवारीको नियमित चेक जाँच गराउने, मर्मत गराउने । सकेसम्म गाडीको सम्बन्धित कम्पनीको उचित र गुणस्तरयुक्त पार्टपुर्जा राख्ने । विश्वासिलो वर्कसप र मिस्त्रीबाट आवधिकरूपमा सर्भिसिङ गराउने । सवारीको क्षमताभन्दा बढी भार नबोक्ने । सवारीभित्रको वातावरण अनुकूलित अवस्थामा राख्ने ।
प्रविधि र पूर्वाधार ः ट्राफिक बत्तीको सुनिश्चितता र वैज्ञानिकरूपमा तालमेल मिलाउने । सवारी पछ्याउने प्रविधिको सुनिश्चितता गर्ने । सवारीको गति नाप्ने प्रविधि जडान गर्ने । बाटोघाटो, पुलपुलेसाको उचित मर्मत सम्भार । सचेतमूलक र संकेतमूलक सूचनाको पर्याप्त व्यवस्था गर्ने । इमर्जेन्सी रेस्पोन्स समूह र प्रविधिको यथासक्य व्यवस्था गर्ने ।

नीतिनियमनः  यातायातलगायत समग्र सबै क्षेत्रमा भ्रष्टाचारमा शून्य सहनशीलता राख्ने । वैज्ञानिक लाइसेन्सिङ प्रक्रिया तथा व्यावहारिक परीक्षाको सडकमै गुडाएर परीक्षा लिनुपर्ने । ड्राइभिङका व्यावहारिक पक्ष समेटिनुपर्ने । सवारी नियमन, सवारी जाँचमा विशेष ध्यान दिनुपर्ने । निरोगिता र गाडीको जाँचजस्ता महत्वपूर्ण कुराहरु काम टार्नेभन्दा पनि साँचो अर्थमा हुनुपर्ने । सवारी क्षेत्रमा काम गर्ने व्यवसायी, कर्मचारी र यात्रीलाई ‘कोड ओफ एथिक्स’को व्यवस्था गर्ने । सरोकारवालाको सर्वपक्षीय छलफल तथा समन्वयमा सवारी सुरक्षाको विषयमा सबै संवेदनशील भई उचित लगानी व्यवस्था गर्ने । गाडी भाडा वा सवारी कर सुनिश्चित गर्दा सवारी सुरक्षालाई केन्द्रमा राख्ने । सवारी सुरक्षासम्बन्धी शिक्षा, सूचना तथा तालिमहरु अद्यावधिकरूपमा सम्बन्धित पक्षलाई जानकारी गराउने ।

अन्त्यमा, जीवन अमूल्य छ । मानव जीवनमा कम्प्युटरमा जस्तो फेरि गर भन्ने बटन हुँदैन । सवारी चालक, यात्रु, सरकार, सवारी व्यवसायी र सम्बन्धित सबै पक्ष आफूलाई २–४ पैसा नाफा कसरी कमाउनेभन्दा कसरी सुरक्षा बढाउने भन्नेमा ध्यान पु¥याउन अति नै आवश्यक छ । स्मरण रहोस्, हामी सबै सवारी चढ्छौ र हामी सबै आफूलाई र आफ्नालाई प्रगाढ माया गर्छौं । सवारी सुरक्षामा लापरवाही ग¥यौं भने एक अर्को दुखद् समाचारले चाडपर्वमा मलिनता थप्नेछ र कालले पनि धिक्कार मान्नेछ ।

प्रकाशित: १० आश्विन २०७३ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App