८ वैशाख २०८१ शनिबार
अर्थ

गाँउमै रोजगारी पाउँदा स्थानीय दंग

स्थानीय विकास अधिकारीसँग कामको ज्यालाबापत नगद बुझ्दै दुधाँ कामी। तस्बिरः गोविन्द केसी

खिड्किज्युला (दैलेख)–  सिंहासैनकी दुधाँ कामी, ४५, निकै खुसी थिइन् । गाँउमै काम गरेर पैसा कमाउन पाइन्छ भनेर कल्पनासम्म गर्न नसकेकी उनले गाउँमै काम गरेर राम्रो आर्जन गरेपछि अनुहारै उज्यालो थियो ।

विपन्न गाउँलेलाई रोजगारी होस भनेर जिल्ला विकास समितिले ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको बजेटबाट बन्ने सडकको काममा स्थानीयलाई परिचालन गरेको हो ।
स्थानीय विकास अधिकारी हरि प्याकुरेलले गाउँमै गएर ज्याला बाँडेका थिए । प्याकुरेलको दुधाँलाई ९ हजार रुपैयाँ दिएर पैसा बाँड्ने काम सुरु गरेका थिए ।

उक्त पैसा घर खर्चदेखि छोराछोरीलाई नयाँ कपडा किनिदिने र बचेको पैसा पढाइमा खर्च गर्नेसम्मको योजना सुनाइन् । दुधाँले सडक खन्ने काममा १५ दिन खटिएबापत उक्त रमक बुझेकी हुन् । कार्यक्रम अन्तर्गतको सडक दुधाँ जस्तै १६ सय १२ विपन्न स्थानीयले खनेका थिए । उनीहरुलाई यसपटक ९६ लाख ११ हजार २ सय ८० रुपैयाँ ज्याला बाँडिएको जिल्ला विकास समितिले जनाएको छ । स्थानीयले १५ देखि २० दिनसम्म श्रम गरेबापत ५ हजारदेखि १० हजारसम्म नगद बुझेका छन् ।

कालीकोटसँग जोडिएको दुर्गम गाविस पिपलकोटको खिड्किज्युलामा लामो लाइन बसेर उनीहरुले ज्याला लगे । प्रहरी सुरक्षा घेराबीच आधा दर्जन कर्मचारीले पैसा बाँडेका थिए । ‘काम पनि पैसा पनि गाउँमै पाइयो,’ ज्याला थाप्न लाम बसेकी ४० वर्षीया निर्मला थापाले भनिन्, ‘कमाउन भारत गएका श्रीमानसमेत बोलाएर काममा लगाएर राम्रो कमाइ भयो ।’

पैसा बुझेपछि धेरैले खिड्कीज्युलामा घरासयी सामान किने । कतिले पुरानो ऋण तिरे । जिल्लाका पिपलकोट, राकमकर्णाली र सिंहासैन गाविसका १६ सय १२ जना गरिबलाई कामको ज्यालास्वरुप नगद बाँडिएको हो । कार्यक्रमले आफ्नै गाउँको विकाससँगै रोजगारी दिएको स्थानीय विकास अधिकारी प्याकुरेलले बताए । ‘जनता प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम हो,’ प्याकुरेलले भने, ‘विकास र रोजगारी एकैपटक भयो । स्थानीयको आर्थिक स्तर बढेको छ ।’

यसअघि चामल, दाल र नगदसमेत दिइन्थो । सहयोगी संस्था एमडिआईका कार्यक्रम संयोजक राजन लामेछानेले भने, ‘अहिले नगदमात्रै दिने गरेका छौं । उनीहरुले काम अनुसारको पैसा गाउँमै पाउँछन् ।’
जिल्लामा सडक खन्दा डोजर चलाएर निश्चित मान्छेले लाखौं कमाइरहेको बेला नागरिकलाई कामबापत पैसा दिँदा रोजगारी सिर्जना भएको राकमकर्णालीका गाविस सचिव केन्द्रबहादुर शाहीले बताए । ‘यो कार्यक्रमले गरिब परिवार लाभान्वित भएको छन्,’ उनले भने ।

 

 

प्रकाशित: १० असार २०७३ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App