coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

निगमको साख र नयाँ जहाज

नेपाल वायुसेवा निगम फेरि एक पटक जुर्मुराउने प्रयत्नमा छ।  राष्ट्रिय ध्वजावाहक नेवानिलाई दुई वटा वाइड बडी (एयरबस) जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँ ऋण लिनका लागि सरकार जमानी बस्न तयार भएपछि यसले जुर्मुराउने अवसर पाएको हो। निगमले विगतमा लन्डन, पेरिस, फ्रान्कफर्ट, ओसाका, सांघाइलगायतका लामो दूरीमा सेवा दिइसकेको छ। विगतका यी सेवाप्रति सेवाग्राही सन्तुष्ट थिए। तर, चरम राजनीतिक चलखेल तथा सरकारी असहयोगका कारण क्रमशः जीर्ण बन्दै गएको निगमलाई उकास्न उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीका साथै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायतको सक्रियतामा निगमले एक वर्षभित्र एउटा र झन्डै ६ महिनापछि अर्को वाइड बडी जहाज ल्याउने प्रक्रिया अघि बढाएको छ । निगमलाई ऋण दिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष तयार छन् । निगमले पछिल्लो समय ल्याएको १५८ सिट क्षमताका दुई थान जहाज खरिद गर्न पनि कर्मचारी सञ्चय कोषले १० अर्ब रुपैयाँ ऋण दिएको थियो ।

निगमले पहिलो जहाज ल्याएपछि जापानको टोकियो वा दक्षिण कोरियाको सोलमध्ये एक ठाउँमा उडान गर्ने व्यापारिक योजनासमेत बनाइसकेको छ । आगामी मंसिरको दोस्रो साताभित्र जहाज खरिदका निम्ति ग्लोबल टेन्डर आह्वान गर्ने र फागुन दोस्रो साताभित्र खरिद सम्झौता गर्ने पनि निगमको तयारी छ । विगतमा जहाज भएर पनि व्यापारिक क्षमता नहुँदा निगमले उन्नति गर्न सकिरहेको थिएन । कहिले त जहाज नै नभएर निगम निष्क्रिय बनेको थियो भने कहिले संस्थामा राजनीतिक दाउपेच र स्वार्थी समूहको दबदबाले साख गिरेको थियो । वायुसेवा कम्पनी सञ्चालन गर्ने अनि जहाज भने नहुने लज्जास्पद अवस्था निगमले भोग्दै आएको छ । अहिले कंसाकारको नेतृत्वमा निगमले व्यापारिक योजनासहित जुन लक्ष्यमा अघि बढ्न खोजेको छ, त्यसले निगमलाई अन्तर्राष्ट्रिय वायुसेवाहरूसँग थोरै भए पनि प्रतिष्पर्धी बन्न सहयोग गर्नेछ । यसले नेवानिको गुमेको साख पुनस्र्थापित गर्न पनि मद्दत पुग्नेछ । 

सरकारले पर्यटन विकासका निम्ति भनेर विभिन्न योजना हरेक वर्षजसो ल्याउने गर्छ । कहिले ‘भिजिट नेपाल’ त कहिले ‘घुमफिर वर्ष’ नामका योजना अघि सारिन्छ । त्यस्ता अधिकांश योजना पूर्णरूपमा सफल हुन सकेका छैनन् । त्यसको प्रमुख कारण पर्यटकको सुविधामा ध्यान दिन नसक्नु नै हो । नेपाल घुम्न आउने पर्यटक सकेसम्म नेपाली ध्वजावाहक नै चढ्न चाहन्छन् । त्यसका निम्ति ठूला जहाज आवश्यक पर्छन् । विगतमा सरकारले यो तथ्यमा राम्ररी ध्यान पु¥याउन सकेन । नेवानिमा वायुसेवाबारे ज्ञान भएका दक्ष तथा व्यावसायिक क्षमता भएका प्रमुख नियुक्त गर्ने परम्परा बसाल्न सकिएन, दलका झोले त्यो अति संवेदनशील संस्थामा पठाउने गलत प्रचलन बस्यो । यसकारण नेवानिले प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रगति गर्न सकेन । अहिले कंसाकारलाई महाप्रबन्धक बनाएपछि नेवानि पुनर्जागृत हुने अवस्था सृजना भएको छ । अब सरकारले कुनै पनि खालका दबाब नदिई निगमलाई आवश्यक पर्ने वाइड बडीमात्र होइन, आन्तरिक उडानका निम्ति अन्य साना जहाज खरिदमा पनि सहयोगी भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । दैनिक झन्डै डेढ हजार नेपाली विभिन्न मुलुक रोजगारीका लागि जान्छन् । त्यतिमात्र होइन, नेपाल आउने पर्यटकलाई आकर्षित गर्न पनि नेपाली जहाज नै चढ्ने वातावरण निर्माण गर्न नेवानिलाई क्षमतासम्पन्न बनाउनु आवश्यक छ। रोजगारीका लागि विदेसिने हरेक नागरिक आफ्नै देशको जहाज पाएसम्म अर्को प्रयोग गर्न चाहँदैनन्। अहिले नेपाली युवाको पहिलो रोजाइमा वैदेशिक रोजगारी परेकै कारण कतिपय वायुसेवा कम्पनी नेपालमा सेवा विस्तार गरी फस्टाउन पुगेका छन् । तिनले नेपाली यात्रुलाई नै लक्षित गर्दै उडान संख्या बढाएका छन् । यस्तो अवस्थामा नेवानि भने जहाज अभावमा छट्पटाएर बस्नु कुनै पनि हालतमा उचित होइन। जेहोस् ढिलै भए पनि नवगठित सरकारले नेवानिलाई एयरबस खरिदका निम्ति जमानी बस्ने प्रतिबद्धता जनाएर जुन बुद्धिमानीपूर्ण कार्य गरेको छ त्यसको सर्वत्र प्रशंसा भएको छ । अब सरकार जमानी बस्नेबारे प्रस्ताव मन्त्रिपरिषद्मा लगेर जतिसक्यो चाँडो जहाज खरिद प्रक्रिया अघि बढाउनुपर्छ।

प्रकाशित: २९ भाद्र २०७३ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App