४ वैशाख २०८१ मंगलबार
विचार

चीन र भारतसँग सन्तुलित सम्बन्ध

पृथ्वीनारायण शाहले हिमवत्खण्डका ससाना हिन्दु राज्य एकीकरण गरेपछि सबै भाइभारदारसमक्ष नेपाललाई कसरी सार्वभौम एकीकृत अधिराज्यका रूपमा राख्न सकिन्छ भन्ने निर्देशन गर्दै भनेका थिए– 'उप्रान्त यो राज्य दुई ढुङ्गाको तरुलजस्तो रहेछ। चीनको वादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध) राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ। देशका महाजनहरु हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्।' यो विचार अध्यावधि अनुकरणीय छ। चीन र भारत यी दुई ठूला देशहरुसँग सन्तुलित सम्बन्धलाई निरन्तरता दिइनु नेपालको परराष्ट्र नीति सफल हुनु हो। नेपालमा जुनसकै सत्ता परिवर्तन भए तापनि चीन तथा भारतसँग सन्तुलित सम्बन्ध कायम राख्न सकिएमा नेपाललाई आत्मनिर्भर बनाउन कुनै बाधा अड्चन आउँदैन। चीन र भारतबीचको मैत्री सम्बन्ध धर्म, संस्कृति, व्यापार तथा वैवाहिक आधारमा विकसित हुँदै आएको हुनाले चीन तथा भारतसँग सन्तुलन कायम राख्न अप्ठ्यारो छैन। नेपाल, चीन र भारतबीचमा सुमधुर मैत्री सम्बन्धको आधार धर्म, संस्कृति नै बनेको हो। किरातकालदेखि नै नेपालको आर्थिक, सामाजिक र धार्मिक जीवनको क्रम बसिसकेको थियो भन्ने कुरा बुद्धग्रन्थ 'मूल सर्वास्थिवाद विनय संग्रह' तथा 'कौटिल्यको अर्थशास्त्र' बाट थाहा हुन्छ। नेपालका विभिन्न राजवंशले भोट, चीन, भारत र अन्य देशसँग व्यापारिक सम्बन्ध कायम गरेको र भारत वर्षमा अयोध्याका युवराज रामको विवाह यस क्षेत्रका जनक राजाकी छोरी सीत्ाासँग भएको थियो। महान अशोक बौद्ध धर्मप्रति आस्थावान भएर बुद्धको जन्मथलो लुम्बिनी आएका र आफ्नी छोरी चारुमतीको विवाह नेपालका राजा देवपालसँग गराएका अनि पशुपति क्षेत्रको पश्चिम उत्तरमा चारुमती चैत्य निर्माण गरेर नेपालप्रति आत्मीय सम्बन्ध राखेका थिए।

नेपाल, चीन र भारतबीच आत्मीयता कायम भएमा चीनमा फ्रि तिब्बतको मुद्दा र नेपाल तथा भारतमा इसाईकरण गर्ने पश्चिमाहरुको षड्यन्त्र समाप्त हुनेछ र एशिया अशान्त बनाउने पश्चिमाहरुको खेलले पनि पूर्णबिराम लिनेछ।

एशियामा नेपाल र भारतको प्राचीन गौरवमय प्रतिष्ठाको वर्णन विश्वव्यापी भएको छ। राजनीतिक परिवर्तन र साम्राज्यवादी शक्तिको प्रभावले हिमाली क्षेत्रलाई सर्वाधिक असर पर्ने गरेको छ। भारतमा मुसलमान साम्राज्यलाई हत्याउँदै अंग्रजी साम्राज्यले प्रभाव जमाउन थालेपछि विक्रम संवत् १८०० देखि गोर्खाका राजा पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वबाट हिमवत्खण्ड नेपालका हिन्दु राज्य बचाएर विशाल नेपाल सिर्जना गरेका थिए। अग्रेजहरु अन्य मुलुकमा पस्दा पहिलो व्यापार, दोस्रो बाइबल, तेस्रो बुलेट लिएर पस्ने गर्थे। नेपालमा पनि व्यापार, बुलेट प्रयोग गर्नुभन्दा बाइबल र पैसालाई केन्द्रबिन्दु बनाएर प्रवेश गरेको थियो। नेपालमा आफ्नो प्रभुत्व कायम गर्न सक्ने नदेखे तापनि भोटसँग व्यापार बढाउने निहँुमा अपत्यक्षरूपमा प्रभुत्व जमाउन छाडेको थिएन। अंगे्रजहरु ठण्डी मुलुकमा बस्न चाहने भएकाले नेपाल जस्तो स्वस्थकर ठाउँको खोजीमा थिए। त्यसैले हिमवत्खण्डको यो क्षेत्रलाई कसैको डर थियो भने अंग्रेजकै थियो। त्यसैले पृथ्वीनारायण शाहबाट वनारसबाट हतियार बनाउने मुसलमान र मुसलमान यौद्धाहरुसमेत गोर्खामा लिएर आएकाले यहाँका साना राज्यका जनता र मुसलमानसमेतको सहयोगका कारण अंग्रेजले नेपाललाई आक्रमण गरिहाल्न अप्ठ्यारो परिरहेको थियो। तर पृथ्वीनारायणपछि कूटनीतिक षड्यन्त्रबाट नेपालमाथि आफ्नो उपस्थिति जनाइरहे। भारत सन् १९४७ मा आफू स्वतन्त्र भए तापनि नेपाललाई आफ्नो प्रभाव क्षेत्र बनाउनमा लागिरह्यो।

