८ वैशाख २०८१ शनिबार
विचार

सांसदको प्राथमिकता

सांसदहरू एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एनडिआईको कार्यक्रममा भाग लिन गएपछि गणपूरक संख्या नपुगेर संसद्मा उच्च अदालत गठनसम्बन्धी विधेयक अन्योलमा परेको घटनालाई सामान्य रुपमा लिन सकिँदैन । संसद् बैठकमा गणपूरक संख्या पुग्न १४९ सांसद आवश्यक पर्ने भए पनि १२६ जनामात्र उपस्थित थिए । यसले हाम्रा सांसदको प्राथमिकताबारे प्रश्न उठेको छ ।

संविधानको धारा ३०० मा संविधान जारी भएको एक वर्षभित्र धारा १३९ अनुसार प्रत्येक प्रदेशमा उच्च अदालत गठन गरिसक्ने र पुनरावेदन अदालत स्वतः विघटन हुने व्यवस्था छ । त्यही प्रावधानअनुसार उच्च अदालतमा मुद्दा सार्न सूचना प्रकाशन गर्नु पर्ने, न्यायाधीश व्यवस्थापन र अदालत रहने स्थानको टुंगो गर्नुपर्ने कार्य बाँकी नै रहेको समयमा संसद्मा विधेयकमाथि छलफल हुन नसकेको हो । व्यवस्थापिका संसद्को शुक्रबार बैठकमा महत्वपूर्ण तीनवटा विधेयक पारित गर्ने कार्यसूची थियो । न्याय प्रशासन विधेयक, न्यायपरिषद विधेयक तथा न्यायसेवा आयोग विधेयक पारित गर्ने कार्यसूची गणपूरक संख्या नपुग्दा संसद् बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । यही भदौ २० मा हाल कायम रहेका पुनरावेदन अदालत खारेज गरी उच्च अदालत गठनसम्बन्धी विधेयक संसद्मा दर्ता भएको हो ।

संविधानको व्यवस्था अनुसार एक वर्षभित्र गठन हुनुपर्ने उक्त अदालत गठन सम्बन्धी कानुन निर्माणका लागि १५ दिन समय रहेको अवस्थामा विधायन समितिबाट संशोधन हुँदै संसद्मा दर्ता भएको थियो । अघिल्लो सरकारले जेठमै अदालत गठनसम्बन्धी विधेयक संसद्मा दर्ता गराएको थियो । विधेयक दर्ता भएपछि सरकार परिर्वतनमा दलहरु व्यस्त भएपछि यो विषय ओझेलमा परेको थियो । संसद्को विधायन समितिको उपसमितिमा छलफलमा पठाइए पनि दलहरुको प्रमुख प्राथमिकता सरकार परिर्वतन हुँदा ढिलो भएको थियो ।  

संसद्को काम मुलुकका निम्ति अत्यावश्यक कानुन निर्माण हो तर तिनको ध्यान त्यसतर्फ छैन । एकातिर सरकारले उनीहरूलाई कतिपय अवस्थामा आवश्यक ‘बिजिनेस’ दिन सकेको पाइँदैन भने अर्कोतिर तिनीहरू आफैँ पनि विषयगत गम्भीतामा हुँदैनन् । सांसदहरूले विभिन्न संघसंस्थाले आयोजना गरेका कार्यक्रममा जानुपर्छ  तर त्यस्ता कार्यक्रममा जाँदा आफ्नो समय मिलाउन पनि जान्नुपर्छ । संसद् बैठक बसिरहेका बेला हाजिर गरेर हिँड्नु आफ्नो जिम्मेवारी बोध नगर्नु हो । महŒवपूर्ण विषयको छलफलमा गणपूरक संख्या नपुगेर बैठक स्थगन भएको विषयले सामाजिक सञ्जालमा समेत सबैभन्दा बढ्ता चर्चामा आएको छ । यसले संविधान कार्यान्वयनका निम्ति आवश्यक कानुन निर्माण गर्न हाम्रा सांसद कति संवेदनशील छन् भन्ने पनि सार्वजनिक भएको छ । नयाँ संविधानअनुसार पुनरावेदन अदालतहरू उच्च अदालतमा रुपान्तरित गर्नुपर्ने अवस्था आइसकेको छ । सात प्रदेशमा यी अदालत स्थापित हुनेछन् । विधेयक तत्काल पारित गर्नुपर्ने अवस्था भने संविधानले दिएको कार्यभार पूरा गर्न हो । समयमा काम हुन सकेन भने संविधानको पूर्ण कार्यान्वयनमा समस्या आउन सक्नेछ । आफैँले बनाएको संविधानको पूर्ण कार्यान्वयनका निम्ति त यो संसद् झनै जिम्मेवार बन्नुपर्ने अवस्था छ ।

आगामी वर्ष माघ ७ गतेभित्र संसद्, प्रान्त र स्थानीय निर्वाचन गर्नुपर्नेछ । त्यसका लागि आवश्यक कानुन तर्जुमा पनि उत्तिकै आवश्यक छ । संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण त्यो मितिसम्ममा भइसक्नुपर्नेछ । त्यसका लागि सरकारमा रहेका दल वा प्रतिपक्षले काममा ढिलासुस्ती गरे संसद्ले खबरदारी गर्नुपर्ने हो । संसद्को भूमिका केही वर्षयता अत्यन्तै कमजोर बन्न पुगेको छ । संविधान निर्माणका काममा लाग्नुपरेको हुनाले यसै पनि संसद्को कामलाई खासै महŒवका रुपमा लिइएन । त्यसैले संसद्भित्र राष्ट्रिय महत्वका विषयमा कहिल्यै छलफल भएन । मुलुकमाथि भूकम्प, नाकाबन्दीलगायत ठुल्ठूला राष्ट्रिय संकट पर्दा समेत छलफल नहुँदा सर्वसाधारणमा यसप्रतिको विश्वास कमजोर हुँदै गएको छ ।

भारतको संसद्मा बरु नेपालमा भएको नाकाबन्दीका विषयमा छलफल भयो यहाँ भने यस विषयमा बोल्नु र छलफल गर्नुपर्ने आवश्यकता कसैलाई महसुस भएन । अहिले पनि दिनैपिच्छेजस्तो विषयवस्तु सार्वजनिक चर्चामा हुन्छन् तर संसद्ले त्यसलाई टिपेर छलफलको विषय बनाएको देखिँदैन । संसद्मा प्रभावकारी भूमिका खेल्नु भन्दा धेरैजसो सांसदलाई मन्त्री बन्न जाने आकर्षण बढ्ता देखिन्छ । वास्तवमा अहिलेको समयमा मन्त्रीको भन्दा संसद्भित्र प्रभावकारी भूमिका खेल्ने सांसदको समाजमा बढ्ता इज्जत हुन्छ । संसद्मा राष्ट्रिय समस्याबारे बोल्ने सांसदबारे सार्वजनिक चर्चा समेत हुने गरेको छ । तिनका सारगर्वित भाषणलाई सामाजिक सञ्जालमा ‘सेयर’ गर्ने गरेको पनि देखिन्छ । अतः सभामुख ओनसरी घर्तीले सांसदलाई जिम्मेवार बनाउन रुलिङ गर्नुपर्छ । गणपूरक संख्यासमेत नपुग्ने अवस्थामा संसद्लाई पु¥याउने घटना दोहोरिन नदिन सभामुख विशेष सजग रहनैपर्छ । सांसदले पनि आफ्नो पदीय गरिमा र जिम्मेवारी भुल्नु कदाचित वाञ्छित हुँदैन ।

प्रकाशित: २६ भाद्र २०७३ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App