coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भारतमा निकासी रोकिँदा गाेलमेंडा किसान निराश

पाँचथरको अमरपुरस्थित सडक छेउमा राखिएको टमाटर । तस्बिर : नागरिक

पाँचथर- भारतले नेपालको टमाटर निर्यातमा रोक लगाएसँगै टमाटर बिक्री हुन नसकेपछि किसानहरु निरास बन्न थालेका छन् ।

पूर्वी नाका काकडभिट्टाबाट उत्पादनको मुख्य सिजनमा भारतमा टमाटर निर्यात हुन सकेको छैन । नेपालबाट निर्यात हुने कृषि उपजको सूचीमा टमाटर नपरेकाले निकासी रोकिएको हो । विगतमा बन्दा कोपि, मुला भनेर विल बनाएर भारत निकासी गर्ने गरीएकोमा यस पल्ट भारतीय पक्षले त्यसो हुन नदिएपछि निकासि ठप्प बनेको हो।

पूर्वी पहाडी जिल्लामा उत्पादित टमाटर बिक्री हुन नसक्दा बोटमै कुहिने अवस्था आएको कृषकहरु बताउँछन् । लाखौंका टमाटर बोटैमै रहेका छन् । यउत्पादनले आन्तरीक खपत हुन नसक्ने हुदाँ बिक्री वितरण प्रभावित भएको छ । पूर्वको पाँचथर, इलाम ताप्लेजुङ, तेह्रथुम लगायत जिल्लामा उत्पादन भएको टमाटर बिक्री हुन सकेको छैन । भारत निकासी बन्द भएपछि व्यापारीहरु पनि देखिन छाडेका छन् । आन्तरिक बजारमा बिक्रीका लागि न्यून मात्रामा मात्र बिक्री भइरहेको छ । न्यूनतम लागत मूल्यभन्दा कम रहेर फ्याटफुट्ट रुपमा टमाटर बिक्री भएको पाइन्छ ।

जिल्लाको याङवर र हिलिहाङ गाउँपालिका विभिन्न गाउँमा व्यावसायिक रुपमा टमाटर खेती भइरहेको छ । राजमार्ग छेउका अलिअलि बाहेक धेरै उत्पादन हुने क्षेत्रमा बिक्री ठप्प रहेको नागीका कृषक प्रेम सिग्देलले जानकारी दिए । फ्याटफुट्ट पनि अत्यान्त न्यून मूल्यमा बिक्री भएको किसानहरुको भनाइ छ । प्रतिकेजी आठ रुपैयाँले व्यापारीहरुले किन्ने गरेका छन् । २० हजार बिरुवा लगाएका उनले यो लागत मूल्यभन्दा कम रहेको बताए । ‘भारत निकासी रोकियो भनेर व्यापारीहरुले किनेका छैनन् । भएपछि टमाटर टिप्ने कुरा पनि भएन । बोटमै कुहिने अवस्था छ,’ सिग्देलले भने, ‘दिनैपिच्छे टमाटर टिप्नु पथ्र्यो । यस्तो उत्साहका साथ गरेको मेहनत खेर जाने भयो।’

सिग्देलले भनेझै पछिल्लो दशकमा यो क्षेत्रमा उत्साहका साथ कृषक टमाटर खेतीमा लागेका थिए । यो क्षेत्रबाट वार्षिक पाँच करोडभन्दा बढी रुपैयाँको टमाटर बिक्री हुने अनुमान लगाइएको छ । तराईमा कम उत्पादन हुने सिजन भएकाले यहाँको टमाटर आन्तरिक बजार तथा भारतका विभिन्न बजारमा पुग्ने गथ्र्यो । उत्पादनको मुख्य सिजनमा दैनिक २० गाडीभन्दा धेरै टमाटर तराई झर्ने गरेको अनुभव कृषि सहजकर्ता विरेन्द्र काफ्लेले सुनाए ।

टमाटर चरण–चरणमा टिप्ने गरिन्छ । भारत निकासी रोकिएपछि सहजीकरणको माग गर्न एक टोली प्रदेश प्रमुखलाई भेट्न विराटनगर लागेको छ । आपूर्ति सचिव पनि कार्यक्रम आउने भएकाले समस्या समाधनका लागि पहल गरिदिन ज्ञापन बुझाउने कार्यक्रम रहेको राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले जानकारी दिए । ‘ठूलो समस्या उत्पन्न भएकाले समस्या समाधानका लागि केन्द्रीय तथा संघीय सरकारलाई अनुरोध गर्न लागेका छौं,’ पोखरेलले भने, ‘भारतमा टमाटर नजाने हो भने कृषकलाई ठूलो क्षति हुनुका साथै व्यवसायबाट विस्थापित हुने अवस्था आउछ।’

