८ वैशाख २०८१ शनिबार
विचार

नटुटून् सपनाहरू

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व लिएपछि पहिलो पटक संसदमार्फत् राष्ट्रका नाममा गरेको सम्बोधनले फेरि एकपटक मुलुकबासीलाई असीम सपना देखाएको छ । हामी यो देशका यस्ता नागरिक हौँ जो प्रत्येकपटक सपनाले ओतप्रोत हुन्छौँ । तर, निद्राबाट ब्युँझिँदा हामीसँग मीठा स्मृतिमात्र बाँकी रहन्छन् । यथार्थमा तिनलाई छुन सकिँदैन । प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनमार्फत् यसपटक छोएका सबै सन्दर्भ आमनागरिकले उठाउँदै आएकै विषय हुन् ।

उनी आफैले तीन पुस्ताले राजनीतिक परिवर्तनका लागि लड्नुपरेको प्रसंग छोएका छन् । हामी यस्तो देशका नागरिक हौँ जो राजनीतिक परिवर्तनका निम्ति लड्दालड्दा आजित भइसकेका छौँ । प्रत्येकपटक प्राप्ति हुनु, खोसिनु र पुनः प्राप्तिका निम्ति लड्नुपर्ने हाम्रो नियति भएको छ । एउटा सिसिफस जिन्दगी बाँचेका छन् नेपाली नागरिक ।

यस्तो विषम परिस्थितिलाई प्रधानमन्त्रीले आफ्नो सम्बोधनमार्फत् छोइदिँदा निःसन्देह मनलाई एक किसिमको सुख अनुभव हुने रहेछ । हामी प्रत्येक परिवर्तनपछि निराशा हात लागेपछि पहिलेकै ठीक थियो भन्ने मनस्थितिमा पुग्छौँ । तैपनि, नागरिकको राजनीतिक परिवर्तनप्रतिको उत्कट अभिलाषा यस्ता छन् कि तिनले जहिले नेताहरूले सोचेभन्दा बढ्ता परिवर्तनका निम्ति संघर्ष गरेका छन् । तर, दुर्भाग्य प्राप्त उपलब्धि पटकपट खेर गएको छ ।

हालैका वर्षमा भने सरकार प्रमुखहरूले आमजनमानसका आवाजलाई नीति तथा कार्यक्रम वा यस्तै राष्ट्रलाई सम्बोधन गर्ने क्रममा मुखरित गरेका छन् । प्रधानमन्त्री दाहालका पूर्ववर्ती केपी शर्मा ओलीले पनि सपनाका बिस्कुन सुकाएर गए । तिनीप्रति धेरै आशा थिए । सम्भवतः कतिपय राज्य संरचना र बाध्यताका कारण तिनले घोषित कार्यक्रमहरूलाई सम्हालेर लैजान सकेनन् वा पाएनन् । प्रधानमन्त्री दाहालले पटकपटक हण्डर र ठक्कर खाएको बताउँदै आएका छन् । वास्तवमा व्यक्तिका निम्ति अवसर पटकपटक आउँदैनन् । धन्य, नेपालका राजनीतिक परिस्थिति यहाँ दोहो¥याएर मौका आएको छ ।

यसअघि आफूले पूरा गर्न नसकेका कामलाई समेत उनले पूरा गर्नेछन् भन्ने अपेक्षा आमरूपमा छ । पहिलोपटक प्रधानमन्त्री निर्वाचित हुँदाको राप र तापभन्दा भिन्न उनीभित्र सुझबुझ बलियो बनेको अनुभूति भइरहेको छ उनका अभिव्यक्तिहरूमार्फत् । राजामहाराजाको युग समाप्त भइसकेको छ, त्यसैले अब मुलुकको अविकास र पछौटेपनका निम्ति तिनलाई गाली गरेर जिम्मेवारी पूरा हुँदैन ।