उत्तरतर्फको छिमेकी राष्ट्रसँग भौगोलिकरूपमा अप्ठयारो हुँदाहँुदै पनि सांस्कृतिक र वैवाहिक सम्बन्धका कारणले नेपाल–चीन सम्बन्धमा धेरै आत्मीयता गाँसिन पुगेको छ। चीनका सम्राट स्रोङचन गम्पोसँग नेपालकी राजकुमारी भृकुटीको वैवाहिक सम्बन्ध कायम गराएका कारण र हिमवत्खण्डको बढ्दो प्रतिष्ठाबाट प्रभावित भएर नेपालका लिच्छवि राजाहरुकी छोरी गुप्त राजाहरुले विवाह गरेर आफ्ना मुद्राहरुमा लिच्छवय उल्लेख गर्ने गरेका अनेकौं प्रमाणित घटना अध्ययन गर्दा नेपालको सार्वभौमसत्ता र प्रतिष्ठाको प्रभाव प्रारम्भकालदेखि नै रहँदै आएको हो। बाह्रौं शताब्दीमा चीनका वादशाह कुवले खाँनको आग्रहमा अरनिकोलाई झिकाएर स्तूप तथा प्यागोडा शैलीका दरबार बनाएको र महेन्द्र मल्लको समयकालदेखि भोटमा नेपालको मुद्रालाई चलनचल्तीमा ल्याएको थियो। यी तथ्यका कारण एशियामा नेपालको आफ्नै पहिचान र प्रतिष्ठा स्थापित भएको छ। नेपालको परराष्ट्र नीतिको सफलता भनेको चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम राख्नु हो। शान्तिपूर्ण सहअस्तित्वको कदर यसैबाट हुन्छ । नेपाल भूपरिवेष्टित मुलुक हो। भूपरिवेष्टित मुलुक भए पनि जन्मकालदेखि नै यसले आफ्नो सार्वभौमसत्तालाई सौदावाजी गर्न कसैलाई दिएको छैन।

पृथ्वीनारायण शाहको विशाल नेपालको एकीकरणको महान यज्ञ समाप्त पार्न कान्तिपुरका राजा जयप्रकाशलाई सघाउन कर्नेल किल्लोकको नेतृत्वमा २४०० अंगे्रज पल्टन पठाएको थियो र तर अंग्रेजी पल्टनलाई पृथ्वीनारायण शाहका फौजले आक्रमण गरेर भगाएका थिए। ठूलो प्रयत्नबाट ५४ स–साना राज्यहरुका एकीकृत विशाल नेपालको सिर्जना भएको हो। तर पनि अंगे्रजहरुले पछिसम्म नेपालमाथि गिद्धे नजर लाउन छाडेनन्। युरोपमा नेपोलियनको पतनपछि अंगे्रजले निहँु खोजेर नेपालमाथि सन् १८१५ मा आक्रमण गरिछाडे। नेपालको पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्मको भूभाग कब्जा गरे तापनि आफ्नो धर्म र संस्कृति बचाएर नेपाल सार्वभौम राष्ट्रका रूपमा रहिरह्यो।