विभिन्न क्षेत्रमा भएको उत्पादनका कारण आन्तरिक बजारले यहाँको उत्पादन नथेग्दा भाउ पनि स्वाट्टै घटेको बताइन्छ । यसअघि किनेर स्टोर गरिएको टमाटर समेत बिक्री हुन नसक्ने अवस्था पुगेको व्यापारी डिल्ली उप्रेतीले बताए । ‘बिर्तामोडको स्टोरमा टमाटर थन्किएर बसेको छ । बोटमा पनि टमाटर कुहिने अवस्थामा छ । थोरै थोरै किने पनि बिर्तामोड लगायत बजारमा बिक्री नै हुन सकेको छैन,’ उप्रेतीले भने, ‘भारतका व्यापारी सम्पर्कमा छन् । उनीहरु टमाटर किन्न तयार छन् । तर नाकाबाट टमाटर लैजान रोक लागेको छ ।’

विगतमा निकासी हुने सूचीमा नपरे पनि मिलाएर टमाटर भारत जाने गरेको थियो । बगानमा लाखौंका टमाटार कुहिने अवस्थामा पुगेपछि किसान चिन्तित छन् । साविकका नागी, थुर्प, पञ्चमी, अमरपुर गाविसका विभिन्न गाउँमा टमाटर खेती गरीएको छ । मेची राजमार्ग आसपासमा घरैपिच्छे टमाटर खेती भएको भेटिन्छ । ‘यही अवस्था रहेमा टमाटरले यो पल्ट डुबाउने भयो । अर्को वर्षदेखि त के खेती गर्नु ?’ विदेशबाट फर्किएर स्वदेशमै केही गर्छु भनेर लागेका अमरपुरका किसान पदम योङहाङले भने, ‘मुख्य आम्दानीको स्रोत मानिएको टमाटरले नै यो पल्ट डुबाउला जस्तो छ ।’ केही दिनदेखि किनबेच रोकिँदा उत्पादन भएको टमाटर थन्किएर बसेको अवस्था छ । दैनिक टिप्नुपर्ने टमाटर बिक्री नभएपछि बोटमै कुहिने अवस्थामा पुगेको किसान बताउँछन्।

बारीमा लटरम्म फलेको टमाटर बिक्न छाडेपनि किसान सरकारको मुख ताकेर बसिरहेको अवस्था छ । नागी, थर्पु, अमरपुर, पञ्चमीका धेरैजसो घरमा टमाटर खेती हुने गरेको छ । टमाटर खेतीबाट राम्रो आम्दानी देखेपछि युवा तथा विदेशवाट फर्किएकाले खेती थालेका थिए । ठूलो मात्रामा टमाटर उत्पादन हुने भए पनि बिक्रीमा समस्या भएपछि किसान निरास हुन थालेका छन् । चालु सिजनको सुरुवातमा २० रुपैयाँ प्रतिकेजी टमाटर बिक्री भएको थियो । गत वर्ष २० देखि ५० रुपैयाँ प्रतिकेजीसम्म टमाटर बिकेको किसानको भनाइ छ । टमाटर स्टोर गर्ने ठाउँ नहुँदा बोटैमा रहेको छ ।

टमाटरको मुख्य बजार भारत भएकाले निकासी रोकिएको सिधा असर किसानलाई परेको हो । जिल्लाको अघिल्लो वर्षको तथ्यांक हेर्ने हो भने पाँच सय हेक्टरमा टमाटर खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधक साहयक नरहरि निरौलाले जानकारी दिए । उनका अनुसार यो वर्ष पाँच प्रतिशतात्र उत्पादन बिक्री भएको छ । गत वर्षको तुलनामा १५ प्रतिशत उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । असार १० गतेदेखि टमाटर बिक्री ठप्प भएको बताए । भाउ सून्य हुने अवस्था आएको निरौलाले बताए । टमाटर भारत नजाने हो भने किसानहरु ठूलो मारमा पर्ने निरौलाको भनाइ छ ।

 

 

प्रकाशित: १९ असार २०७५ ००:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App