coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदमा गृहमन्त्री र गगन थापाबीच सवाल जवाफ

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य गगन थापाले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा छानविन प्रभावित पार्ने गरी बम दिदीबहिनीको पक्षमा दिएको अभिव्यक्तिको थापाले विरोध गरेका छन्। उनले याे विषयमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने हिम्मत गर्नुभयो भनी गृहमन्त्री रामबहादुर थापालाई प्रश्न समेत गरे। मन्त्री थापाले पनि गगनलार्इ सम्बाेधन गरेरै जवाफ दिए।

निष्पक्ष छानविनलाई प्रभावित हुने कुनै पनि अभिव्यक्ति नराख्न हामीलाई अनुरोध गर्ने माननीय गृहमन्त्री ज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर यस्तो किन गर्नुभयो भनेर प्रश्न गर्नुभयो? के उहाँले प्रश्न गर्ने हिम्मत राख्नुभयो?

गगनको प्रश्नः

अनिता बम र रोशनी बम दुई जना दिदीबहिनीलाई सोधपुछ गर्नका निम्ति प्रहरीले साथमा लियो। आरोप प्रमाणित नहुँदासम्म कसैलाई पनि केही बोल्ने अधिकार छैन। तर ‘जनतासँग प्रधानमन्त्री’को कार्यक्रममा यो घटनासँग सम्बन्धित रहेका तथ्यहरुलाई तोडमोड त गर्नु नै भयो सम्माननीय प्रधानमन्त्री ज्यूले । यो छानविनलाई पनि प्रभावित पार्नेगरी आफ्नो विचारहरु राख्नुभयो। निष्पक्ष छानविनलाई प्रभावित हुने कुनै पनि अभिव्यक्ति नराख्न हामीलाई अनुरोध गर्ने माननीय गृहमन्त्री ज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेर यस्तो किन गर्नुभयो भनेर प्रश्न गर्नुभयो? के उहाँले प्रश्न गर्ने हिम्मत राख्नुभयो?

गृहमन्त्रीको जवाफ

माननीय गगन थापाज्यूले गम्भीर प्रश्न उठाउनुभयो– प्रधानमन्त्रीलाई तपाईले सोध्नुभयो कि भएन? यो हत्याकाण्ड ढाकछोप गर्ने खालको अभिव्यक्ति उहाँले दिनुभएको सन्दर्भमा। मलाई लाग्छ यसको जवाफ मैलै यहाँ दिइसकेको छु। प्रधानमन्त्रीलाई मैले प्रश्न होइन कि प्रधानमन्त्रीले मलाई आदेश/निर्देशन दिनुभएको छ। यो हत्या प्रकरण जो छ छिटो भन्दा छिटो परिणामसम्म पुर्याउनुपर्यो भन्ने उहाँले गम्भीर रुपमै गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ। त्यसकारण मलाई लाग्छ यस किसिमका अभिव्यक्ति उहाँले दिनुभयो भन्ने मैले बुझेको छैन्।  

प्रधानमन्त्री ओलीले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बमको हुर्मत लिने काम भएको बताएका थिए। उनीहरु दोषी भए कारबाही गरिने भन्दै उनले भनेका थिए, ‘तिनीहरु दोषी हुन् कि होइनन् छानबिन गर्नुपर्छ। उनीहरु पनि अविवाहित महिला हुन, तिनकाे पनि जीवन होला, तिनका पनि सपना होलान्। तिनको पनि इज्जत छ। यसो गर्थे, उस्तो गर्थे, झुट र अनुचित कुरा उचालेर हुर्मत लिने? यस्ता कुरा ल्याउन मिल्छ?’ 

संसदमा बोल्दै कांग्रेसका सांसद अमरेशकुमार सिंहले राज्यभन्दा शक्तिशाली मान्छे को भनी गृहमन्त्रीलाई प्रश्न गरेका थिए। ‘छानविन समितिका सदस्य वीरेन्द्र केसीले शक्तिशाली अपराधीबाट हत्या हुनसक्ने दाबी गरेका थिए। राज्यभन्दा शक्तिशाली मान्छे को हो? गृहमन्त्रीले हामीलाई बताइदिनुपर्यो। वा राज्य त्यही मान्छेलाई जिम्मा लगाइदिनुपर्यो।’ जवाफमा गृहमन्त्री थापाले शक्तिशाली को त्यो केसीले नै भन्न सक्ने भन्दै कुरा टारेका थिए। 

प्रकाशित: २९ भाद्र २०७५ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App