भारत स्वतन्त्र बनाउन नेपालीले पनि रगत पसिना बगाएको इतिहास छ। नेपाली जनता र भारतीय जनताबीच गहिरो सम्बन्ध छ तर भारतमा कांग्रेस (आइ) सत्तासीन भएपछि नेपाललाई दुःख दिने काम गर्ने गरेको छ। भारतले नेपाललाई आफ्नो छातामुनि राख्ने अनेकौं प्रयत्नका बाबजुद २०६२ सालमा १२ बुँदे सहमतिका नाममा नेपालमाथि प्रभुत्व जमाउन खोजेकाले नेपाली जनता भारतसँग शंकित र नकारात्मक पनि भएका छन्। २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापनाका लागि भारतबाट धेरै सहयोग भएको तर त्यसबाट भारतले चाहेजस्तो फाइदा नदेखेकाले २०६२ साल मंसिरमा माओवादी, कांग्रेस, एमाले नेताहरु भेला गराएर १२ बुँदे सहमति गराइ जनआन्दोलनमा सहयोग पुर्‍यायो। नेपाली जनताबीचको एकता तोड्ने, युगौंदेखि स्थापित नेपालको पहिचान र मान्यता भत्काउने रणनीति उसले लिएको देखिन्छ। त्यसले गर्दा चीनसँगको सुमधुर सम्बन्धमा पनि सन्तुलन कायम रहेन र भारतको द्वैध नीतिका कारण शंका उब्जिएको परिस्थिति छ।

नेपालका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुको भ्रमणबाट चीनसँगको पुरानो सम्बन्धका कारण मैत्री सम्बन्ध कायम राख्न सजिलो भयो। २०१३ सालमा नेपालबाट प्रधान मन्त्री टंकप्रसाद आचार्यको पहिलो सरकार प्रमुखका रूपमा भ्रमण भएको र २०१६ सालमा प्रधान मन्त्री बिपी कोइरालाको भ्रमण र राष्ट्र प्रमुख राजा महेन्द्रको २०१८ सालमा औपचारिक भ्रमण भएको थियो। २०३२ मा राजा वीरेन्द्रको चीनको भ्रमणबाट पनि चीनसँग सौहार्द्धता बढेको थियो। नेपालले चीनको सार्वभौम मान्यता खल्बलाउने काम गरेको छैन। एक चीन नीतिमा नेपाल अहिले पनि कटिबद्ध छ। सन् १९७१ मा चीनले संयुक्त राष्ट्र्र संघको सदस्यता लिने बेला नेपालले राम्रो भूमिका खेलेको थियो। चीनले पनि नेपालको आर्थिक विकासका निम्ति धेरै सहयोग उपलब्ध गराएको छ। चीनसँग नेपालको १५० वर्षअगाडि केही खटपट भए तापनि पछिका दिनहरुमा गहिरो सम्बन्ध कायम हुँदै आएको छ। चीनले नेपालले गर्दै आएको सम्मानलाई ख्याल गरेर रेल्वे मार्गबाट वाणिज्य र पारबहन सुविधा बृहत् बनाउन चाहेकाले नेपाल–चीनबीचको सम्बन्ध आफँैमा सौहार्द्धपूर्ण देखिन्छ। २०४६ मा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि प्रधान मन्त्री बनेका गिरिजाप्रसादको राजनीतिक प्रतिशोधका कारण चीन र भारतबीच सन्तुलित सम्बन्ध कायम हुन सकेन। गिरिजा २०४८ मा प्रधान मन्त्री भएपछि चीनको सहयोगमा बनेका नाफामा चलेका सबै उद्योग गुन्द्रुकको मूल्यमा बिक्री गरेपछि नेपालसँग चीन शंकित भएको हुनुपर्छ।

नेपाल–चीनको मैत्री सन्दर्भको कुरा उठाउँदा २०१३ सालमा पहिलो सरकार प्रमुख टंकप्रसाद आचार्य र २०१६ मा बिपी कोइरालाबाट भएको हो भने वि.सं. २०१८ सालमा पहिलो राष्ट्र प्रमुखका रूपमा चीनको राजकीय भ्रमणमा जाने राजा महेन्द्र नै हुन्। दुवै प्रधान मन्त्री र राजा महेन्द्रबाट आधुनिक चीनमा सुमधुर मैत्री सम्बन्धको जग बसालिएको हो। नेपालमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि २०४८ सालमा प्रधान मन्त्री गिरिजाप्रसाद कोइराला र २०५२  सालमा नेकमा (एमाले)का नेता मनमोहन अधिकारीको प्रधान मन्त्रीको हैसियतबाट औपचारिक भ्रमण भएर नेपाल–चीनबीच सुमधुर मैत्री सम्बन्धमा वृद्धि भएको थियो।

प्रकाशित: ६ आश्विन २०७३ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App