हाम्रा नागरिकले नचाहेको अर्को पक्ष जनताका छोराछोरी भनिएकाहरू फेरि ‘राजा’ बन्ने कोसिस नगरुन् भन्ने पनि हो । जनताको एउटा अर्को सकारात्मक पक्ष के छ भने तिनीहरूलाई सुख दिने गरी सरकारले थोरैमात्र काम ग¥यो भने पनि धन्यधन्य हुन्छन् । खासमा नेपाली नागरिकको धैर्यशीलता र असजिलो अवस्थामा पनि राज्यको मुख नताक्ने प्रवृत्तिको संसारभरि प्रशंसा पनि भएको छ । सरकारले थोरैमात्र काम गरिदिन थाल्यो भने तिनले होस्टेमा हैँसे गर्न थालिहाल्छन् ।

प्रधानमन्त्रीको सम्बोधनले भूकम्पपीडित, द्वन्द्वपीडित र आमजनताका मर्कालाई राम्ररी छुन सकेको छ । एक हिसाबले नयाँ सरकारको नीति तथा कार्यक्रमकै झल्को दिने गरी आएको यो सम्बोधनले विविध क्षेत्रलाई स्पर्श गरेको छ । गरिबलाई केन्द्रमा राखेर राजनीति गरेका दाहालजस्ता नेताको सरकार बनेका बेला निमुखा व्यक्तिलाई लक्ष्य गरेर कार्यक्रम आउनु नितान्त आवश्यक हुन्छ । राजनीतिक परिवर्तनका समग्र कार्यभार पूरा भइसकेपछि मुलुकले गरेको अपेक्षा आर्थिक समृद्धिको हो ।

आधुनिक युग सुहाउँदो प्रजातान्त्रिक शासन प्रणालीको अभीष्ट भनेको वैयक्तिक स्वतन्त्रताको रक्षा गर्दै तिनलाई अधिकतम उपलब्धितर्फ जाने बाटो दिनु पनि हो । राज्यले सहजकर्ताको भूमिका खेलिदिन सक्यो भने हाम्रा मेहनती जनताबाट असम्भव केही छैन । एउटा नेपालीले संसारको कुनै पनि विश्वविद्यालयमा उत्कृष्टता चुम्न सक्छ, संसारको कुनै पनि सहरमा रहेको प्रतिस्पर्धा गर्न सक्छ भने आफ्नै मुलुकमा मात्र ऊ किन पछि पर्छ र ? त्यसैले प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने र गुणवत्ताका आधारमा सबैले मौका पाउने व्यवस्था हुनु नै हाम्रो उद्देश्य हुनुपर्छ । दाहालले गरिबलाई लक्ष गरेर ल्याएका कार्यक्रमले त्यो दिशातर्फ उन्मुख हुने लक्षण अवश्यै देखाएका छन् ।

वास्तवमा यो मुलुकमा सबैभन्दा हेपिएको त्यही व्यक्ति हो जो मेहनत गर्छ । अन्तर्राष्ट्रिय श्रम बजारमा कहर काटेर विप्रेषण पठाउने हुन् वा देशभित्रै मेहनत गरेर राज्यलाई योगदान गरिरहेका गरिबहरू तिनीप्रति सरकारको सुदृष्टि पर्नुपर्छ । ‘गरिबका लागि सरकार’ कार्यक्रमसमेत यो सरकारले अघिसारेको छ । सुन्दा आकर्षक यो कार्यक्रमले यथार्थमै परिणाम ल्यायो भने त्योभन्दा खुसीको कुरा अर्को केही हुने छैन । काम नगर्ने संयन्त्र र कर्मचारीलाई फेर्न यो सरकार तत्पर देखिएको छ । यसमा खुट्टा नकमाउने हो भने निश्चय पनि अपेक्षित प्रतिफल प्राप्त हुन्छ । प्रधानमन्त्री दाहालले देखाएका यी सपना नटुटून, यथार्थ बनून् ।

 

प्रकाशित: २४ भाद्र २०७३ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App